इन्जुरी समयमा ब्राजिलको दुई गोल, कोस्टारिका समूह चरणबाटै बाहिरियो

शुक्रबार, ०८ असार २०७५, २० : ०४ नागरिक

रूस – इन्जुरी समयमा फिलिपे कौटिन्हो र नेयमारले गोल गरेपछि ब्राजिलले विश्वकप फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ। रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा शुक्रबार सम्पन्न पहिलो खेलमा कोस्टारिकालाई ब्राजिलले २–० ले स्तब्ध बनायो।

निर्धारित ९० मिनेटसम्म बराबरी खेलेको ब्राजिलले थपिएको इन्जुरी समयमा दुई गोल गर्यो। ब्राजिलका लागि इन्जुरी समयमा ग्याब्रीयल जिससको पासमा कौटिन्हो र डग्लस कोस्टाको पासमा नेयमारले उत्कसष्ट गोल गरे। कोस्टारिका भने अन्तिम समयमा सम्हालिन नसक्दा प्रतियोगिताबाटै बाहिरिएको छ।

ब्राजिलले पहिलो खेलमा स्विजरल्याण्डसँग बराबरी खेलेको थियो भने कोस्टारिका सर्बियासँग पराजित भएको थियो। यो विश्वकपको उपाधि दाबेदार टोली ब्राजिलले सोचेअनुसारको खेल प्रदर्शन गर्न भने सकेन। यद्यपी उसले पटक पटक प्रहार गरेका बल गोल किपरले विफल तुल्याइदिएका थिए। खेलमा पकड जमाएपनि ब्राजिललाई जितका लागि इन्जुरी समयसम्म कुर्न पर्यो। 

यता कोस्टारिकाले पनि पाएका केहि अवसरलाई सदुपयोग गर्न सकेन। कोस्टारिकाले सन् १९६० पछि भएका १० भेटमा ब्राजिललाई एक पटक मात्र पराजित गरेको छ। कोस्टारिकाले ४ वर्षअघि इङ्ल्यान्ड, उरुग्वे र इटाली रहेको समूहबाट सनसनीपूर्ण प्रदर्शनका साथ नकआउट चरण पुग्दै क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेका थियो। 

 

यसमा तपाईको मत