इङल्यान्डमाथि मानसिक दबाब

नेपाली नजरमा
शनिबार, ३० असार २०७५, १६ : १७ नागरिक

विश्वकपमा सहभागी ३२ राष्ट्रहरु मध्येबाट १६ वटा टोली दोस्रो चारण (नकआउट) चरणमा प्रवेश गरेका थिए । नकआउट चरण प्रवेश गरेका १६ वटै टोलीहरुको एउटै लक्ष्य हुन्छ, त्यो हो फाइनल प्रवेश गर्नु।

फाइनल प्रवेश गर्नका लागि तीन वटा खेल जित्नु पर्ने हुन्छ । नकआउट चरणमा प्रत्येक टोली हारबाट घर फर्किने गर्छन । तर सेमिफाइनलमा पराजित हुने दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नु पर्ने विश्वकप फुटबलको नियममा छ । त्यसकारण उपाधिमै प्रबल दाबेदारी प्रस्तुत गर्दै सेमिफाइनल प्रवेश गरेका बेल्जियम र इङल्यान्ड क्रमषः फ्रान्स र क्रोएसियासँग पराजित भए पनि शनिबार तेस्रो स्थानको लागि एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

जारी विश्वकपमा इङल्यान्ड र बेल्जियम एकै समूहमा थिए । समूह चरणको अन्तिम खेलमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । त्यस अघिका दुई खेलबाट नैै नकआउट चरण प्रवेश गरिसकेका कारण दुवै टोलीले आफ्नो पहिलो रोजाईका धेरै खेलाडीलाई आराम दिएका थिए । उक्त खेलमा बेल्जियमले इङल्यान्डलाई १–० ले पराजित गरेको थियो।

इतिहास केलाउने हो भने बेल्जिमयले यसअघि १९८६ मा मेक्सिकोमा तेस्रो स्थानका लान्ससँग प्रतिस्पर्धा गरेको थियो र सो खेलमा बेल्जियम अतिरिक्त सममया ४–२ ले पराजित भएको थियो । यस्तै इङल्यान्डले १९९० मा इटालीमा भएको विश्वकपमा तेस्रो स्थानका लागि भएको खेलमा आयोजकलाई २–१ को नतिजा सुम्पिएको थियो । संयोग मान्नुपर्छ दुवै टोली यसअघि सेमिफाइनल प्रवेश गरे पनि फाइनल पुग्न सकेनन र तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दा दुवैले पराजय स्विकारे।

इङल्यान्ड १९६६ को विश्वकप विजेता हो । तर बेल्जियमले अहिलेसम्म तेस्रो स्थान पनि हासिल नगरेको कारण उसको लागि शनिबार जितको ठूलो महत्व हुनेछ । सेमिफाइनलमा खेल्ने हरेक टोलीको लक्ष्य फाइनल नै पुग्ने हुँदा पराजित टोलीहरुलाई तेसो स्थानका लागि खेल्न खेलाडीहरुमा शारीरिक भन्दा पनि मानसिक तनाब हुन्छ । त्यसैले हुनसक्छ विगतमा केही प्रख्यात प्रशिक्षकले तेस्रो स्थानको खेललाई निरश खेलको संज्ञा दिदै आएका थिए र यसलाई हटाउनु पर्छ भन्ने आवाज समेत नउठेको होइन।

तर आधुनिक फुटबलमा हरेक राष्ट्रहरुको खेले स्तर वृद्धि भइसकेको हुँदा प्रत्येक अन्तर्राष्ट्रिय खेललाई सबैले महत्वका साथ लिँदै आएका छन् । १९९१ बाट फुटबल खेल्ने राष्ट्रहरुबाट फिफाले फिफा वरियता सुरु गरेपछि यसको महत्व अझै बढेको थियो । त्यसैले पनि हुनसक्छ बेल्जिमयका प्रशिक्षक रोबेर्टो माार्टिनजेले सेमिफाइनलको हारलाई विर्सदै तेस्रो स्थानका लागि शतप्रतिशत प्रयास गर्ने बताए । तर इङल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले विश्वकपमा सहभागी कुनै पनि राष्ट्रले तेस्रो स्थानको खेल खेल्न नचाहने प्रतिक्रिया दिएका थिए।

बेल्जियमले फ्रान्ससँगको हारपछि तेस्रो स्थानको लागि हुने खेलमा नकआउट चरणमा उतारेको पहिलो रोजाईलाई नै निरन्तरता दिने प्रबल सम्भावना छ । बेल्जियमले नियमित ३–४–३ को शैलीमा खेल्दै आए पनि फ्रान्सविरुद्धको खेलमा भने ३–५–२ को शैली अपनाउदा हार भएको कारणले तीन स्ट्राइकरलाई नै खेलाउने देखिन्छ । आफ्ना प्रमूख खेलाडी केभिन डी बु्रयनालाई सेन्टर मिडफिल्ड वा स्ट्राइकरको रुपमा खेलाउदा बेल्जियमलाई राम्रो हुने देखिन्छ।

मिडफिल्डमा केही खेलाडीहरु परिवर्तन गरि खेल्न सक्ने सम्भावना देखिन्छ । यसरी खेल्दा पनि आफ्नो प्रमूख गुणको रुपमा रहेको बल पोसेसनको साथमा सटिक पास खेल्दै विपक्षीमा आक्रमण गर्ने रणनीतिलाई नै अवलम्बन गर्ने देखिन्छ । यस्तै तिब्र गतिको काउन्टर अट्याक बेल्जियमको प्रमूख हतियारको रुपमा रहेको छ । कप्तान इडेन हाजार्डले प्रतियोगितामा उत्कृष्ट खेल्दै आएका कारणले गर्दा यो खेलमा पनि उनीबाट त्यस्तै प्रभावशाली प्रदर्शन अपेक्षा गर्न सकिन्छ । बेल्जियमका गोलकिपर थियाबाउट कोर्टोइस पनि उत्कृष्ट लयमा रहेकाले रक्षकहरुले आत्मविश्वासका साथ खेल्न पाइरहेका छन् । तेस्रो स्थानको प्लेअफमा पनि यसले निरन्तरता पाउने अनुमान गर्न सकिन्छ।

इङल्यान्ड १–० को अग्रता लिनाका बावजुद क्रोएसियासँग २–१ ले पराजित हुँदै तस्रो स्थानको प्लेअफमा सिमित भएको थियो । जसका कारण मानसिक रुपमा उनीहरु कमजोर हुन सक्छन् । १–० को अग्रतामा पहिलो हाफमा गोल गर्ने केही सुनौला अवसरमा स्टार स्ट्राइकरहरु नै चुक्नु र दोस्रो हाफमा रक्षकहरुबीच तालमेल कमी हुँदै गल्ती हुँदा हार्नु परेको पिडाले इङल्यान्डलाई लखेटिरहेको हुनुपर्छ । यद्धपी तेस्रो स्थानका लागि हुने खेल टोलीको साथै समर्थकका लागि पनि अर्थ राख्ने हुँदा इङल्यान्डको युवा टोली जितको लागि मैदान उत्रिनेछ।

प्रशिक्षक साउथगेटले तेस्रो स्थानका लागि हुने खेलमा ३–५–२ को शैलीलाई अपनाउने देखिए पनि प्रयोगको रुपमा केही खेलाडी परिवर्तन गर्ने सम्भावना देखिन्छ । क्रोएसियाविरुद्धको खेलमा कप्तान ह्यारी केन, रहिम स्टर्लिङ र जेसी लिंगार्डले गोलका केही अवसर चुकाएको हुँदा ती खेलाडीहरु तेस्रो स्थानको प्लेअफमा छवि सुधार्ने अभियानमा हुनेछन् । यस्तै क्रोएसियासँगको खेलमा रक्षापंक्तिले स्विच प्ले गरी अग्रपक्तिसँग खेल्न खोज्दा मिडफिल्डरहरुलाई धेरै अवसर नआएकाले रक्षापंक्तिबाट विल्ड अप गरी मुभहरु बनाइ खेलाउन सक्नेछन्।

बेल्जियम र इङल्यान्डले समुह चरणमा एक–अर्कासँग खेल्दा बैकल्पिक खेलाडी मैदान उतारेका थिए । त्यस कारण बेल्जियम र इङल्यान्डबीचको वास्तविक खेल यही प्लेअफमा हुनेछ । दुवै टोलीले आफ्नो नियमित खेलाडीलाई नै निरन्तरता दिनेछन् । दुवै टोलीका गोलकिपर उत्कृष्ट लयमा छन् । दुवै टोलीले ३ रक्षक खेलाइरहेका छन्।

इङल्यान्डका कप्तान ह्यारी केन ६ गोलका साथ गोल्डेन बुट दाबेदारको अग्रस्थानमा रहेकाले बेल्जियमविरुद्धको खेलमा पनि गोल गर्नै लक्ष्य लिइ मैदानमा उत्रनेछन् । यता केनलाई पछ्याइरहेका बेल्जियमका रोमेलु लुकाकु सेमिफाइनलमा फ्रान्सविरुद्धको खेलमा गोल गर्ने अवसरहरुबाट चुकेको अवस्था विर्सदै गोलको भोक लिएर मैदानमा उत्रने छन्।

हाजार्ड र डी ब्रुयनाले बल पोसेसन र पासलाई सार्थक रुप दिदै सेट पिसको प्रयासमा पनि आशा गरेको हुनपर्दछ । इङल्यान्डले मध्यपंक्तिबाट तिब्र गतिको आक्रमणसँगै गोलको आशा गरेको देखिन्छ । रुसमा जारी विश्वकपमा इङल्यान्डले गरेका १२ मध्ये ९ गोल सेट पिसमा भएका कारण बेल्जियमसँग पनि सेट पिसको अवसरलाई चुकाउन चाहदैन।

हाजार्ड र डी ब्रुयनाले विश्वकपमा हासिल गरेको फर्मलाई निरन्तरता दिदै मिडफिल्डमा प्रभाव राखे इङल्यान्डले जित्ने सम्भावना न्युन देखिन्छ । तर हरेक खेलमा सेट पिसहरुमा गर्दै आएको गोललाई निरन्तरता दिने र केन, स्टर्लिङ तथा लिंगार्डले पाएका अवसरलाई सदुपयोग गरे इङल्यान्ड जितबाट टाढा छैन।

यसमा तपाईको मत