फिलिप कौटिन्हो (ब्राजिल)

फिचर खेलाडी
शुक्रबार, ०८ असार २०७५, ०० : २३ नागरिक

नाम : फिलिप कौटिन्हो

जन्म : १२ जुन, १९९२ (रियो दी जेनेरियो)

पोजिसन : मिडफिल्डर

क्लब : इन्टर मिलान, भास्को डी गामा (लोन), स्पानियोल (लोन), लिभरपुल, बार्सिलोना

बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्हो पाँच पटकको विश्वकप विजेता ब्राजिली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी हुन् । उनकै सनसनीपूर्ण गोलमा ब्राजिल रूसमा जारी विश्वकपको आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डसँग पराजयबाट जोगिएको थियो।

१५ वर्षको उमेरमा भास्को डी गामाको युथ एकेडेमीमा भर्ना भएका कोैटिन्हो त्यसको एक वर्षपछि (२००८)इटालियन सिरी ‘ए’ को क्लब इन्टर मिलानमा आबद्ध भएका थिए । तर सिरी ‘ए’ खेल्न विदेशी खेलाडीको उमेर कम्तीमा १८ वर्षको हुनुपर्ने भएकाले कौटिन्हो पुुनः दुई वर्ष लोनमा भास्को डी गामा नै फर्किएका थिए।

२०१० जुलाई मा १८ वर्ष प्रवेश गरेसँगै इन्टर फर्किएका कोैटिन्होले अगस्टमा एट्लेटिको मड्रिडविरुद्ध युइएफए सुपर कपको खेलमा वैकल्पिक खेलाडीका रूपमा क्लबबाट ‘डेब्यु’ गरेका थिए । उनी २०१२ मा स्पेनिस ला लिगाको क्लब स्पानियोलमा एक वर्षे लोनमा गएका थिए।

४ सिजन इन्टर मिलानमा बिताएका कौटिन्होले इन्टरबाट २८ खेलमा ३ गोल गरेका थिए भने स्पानियोलबाट १६ खेलमा ५ गोल गरेका थिए । २०१३ जनवरी २६ मा इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलमा आबद्ध भएका कौटिन्हो गत सिजन जनवरी सरुवा बजारमा बार्सिलोनामा आबद्ध भए । लिभरपुलबाट पाँच वर्ष खेल्ने क्रममा उनले १ सय ५२ खेलमा ४१ गोल गरेका छन् । बार्सिलोनाबाट भने उनले १८ खेलमा ८ गोल गरेका छन्।

२०१० अक्टोबर ७ मा इरानविरुद्धको मैत्रीपूर्ण खेलसँगै ब्राजिलको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका कौटिन्होले ३७ खेलमा ११ गोल गरिसकेका छन् । जारी विश्वकपको पहिलो खेलमा आफ्नै प्रिय शैलीमा सानदार गोल गरेर उनले उच्च फर्ममा रहेको प्रमाण दिएका छन् । ब्राजिलले कीर्तिमानी छैटौं उपाधि जित्ने लक्ष्य राख्दा कौटिन्हो टोलीको मुख्य हतियार हुनेछन्।

यसमा तपाईको मत