समयमा निर्णय लिन नसक्दा इङ्ल्यान्डको हार

नेपाली नजरमा
शुक्रबार, २९ असार २०७५, १० : ५६ नागरिक

फुटबलमा सबै कुरा सधैं सोचेजस्तो हुन्छ भन्ने छैन । त्यसमा पनि अहिलेको आधुनिक फुटबलमा विश्वकपका खेलको नतिजा पूर्वानुमान गर्नु झन् गाह्रो कुरा हो।

अघिल्लो संस्करणको विश्वकपमा सबैको भविष्यवाणीलाई गतल साबित गर्दै आयोजक ब्राजिल जर्मनीसँग ७–१ ले पराजित हुन पुगेको थियो । यस्तै रूसमा जारी विश्वकपमा पनि क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराउनु, दक्षिण कोरियाले जर्मनीलाई २–० र पहिलो पटक एसियाली राष्ट्र जापानले दक्षिण अमेरिकी टोली कोलम्बियालई २–१ ले हराउनु धेरैको अनुमानभन्दा फरक रह्यो।

फिफामा आबद्ध २ सय ११ राष्ट्रमध्येबाट छनोट चरण पार गरेर आएका ३२ वटै राष्ट्र बलिया हुन्छन् । बुधबार इङ्ल्यान्डले क्रोएसियासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा पनि धेरैको अनुमान इङ्ल्यान्डको पक्षमा नतिजा आउने थियो । इङ्ल्यान्ड समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै ८ गोल गर्न सफल भएको थियो । अन्तिम १६ मा कोलम्बियालाई हराउँदा इङ्ल्यान्डले पेनाल्टी सुटआउटमा पहिलो पटक बाजी मारेको थियो । राम्रो प्रदर्शन र सुखद नतिजाको यात्रालाई निरन्तरता दिने क्रममा टोलीले क्वार्टरफाइनलमा स्विडेनलाई सहजै पराजित गरेको थियो।

विश्वमै अत्यन्तै लोकप्रिय इङ्लिस प्रिमियर लिग पछ्याउने समर्थकहरूले प्रिमियर लिगकै स्टारहरूको बाहुल्य रहेको इङ्ल्यान्ड क्रोएसियामाथि पनि हाबी हुने आशा गर्नु त्यसैले पनि स्वाभाविक थियो । क्रोएसियाले अचम्मसँगै समूहचरणमा अर्जेन्टिना, नाइजेरिया र आइसल्यान्डलाई पराजित गर्दै शतप्रतिशत नतिजाका साथ दोस्रो चरण प्रवेश गरेको थियो।

अन्तिम १६ मा डेनमार्कसँग पेनाल्टी सुटआउटमा गोलकिपर ड्यानियल सुबासिचले ३ वटा पेनाल्टी बचाएर जित निकालेका थिए भने क्र्वाटरफाइनलमा पनि पेनाल्टी सुटआउटमै आयोजक रूसलाई हराएर इङ्ल्यान्डविरुद्धको सेमिफाइनल पक्का गरेको थियो । क्रोएसियाले नकआउट चरणका अघिल्ला खेलहरूमा पछि परे पनि उत्कृष्ट पुनरागमन गर्दै खेलमा फर्किएको थियो । त्यसैले क्रोएसिया टोली पनि कमजोर पक्कै थिएन।

इङ्ल्यान्डले क्रोएसियासँगको खेलमा पनि जारी विश्वकपमा नियमित रूपमा आफूले प्रयोग गर्दै आएको ३–५–२ को शैलीमा मैदानमा उत्रिएको थियो । यसभन्दा अघिको खेलसम्म इङल्यान्डका रक्षकहरू जोन स्टोन्स, ह्यारी मागुइरी र काइल वाल्करले उत्कृष्ट खेल्दै आएकाले बुधबार क्रोएसियाविरुद्धको खेलमा पनि उनीहरूलाई प्रशिक्षक गारेथ साउथगेटले विश्वास गरेका थिए । सोचेअनुरूपको नतिजा आउँदै गरेका कारण मिडफिल्डमा डेले अली, एस्ले योङ, जेसी लिंगार्ड र किरन ट्रिपियरलाई रोजेका थिए।

रक्षापंत्तिलाई मजबुत पार्नका लागि जोर्डन हेन्डरसनलाई मिडफिल्डर भए पनि डिफेन्सिभ मिडफिल्डरका रूपमा रोजेका थिए । स्ट्राइकरमा ह्यारी केन र रहिम स्टर्लिङलाई रोज्नु स्वाभाविक पनि थियो । तर केनलाई अघिल्ला खेलको तुलनामा तल झारेर खेलाउने रणनीतिचाहिँ फेल भयो।

क्रोएसियाले आफू प्रतियोगिताको सुरुबाट अपनाउँदै आएको ४–२–३–१ कै शैलीलाई इङ्ल्यान्डविरुद्ध निरन्तरता दिएको थियो । स्ट्राइकरका रूपमा अनुभवी मारियो मान्डजुकिच टोलीमा रहेका थिए । मिडफिल्डमा कप्तान लुका मोडरिच, इभान राकेटिच र इभान पेरिसिच रहँदा प्रशिक्षक ज्लाट्को डालिच क्रोएसियाको मिडफिल्डबाट बिल्ड अप प्ले हुनेमा ढुक्क देखिन्थे । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका सुबासिचको उपस्थितिले टोलीको मनोबल उच्च पारेको थियो।

मध्यपंक्तिमा उत्कृष्ट रहेका कारणले गर्दा उत्कृष्ट रूपमा पास खेल्दै क्रोएसियाले पहिलो हाफमा बल पोसेसन आफ्नो पक्षमा पार्न सफल भएको थियो । क्रोएसियाले इङ्ल्यान्डको पोस्टमा आक्रमण पनि धेरै गरेको थियो । इङ्ल्यान्डले आफ्नो खेल शैलीअनुसारै लामा पास खेलेको थियो । इङल्यान्डले क्रोएसियाविरुद्ध तीव्र गतिमा केही आक्रमण गरेको थियो । क्रोएसियाका कप्तान प्लेमेकर मोडरिचलाई इभान राकेटिच र इभान पेरिसिचले विपक्षीको क्षेत्रमा विल्ड अप गर्दै मुभहरू बनाउन सघाएका देखिन्थ्यो । त्यसको ठीक विपरीत इङ्ल्यान्डको टोलीमा भने होल्डिङ मिडफिल्डरको अभाव देखिन्थ्यो।

रक्षकहरूले लामो पास विपक्षीको जोनमा स्ट्राइकरलाई उपलब्ध गराएको देखिन्थ्यो । जसले गर्दा मिडफिल्डहरूलाई बल पास खेल्न बलको अभाव भइरहेको हुन्थ्यो र मिडफिल्डरहरू बल प्राप्त गर्दा तीव्र गतिमा विपक्षीको क्षेत्रमा बल लिएर जाँदा खासै सफल हुन सकेनन् । क्रोएसियाले भने दायाँ र बायाँ दुवै साइडबाट राम्रा क्रसहरू निकालेको देखिन्थ्यो । दुवै टिमका गोलकिपरले भने गल्ती नगरी पोस्ट सम्हालिरहेका थिए।

इङ्ल्यान्डले खेलको पाँचौं मिनेटमा ट्रिपियरको उत्कृष्ट फ्रि–किकमार्फत गोल गरी अग्रता लिन सफल भएको थियो । त्यसपछि बल पोसेसन विपक्षीसँग भए पनि इङ्ल्यान्डले पहिलो हाफमा केही गोलका सहज अवसर प्राप्त गरेको थियो । खेलको २२औं मिनेटमा रहिम स्टर्लिङले पेनाल्टी एरियानजिकै पाएको बल आफैंले अघि बढाउँदा गोल हुन सक्थ्यो तर उनले केनलाई पास दिँदा अफसाइड भएर मौका खेर गएको थियो।

त्यस्तै ३०औं मिनेटमा पुनः केनले गोलका लागि ६ यार्ड एरियामा सहज अवसरलाई गुमाएका थिए भने ३५औं मिनेटमा लिङ्गार्डले पेनाल्टी स्पभन्दा केही माथि पाएको बललाई पोस्टको दिशा दिन सकेनन् । पहिलो हाफका यी मुभमध्ये एउटा मात्र गोलमा परिणत गरेको भए क्रोएसियालाई खेलमा पुनरागमन गर्न निकै कठिन हुने थियो । क्रोएसियाले पहिलो हाफमा धेरै आक्रमण गर्दा पनि गोलको अवसर भने खासै थिएनन्।

दोस्रो हाफको सुरुआती समयमा इङ्ल्यान्डले खेललाई आफ्नो नियन्त्रणमा राख्न खोजेको थियो । तर अनुभवी क्रोएसियाली खेलाडीहरू हार मान्ने पक्षमा थिएनन् र पुनरागमनको प्रयास जारी राखे । यसले इङ्ल्यान्डको रक्षापंक्तिलाई दबाब बढाएको थियो । त्यो अवस्थामा रक्षापंक्तिलाई थप बलियो बनाउन रणनीतिमा तत्काल परिवर्तन गर्न नसक्नु इङ्लिस बेन्चको कमजोरी थियो।

जसको फलस्वरूप ६८औं मिनेटमा पेरिसिचले इङ्लिस रक्षापंक्तिको कमजोरीको फाइदा उठाएर गोल गर्दै बराबरीमा ल्याएका थिए । बराबरीमा आएपछि दुवै टोलीमा खासै अन्तर देखिएन । ७२औं मिनेटमा स्टोन्सको ठूलो गल्तीमा पाएको अवसरलाई पेरिसिचले गोलपोस्टमा प्रहार गर्दा बल पोस्टमा लागेर फर्किएको थियो । यदि सो प्रहार गोल भएको भए क्रोएसिायाले बाँकी अवधि बल होल्ड गरेर नतिजा आफ्नो पक्षमा ल्याउन सक्थ्यो । त्यसपछिको बाँकी अवधि कुनै पक्ष पनि हार्न नचाहेको देखिन्थ्यो।

इङ्ल्यान्ड टोलीको भरपर्दा स्ट्राइकर केन, स्टर्लिङ र लिंगार्ड पहिलो हाफमा पाएका मौकामध्ये कम्तीमा एउटालाई मात्र सदुपयोग गरेको भए इङ्ल्यान्डले हार व्यहोर्नुपर्ने थिएन । स्टार स्ट्राइकरहरू महत्वपूर्ण समयमा चुक्दा इङ्ल्यान्डलाई त्यसको असर परेको देखियो । इङ्ल्यान्डका रक्षक वाल्कर दोस्राे हाफको सुरुदेखि नै घाइतेजस्तो देखिँदादेखिँदै पनि मैदानमा परिवर्तन नगरी राख्नु पनि हारको अर्को कारण हुन पुग्यो।

६८औं मिनेटमा क्रोएसियाले गोल गर्दा पनि वाल्कर घाइते भएको झल्कन्थ्यो भने १ सय ९औं मिनेटमा मान्डजुकिचले गोल गर्दाको अवसर पनि वाल्करकै कमजोर क्लियरेन्सबाट प्राप्त भएको थियो । अतिरिक्त समयमा दुवै टोली पेनाल्टी सुटआउटतर्फ उन्मुख भैरहँदा इङ्ल्यान्डका प्रशिक्षक साउथगेटले सही समयमा सही खेलाडीको परिवर्तन गर्न नसक्नु पनि हारको कारण मान्नुपर्छ ।

यो वर्षको विश्वकपदेखि अतिरिक्त समयमा थप एक खेलाडी गरी ४ खेलाडी परिवर्तन पाउने नियम हुँदा पनि इङ्ल्यान्डले ४ खेलाडी परिवर्तन गर्यो । तर २–१ ले पछि परेको अवस्थामा इङ्ल्यान्ड टिम विश्व फुटबलमा विरलै देखिने दृश्य बाँकी पाँच मिनेट र थप ४ मिनेट गरी ९ मिनेट १० खेलाडीमा खेल्न बाध्य भयो । यसबाट क्रोएसियालाई ठूलो राहत पुग्न गयो । क्रोएसियाले आफ्नो अनुभवी खेलाडी हुनुको फाइदा उठाउँदै २–१ को अग्रतापछि इङ्ल्यान्डलाई खेलमा फर्कने कुनै मौका नै नदिई पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गर्यो।
 

यसमा तपाईको मत