द्रिइस मार्टिन्स (बेल्जियम)

सोमबार, २५ असार २०७५, १० : ५५ नागरिक

नाम : द्रिइस मार्टिन्स (बेल्जियम)
जन्म : ६ मे, १९८७, लुइभेन
पोजिसन : स्ट्राइकर
क्लब : स्टाडे लुइभेन, एन्डरलेट्च, जेन्ट, इन्ड्राचेट एलिस्ट, एजिओडब्लु, उट्लेट्च, पिएसभी, नेपोली

बेल्जियमले जारी रूस विश्वकपमा सेमिफाइनलसम्मको यात्रा पक्का गर्दा स्ट्राइकर द्रिइस मार्टिन्स टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन्। मार्टिन्सले पानामाविरुद्ध गरेको गोल जारी प्रतियोगितामा बेल्जियमको पहिलो गोल थियो।

११ वर्षको उमेरमा बेल्जियमको स्थानीय क्लब स्टाडे लुइभेनको युथ एकेडेमीमा भर्ना भएका मार्टिन्स त्यहाँ दुई वर्ष बिताउँदै बेल्जियमको पहिलो श्रेणीको क्लब एन्डरलेट्चको युथ एकेडमीमा भर्ना भए। मार्टिन्सले २००३ देखि दुई वर्ष अर्को पहिलो श्रेणीको क्लब जेन्टमा बिताए।

उनी २००५ मा जेन्टको पहिलो रोजाइको टोलीमा दुई सिजनका लागि आबद्ध भए पनि उनले दुवै सिजन लोनमा अन्य क्लबमा बिताए। २००५ मा इन्ड्राचेट एलिस्टमा लोनमा गएका मार्टिन्सले क्लबबाट एक सिजन खेल्दै १४ खेलमा ४ गोल गरे। उनी २००६ को सिजन भने नेदरल्यान्ड्सको एजिओडब्लुमा लोनमा गएका थिए । एजिओडब्लुमा एक सिजन लोनमा बिताएका मार्टिन्सले ३५ खेलमा २ गोल गरे । २००७ मा भने एजिओडब्लुमा औपचारिक रूपमा दुई सिजनका लागि आबद्ध भएका मार्टिन्सले क्लबबाट ७३ खेलमा २८ गोल गरे।

उनी २००९ मा अर्काे डच क्लब उट्लेट्चमा आबद्ध भए । उनले त्यहाँ २ सिजन बिताउँदै ६९ खेलमा १७ गोल गरे । मार्टिन्सले त्यसपछिको थप दुई सिजन अर्को डच क्लब पिएसभीमा बिताए । उनले पिएसभीबाट ६२ खेलमा ३४ गोल गरे।

मार्टिन्स २०१३ मा इटालियन सिरी ‘ए’ क्लब नेपोलीमा आबद्ध भएका थिए । उनले नेपोलीबाट १ सय ७० खेलमा ६८ गोल गरिसकेका छन्।

मार्टिन्स २०१४ जुन ७ मा ट्युनिसियाविरुद्धको मैत्रीपूर्ण खेलसँगै बेल्जियम राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। उनले बेल्जियमबाट ७३ खेल खेल्दै १५ गोल गरिसकेका छन्।

यसमा तपाईको मत