एन्टोनी ग्रिजम्यान (फ्रान्स)

फिचर खेलाडी
सोमबार, ३२ असार २०७५, ०१ : ०४ नागरिक

नाम : एन्टोनी ग्रिजम्यान
जन्म : २१ मार्च १९९१
अन्तर्राष्ट्रिय खेल : ६०
अन्तर्राष्ट्रिय गोल : २३

एट्लेटिको मड्रिडका फरवार्ड एन्टोनी ग्रिजम्यानलाई विश्व फुटबलमा परिचय गराइरहनु पर्दैन। २०१६ मा विश्वको सर्वोत्कृष्ट खेलाडीका लागि फिफाले सार्वजनिक गरेको तीन खेलाडीको सूचीमा परेयता ग्रिजम्यान एकरूपले उच्चस्तरीय प्रदर्शन गरिरहन सफल छन्।

ग्रिजम्यानले प्रत्येक खेलमा उत्तिकै प्रभावशाली प्रदर्शन गर्दा एट्लेटिको र फ्रान्सले सफलताको स्वाद चाख्दै आएका छन्। रुसको मस्कोस्थित लुझनिकी रंगशालामा आइतबार क्रोएसियालाई ४–२ को नतिजामा पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप उपाधि जित्दा पनि ग्रिजम्यानको प्रदर्शन उल्लेखनीय रह्यो। प्रतियोगिताको प्रत्येक खेलमा उनले टिमलाई प्राविधिक रूपमा नेतृत्व गर्दा फ्रान्सले अपराजित रहेर विश्वकप उचाल्यो।

प्रतियोगितामा चार गोल गरेका ग्रिजम्यान आइतबार फाइनलमा प्रभावशाली प्रदर्शनका कारण ‘म्यान अफ दी म्याच’ घोषित भए । आइतबार उनकै फ्रि–किक क्लियर गर्ने क्रममा मारियो मान्डजुकिचले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लिएको थियो।

नकआउट चरणमा फाइनलअघिका तीन खेलमा सुरुमा गोल खाए पनि पुनरागमन जनाउँदै उपाधि भिडन्तलाई लायक भएको क्रोएसियाले आइतबार पनि गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याएको थियो । तर ग्रिजम्यानले पहिलो हाफमै प्राप्त पेनाल्टीलाई चरम दबाबको अवस्थामा पनि शान्तपूर्वक गोलमा परिणत गरेर फ्रान्सलाई दोस्रो पटक अग्रता दिलाएका थिए।

फ्रान्सले प्रतियोगिता सुरु गर्नुपूर्वदेखि नै दाबेदारको छवि राख्नुमा ग्रिजम्यानको उपस्थिति मुख्य थियो । त्यहीअनुरुप आइतबार फाइनलमा फ्रान्सले गरेका पहिलो तीन गोलमा उनको भूमिका थियो।

यसमा तपाईको मत