फाइनलका दुवै टिमलाई दबाब

बुधबार, १६ साउन २०७५, १३ : १० नागरिक

फुटबलका सबै खाले प्रतियोगितामा फाइनलको दबाब सहभागी दुवै टिमलाई हुन्छ । त्यो दबाबले दाबेदार र अन्डरडग भन्दैन । दाबेदारलाई हार्नु नहुने दबाब हुन्छ भने अन्डरडग बल्लबल्ल पाएको ठूलो अवसर खेर नजाओस् भन्ने चाहन्छ।

मस्कोको लुझनिकी रंगशालामा आइतबार हुने विश्वकप फाइनलको कुरा गर्दा पूर्वविजेता फ्रान्सलाई दाबेदार र पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई अन्डरडग मानिएको छ । त्यसैले फ्रान्सलाई जर्सीमा तारा थप्ने दबाब हुन्छ भने क्रोएसिया लामो संघर्षपछि फाइनल पुग्दा पहिलो ताराको दबाबमा हुनेछ।

यस्तो अवस्थामा दबाब चिर्दै स्वाभाविक फुटबल खेल्न सक्ने टोलीले नतिजा निकाल्न सक्छ । कागजमा हेर्ने हो भने अहिले फ्रान्सलाई हराउन सक्ने टिम विश्वमा छैन । उनीहरूको पहिलो रोजाइ मात्र नभई बेन्चमा पनि उत्तिकै असाधारण खेलाडीहरूको भीड छ।

तर क्रोएसियाको पनि पहिलो रोजाइ कम छैन । गोलकिपर ड्यानियल सुबासिच उच्च फर्ममा छन् । नकआउट चरणका दुई पेनाल्टी सुटआउटमा उनले चार पेनाल्टी जोगाएर टिमलाई गज्जबको आत्मविश्वास दिएका छन् । रक्षापंक्तिमा डोमागोच भिडा, डेयान लोभरेनजस्ता खेलाडीको प्रदर्शन उच्च रहँदै आएको छ । मिडफिल्डमा लुका मोडरिच र इभान राकेटिचको प्रतिभासँगै परिपक्वता क्रोएसियाको सफलताको रहस्य हो।

मोडरिच र राकेटिचले आफू पछि परेको अवस्थामा पनि मिडफिल्डबाट खेल नियन्त्रणमा राख्दै आक्रमणका अवसरहरू बुनिरहेका हुन्छन् । आफूले अग्रता लिएको अवस्थामा पनि मिडफिल्डमा बल होल्ड गरेर समय कटाउन आवश्यक परिपक्वता उनीहरूसँग छ । यसैगरी विंग्स र आक्रमणमा उत्तिकै तेज भएका इभान पेरिसिच र उच्च फर्ममा रहेका फरवार्ड मारियो मान्डजुकिचको धार रोक्न कसैलाई सजिलो हुने छैन । अझ महत्वपूर्ण कुरा यी सबै खेलाडी लामो समयदेखि व्यावसायिक फुटबलमा उच्चस्तरीय खेलमा अनुभवी छन् र उनीहरूमा आवश्यक परिपक्वता छ।

नकआउट चरणका तीन खेलमा पहिला गोल खानाका बावजुद उनीहरूले जनाएको पुनरागमन र अतिरिक्त समयसम्म देखाएको जुझारुपनले क्रोएसियाको शक्ति प्रमाणित गरिसकेको छ । प्रतियोगिता सुरु हुने दिनसम्म पनि क्रोएसिया आइतबार लुझनिकीमा पुग्ला भनेर कसैले सोचेका थिएनन् । तर उनीहरूले आफूमा भएको प्रतिभा, परिपक्वता र जुझारुपनालाई मैदानमा उतार्दै फाइनलसम्मको यात्रा तय गरेका छन्।

फ्रान्सको कुरा गर्ने हो भने प्रशिक्षक डिडियर डेसच्याम्पससामु प्रतिभाको कुनै कमी छैन । पछिल्लो समयको प्रदर्शन हेर्ने हो भने फ्रान्सका हरेक खेलाडीले आआफ्नो भूमिकालाई मजाले न्याय गरेका छन् । फ्रान्सेली टिममा सबै खेलाडी एकसेएक भए पनि एन्टोनी ग्रिजम्यानको चतुर्याइँ र किलियन एमबाप्पेको तीव्र गति महत्वपूर्ण रहँदै आएको छ ।

ग्रिजम्यानले आवश्यकताअनुसार पछाडि झरेर पनि चतुर पारामा प्लेमेकिङ गरिरहेका छन् भने पाएका मौकालाई बिनागल्ती गोलमा परिणत गरिरहेका छन् । यसै गरी एमबाप्पेको गति असाधारण त छ नै, साथमा बल लिएर अगाडि बढ्दा उनलाई कसैले पनि रोक्न सकेको देखिँदैन । उमेर सानै भए पनि उनले परिपक्व प्रदर्शन गरिरहेका छन्।

रक्षापंक्तिमा राफेल भरान र सामुइल उम्टिटी फ्रान्सका खम्बा हुन् भने पाउल पोग्बा र एनगोलो कान्टेले पनि रक्षात्मक मिडफिल्डरका रूपमा भूमिका राम्ररी निर्वाह गरिरहेका छन् । पोग्बा र कान्टेको अहिलेसम्मको प्रदर्शन हेर्दा उनीहरूले क्रोएसियाका मोडरिच र राकेटिचलाई खुलेर खेल बनाउने मौका नदेलान् भन्ने अपेक्षा गर्न सकिन्छ । साथमा सेट पिसमा फ्रान्सले अहिलेसम्म राम्रो गरिरहेको छ।

नकआउट चरणमा पुगेपछिका तीनवटै खेल अतिरिक्त समयसम्म लम्बिएकाले क्रोएसियाली टोली शारीरिक रूपमा फ्रान्सभन्दा थाकेको छ । तर उनीहरूको जोसले थकाइलाई पन्छाइरहेको छ । विश्वकप इतिहासमा फाइनल खेल्ने १३औं टोलीको रूपमा इतिहास लेखेको टोलीले फाइनलको दबाब चिर्दै त्यही जुझारुपनालाई निरन्तरता दिए उपाधि जित्ने नवौं टिम बन्न सक्छ।

त्यसैले दबाबका बावजुद आफ्नो स्वाभाविक प्रदर्शन गर्ने टिम आगामी चार वर्षका लागि विश्व च्याम्पियन हुनेछ । दोस्रो तारा झुन्ड्याउनका लागि फ्रान्सले जुनसुकै अवस्थामा पनि स्वाभाविक प्रदर्शन गर्नु जरुरी छ । किनकि फ्रान्स एक पटक विश्वकप जितिसकेको टिम हो । फाइनल पनि उनीहरूका लागि नौलो होइन । तर क्रोएसियाका लागि यो दुर्लभ फाइनल हो । जसले उनीहरूलाई अतिरिक्त दबाब दिनेछ।

यो अवस्थाको फाइदा उठाउँदै डेसच्याम्पसले स्वाभाविक रूपमा आफ्नो फुटबललाई ध्यान दिए उनीहरूले जित्नेछन् । तर कहिलेकाहीं फुटबलमा दाबेदारलाई दबाब विपक्षीको तुलनामा बढी हुन्छ । दाबेदारले समयमै गोल गर्न सकेन वा खेल नियन्त्रणमा राख्न सकेन भने समय बित्दै जाने क्रममा दाबेदारमाथिको दबाब बढ्दै जान्छ र खेलाडीहरूले अनावश्यक गल्ती गर्न थाल्छन् । फ्रान्सलाई यस्तो अवस्थामा पुर्याउन क्रोएसियाली मिडफिल्ड र रक्षापंक्ति सक्षम छ । त्यसैले मैदानभित्र खेलाडीले गर्ने प्रदर्शनसँगै उनीहरूलाई बेन्चबाट हुने मार्गनिर्देशन आइतबार सबभन्दा महत्वपूर्ण हुनेछ।

ह्‌यासट्याग:

यसमा तपाईको मत