फ्रान्स हकलाग्दो च्याम्पियन

नेपाली नजरमा
सोमबार, ३२ असार २०७५, ०१ : १३ नागरिक

अघिल्लो महिना यही लुझनिकी रंगशालामा २१औं विश्वकप सुरु भएदेखि नै फ्रान्सलाई बलियो दाबेदारका रूपमा लिइएको थियो । फ्रान्ससँगै ब्राजिल, बेल्जियम, स्पेन, जर्मनी र अर्जेन्टिना पनि उपाधिमा दाबी गर्दै रूस पुगेका थिए । तर गत संस्करणको विश्वविजेता जर्मनी समूहचरणबाट नै बाहिरियो।

अप्रत्याशित रूपमा आयोजक रूससँग पेनाल्टीमा पराजित भएपछि स्पेनको यात्रा पनि लामो भएन । लियोनेल मेसीको अर्जेन्टिनालाई सनसनीपूर्ण ढंगले ४–३ ले पराजित गरी फ्रान्स विश्वकपमा अगाडि बढ्दै थियो । बेल्जियम यसपालि आफ्नो स्वर्णिम पुस्ताका स्टारहरूसहित रूस पुगेको थियो । क्लब फुटबलमा सनसनी मच्चाइरहेका खेलाडीको उपस्थिति सबै पोजिसनमा हुँदा बेल्जियम हरेक विपक्षीका लागि कठिन चुनौती थियो । तर फ्रान्सले सेमिफाइनलमा बेल्जियमको कठिन चुनौती पनि पार गरेपछि उपाधि यात्रामा टोलीले सबभन्दा लामो फड्को मारेको थियो।

क्रोएसिया अन्डरडगको हैसियत भए पनि संघर्षरत अवस्थामा फाइनलसम्म पुगेको थियो । नकआउट चरणका सबै तीन खेलमा सुरुमा गोल खाएपछि पुनरागमनमा जित हासिल गरेको क्रोएसिया पनि लुका मोडरिच, इभान राकेटिच, इभान पेरिसिच, मारियो मान्डजुकिच, डोमोगोच भिडा र डेजान लोभरेनजस्ता खेलाडीको उपस्थितिमा स्वर्णकाल मनाइरहेको टिम हो । त्यसैले फाइनलमा फ्रान्सलाई पनि क्रोएसियाले दुःख दिन सक्ने अनुमान गरिएको थियो । तुलनात्मक रूपमा फ्रान्सका खेलाडी प्रतिभावान् भए पनि क्रोएसियाली खेलाडीमा क्षमतासँगै परिपक्वता पनि थियो।

फ्रान्सलाई पनि त्यसको भय थियो । जसको कारण सुरुको १५ मिनेट खेलमा पूरा क्रोएसिया हाबी भयो । फ्रान्सले आफ्नो स्वाभाविक खेल खेल्न सकेन । थुपै्र आक्रमण भइरहे पनि रक्षापंक्तिले थेग्नु मात्र सुरुआती समयमा फ्रान्सको भाग्य थियो । तर १८औं मिनेटमा एन्टोनी ग्रिजम्यानले  उनीबाट समर्थकले अपेक्षा गरेजस्तै पेनाल्टी बक्सनजिकै फ्रि–किक आर्जन गरे । उनैको प्रभावकारी प्रहारमा मान्डजुकिचको आत्मघाती गोल हुँदा खेलले नयाँ मोड लियो।

त्यो गोलपछि पनि फ्रान्सले स्वाभाविक लय समाउन सकेको थिएन । ग्रिजम्यान मैदानमा सबैतिर छाए पनि किलियन एमबाप्पेले लय समाउन सकिरहेका थिएनन् । धेरै आशा गरिएका मिडफिल्डरहरू ब्लाइसी मातौडी, पाउल पोग्बा र एनगोलो कान्टेले त्यसअनुसार खेल्न सकेनन् । तर ग्रिजम्यानबाट असाधारण प्रदर्शन हुँदा सबैको गल्ती छोपियो।

१० मिनेट नबित्दै पेरिसिचले उनको स्वभावअनुसारकै सनसनीपूर्ण गोल गरेपछि खेल फेरि बराबरीमै फर्कियो । खेल बराबरीमा फर्किए पनि फ्रान्सलाई प्रतिभाको साथै आइतबार भाग्यको पनि साथ रह्यो । ग्रिजम्यानकै कर्नरमा पेरिसिचको ह्यान्ड भएपछि भिएआर प्रविधिमार्फत फ्रान्सले पेनाल्टी पायो । यही प्रतियोगितामा चारवटा पेनाल्टी बचाइसकेका ड्यानिअल सुबासिच क्रोएसियाको पोस्टमा थिए । विश्वकपको फाइनल आफैंमा दबाबपूर्ण थियो।

त्यसमाथि पोस्टमा उच्च लयमा रहेका सुबासिचको उपस्थितिले दबाब बढाएको थियो । तर ग्रिजम्यानले त्यहाँ आफ्नो क्षमता देखाए । दबाबलाई चिर्दै उनले आरामदायी पारामा गोल गरेपछि फ्रान्स पहिलो हाफमै २–१ को अग्रताका साथ ड्रेसिङ रुम जान पायो । जसले बाँकी समय पनि खेल पूरा फ्रान्सको नियन्त्रणमा राख्यो।

दोस्रो हाफमा फ्रान्सेली रक्षापंक्ति थप आत्मविश्वासका साथ प्रस्तुत हुँदा क्रोएसिया ओइलाउँदै गयो । ५९ र ६५औं मिनेटमा पोग्बा र एमबाप्पेले गोल थपेपछि त केहीबेर क्रोएसियाले आत्मसमर्पण गरेजस्तो भयो । गोल गरेपछि पोग्बा पनि लयमा फर्किए । विपक्षीले हात उठाइसकेको अवस्थामा अति आत्मविश्वासी फ्रान्सका गोलकिपर ह्युगो लोरिसले एउटा हास्यास्पद गोलको अवसर दिए । उनको अक्षम्य गल्तीमा समय सकिन २१ मिनेट बाँकी रहँदा मान्डजुकिचले क्रोएसियालाई ४–२ को अवस्थामा ल्याए । तर फ्रान्सको अग्रतासँगै मैदानमा प्रभाव पनि उस्तै भएका कारण त्यो गोलको गालबाट लोरिस जोगिए।

फुटबलमा सबभन्दा रोमाञ्च दिने गोलले हो । यो फाइनलमा दुवै टिमबाट गरी ६ गोल भए । विश्वकै उत्कृष्ट खेलाडीहरूको जमघट हुँदा फाइनलमा ६ गोल सम्भव भयो । धेरै गोलका कारण यो फाइनल पछिल्ला केही संस्करणको तुलनामा थप रोमाञ्चक बन्यो । फ्रान्सले हकलाग्दो उपाधि जित्यो भने क्रोएसियाको संघर्षले पनि सम्मानजनक स्थान प्राप्त गर्यो। 

यसमा तपाईको मत