नासिर चाड्ली (बेल्जियम)

मङ्गलबार, २६ असार २०७५, ११ : ४१ नागरिक

नाम : नासिर चाड्ली (बेल्जियम)
जन्म : २ अगस्ट, १९८९
पोजिसन : मिडफिल्डर
क्लब : जेएस थियर ए लिगे, स्ट्यान्डर्ड ए लिगे, एमडब्लु, एजिओडब्लु एपेलडुम, ट्वान्टे, टोटेनह्याम, वेस्ट ब्रोम

पाँच पटकको विश्वविजेता ब्राजिलाई २–१ ले पराजित गदै बेल्जियमले १९८६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान पक्का गर्दा मिडफिल्डर नासिर चाड्लीको प्रदर्शन तारिफयोग्य छ।

मोरक्को र बेल्जियम गरी दुई देशको नागरिकता भएका चाड्लीले २०१० नोभेम्बर १७ मा नर्दन आयरल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलसँगै मोरक्कोको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। तर जनवरी २८ २०११ मा उनले बेल्जियमको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेल खेल्ने घोषणा गरे। मोरक्कोबाट कुनै पनि प्रमुख प्रतियोगिता नखेलेकाले फिफाले चाड्लीलाई बेल्जियमको प्रतिनिधित्व गर्न अनुमति दिएको थियो। उनले सोही वर्ष फेबु्रअरी ९ मा फिनल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलसँगै बेल्जियमको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए।

७ वर्षको उमेरमा बेल्जियमको स्थानीय क्लब जेएस थियर ए लिगेको युथ एकेडेमीमा भर्ना भएका चाड्ली त्यसको ४ वर्षपछि अर्को स्थानीय क्लब स्ट्यान्डर्ड ए लिगेको एकेडेमीमा गए। चाड्ली २००५ मा भने नेदरल्यान्ड्सको क्लब एमडब्लुको एकेडेमीमा पुगे।

२००७ मा डच क्लब एजिओडब्लु एपेलडुममा आबद्ध भएका चाड्लीले क्लबमा ३ सिजन बिताउँदै ९० खेलमा २८ गोल गरे। उनी २०१० मा अर्को डच क्लब ट्वान्टेमा आबद्ध भए। ट्वान्टेमा ३ सिजन बिताएका चाड्लीले क्लबबाट ८४ खेलमा २५ गोल गरे।

चाड्ली २०१३ मा इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्याममा आबद्ध भए। टोटेनह्याममा ३ सिजन बिताएका चाड्लीले ८८ खेलमा १५ गोल गरेका छन्। उनी २०१६ मा वेस्ट ब्रोममा आबद्ध भएका थिए। उनले वेस्ट ब्रोमबाट ३६ खेलमा ६ गोल गरिसकेका छन्।

उनले बेल्जियमका लागि ४९ खेल खेल्दै ६ गोल गरिसकेका छन्।

यसमा तपाईको मत