सुरुआती अग्रता निर्णायक

नेपाली नजरमा
बिहिबार, २८ असार २०७५, ०३ : ०५ नागरिक

फ्रान्स र बेल्जियमबीचको सेमिफाइनल खेल हेर्न पूरै विश्व अतुर थियो । यी दुवै टोली जारी विश्वकपकै राम्रा र बलिया टोली थिए । त्यसकारण दुई टोलीलाई प्रतियोगिताको दाबेदारका रूपमा हेरिएको थियो।

सेमिफानइलसम्मको यात्रा गर्दा दुवै टोली अपराजित थिए । बेल्जियमले जापानविरुद्धको अन्तिम १६ मा २–० ले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै ३–२ को नतिजा निकालेको थियो भने क्वार्टरफाइनलमा सदाबहार दाबेदार रहने ब्राजिललाई २–१ ले हराएको थियो  । जुन  समान्य कुरा थिएन।

फ्रान्सको सेमिफाइन यात्रा पनि विश्वकपमा अविस्मरणीय रहेको थियो । दुई पटकको विश्वकप जितेको दक्षिण अमेरिकी टोली अर्जेन्टिनाविरुद्ध सनसनीपूर्ण नतिजा निकाल्ने क्रममा फ्रान्सले ४–३ विजय हासिल गरेको थियो । फ्रान्सले क्वार्टरफाइनलमा उरुग्वेमाथि २–० को सहज नतिजा निकालेको थियो । त्यसैले यी दुई टोलीबीचको सेमिफाइनल खेलले विशेष महत्व बोकेको थियो।

फिफाका सात संस्थापक राष्ट्रमध्येका फ्रान्स र बेल्जियमले एकआपसमा पहिलो अन्तार्रष्ट्रिय (मैत्रीपूर्ण) खेल १९०४ मा खेलेका थिए । इतिहास बेल्जियमको पक्षमा भए पनि विश्वकपको नतिजा भने फ्रान्सको पक्षमा थियो । दुवै टोलीमा स्टार खेलाडीहरूको जमघट थियो । क्लबस्तरमा एकआपसका सहयात्री भए पनि उनीहरू मंगलबार विपक्षीका रूपमा मैदान उत्रिएका थिए ।

विश्वकपको सेमिफाइनल ठूलो खेल हो र यसमा भिड्न लागेका टोली पनि ठूला हुन् । ठूला खेलमा त्यहीअनुरूपको दबाब हुन्छ ।  दुवै टोली हार्न नचाहने हुँदा प्रशिक्षकले रणनीति परिवर्तन गर्न खोज्छ । कमै प्रशिक्षकले मात्र अन्तिम ४ मा जोखिम मोल्न चाहन्छ।

आशाअनुरूप नै फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले अघिल्ला खेलमा लिएको रणनीतिलाई मंगलबार पनि निरन्तरता दिए । ४–२–३–१ को फर्मेसनमा खेलाएका डेसच्याम्पले राफेल भरान, लुकास हर्नान्डेज, सामुइल उम्टिटी र बेन्जामिन पाभर्डलाई सेमिफाइनलमा पनि  ‘ग्रेट वाल’ का रूपमा रक्षापंक्तिमा निरन्तरता दिए । यसै गरी प्रतिबन्धबाट फुकुवा भएका ब्लाइसे मातुइडीसँगै, पाउल पोग्बा र एन‘गोलो कान्टेलाई मिडफिल्डको जिम्मेवारी दिए।

डेसच्याम्पसँग ओलिभर जिरौउड, एन्टोनी ग्रिजम्यान र किलियन एमबाप्पे जस्ता स्ट्राइकर छँदै थिए । कप्तान तथा गोलकिपर ह्युगो लोरिस फ्रान्स टिमको सधंै प्रेरणादायी र विश्वासिला खेलाडी हुुन् । त्यसैले पनि प्रत्येक खेलमा सुदृढ प्रदर्शनका कारण डेसच्याम्प  फ्रान्सले जित्नेमा विश्वस्त देखिन्थे।

बेल्जियमका स्पेनिस प्रशिक्षक रोबेर्टो मार्टिनेजसँग धेरै स्टार खेलाडी विकल्पमा थिए । त्यसैले हुन सक्छ पहिलो रोजाइ कसलाई राख्ने भन्ने निर्णय लिन उनलाई कठिन भएको देखिन्छ । बेल्जियमले क्वार्टरफाइनलसम्म ३–४–३ को शैलीमा खेल्दै आएको थियो  । सेमिफाइनलमा फ्रान्सको तीव्र गतिको आक्रमणलाई रोक्न हुन सक्छ मार्टिनेजले ३–५–२ को रणनीति अपनाए । रोमेलु लुकाकु र कप्तान इडेन हाजार्डलाई फरवार्डका रूपमा राखेका थिए।

लुकाकुले प्रतियोगितामा ४ गोल गरिसकेका र हाजार्ड बेल्जियम टिमका आर्किटेक्टको रूपमा रहेको हुँदा मार्टिनेज आफ्ना स्ट्राइकरले गोल निकाल्नेमा विश्वस्त देखिन्थे । बेल्जिमका मिडफिल्डर केभिन डी ब्रुयना टोलीका सबैभन्दा आाशा गरिएका खेलाडी थिए।

प्रशिक्षकले दुई महत्वपूर्ण खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै दुई गोल गरेका मारौउने फेलानी र नासिर चाड्लीलाई पहिलो रोाजाइमा मौका दिए । यसरी उत्कृष्ट हुँदाहुँदै पनि बेल्जियमको मिडफिल्डमा पटकपटक परिवर्तन भैैरहँदा समस्या नभएता पनि सही किसिमले स्थापित नभएको जस्तो अनुभूति भएको थियो । भिन्सेट कोम्पनी रक्षकमा र गोलकिपर थियाबाउट कोर्टोइसले बेल्जियमलाई अझ बलियो बनाएका थिए।

खेलको सुरुदेखि नेै खेल बेल्जियमको नियन्त्रणमा थियो । बेल्जियमले बल पोसेसन आफ्नो पक्षमा राख्दै फ्रान्सको पोस्टमा आक्रमण पनि गरेको थियो । तर फ्रान्सेली टोलीका रक्षक पाभार्ड, भरान र उम्टिटीले आफ्नो क्षेत्र रक्षा गर्दै आक्रमणका लागि ग्रिजम्यान  र एम्बाप्पेलाई साथ दिएको देखिन्छ ।

पहिलो हाफमा फ्रान्सका गोलकिपर तथा कप्तान लोरिसले सम्भावित गोललाई टार्दा बेल्जियम अग्रता लिनबाट वञ्चित भएको थियो । यस्तै पाभार्डले ६ यार्डबाट प्रहार गरेको बललाई कोर्टोइसले मुस्किलले बचाएका थिए । पहिलो हाफमा दुवै पक्षबाट आकर्षक खेल भएको थियो । दुवै टोलीले आफ्ना क्षेत्रबाटै मुभ बनाएर उत्कृष्ट आक्रमण गरेका थिए । तर बेल्जियमको आक्रमणलाई फ्रान्सेली रक्षकले आफ्नो पेनाल्टी क्षेत्रमा छिर्ने कमै अवसर दिएका थिए।

कुनै पनि टोलीलाई जित्ने आधार आफ्नो मिडफिल्डले दिने हो । प्रशिक्षक मार्टिनेजले मिडफिल्डलाई थप जिम्मेवारी दिँदा बेल्जियमका मिडफिल्डरहरूले अघिल्ला खेलमा जस्तो खुलेर खेल्न पाएका थिएनन् । फ्रान्सका मिडफिल्डर एमबाप्पेलाई डबल मार्किङको रूपमा राखेका थिए । त्यसको जिम्मेवारी फेलानी र एलेक्स विट्सेलले निभाइरहेका देखिन्थ्यो । फ्रान्सका पनि कान्टे र पोग्बाले बेल्जियमका डी ब्रुयना र हाजार्डलाई निगरानीमा राखी उनीहरूको स्वाभाविक खेल खेल्न दिइरहेको थिएन।

जारी विश्वकपमा फ्रान्सले सेट पिसमा राम्रो गर्दै आएको छ । ५१औं मिनेटमा ग्रिजम्यानको कर्नरमा उम्टिटीले फेलानीको चुनौतीलाई बिट गर्दै गोलकिपर कोर्टोइसलाई कुनै मौका नदिई हेड गोल गर्न सफल भए । यो गोलबाट फ्रान्स टिमको मनोबल बढेको र उनीहरू थप सहज भएको देखिन्छ । गोल खाएपछि बेल्जियमलाई भने दबाब हुन गयो । फलस्वरूप सेटपिसमा पनि राम्रो आक्रमण गर्न सकेन।

बेल्जियमका मिडफिल्डर चाड्ली र औसामाने डेम्बेलेले मार्टिनेजको सोचलाई सार्थकता दिन सकेनन् । मार्टिनेजले मिडफिल्ड असफल भएको ठानी द्रिइस मार्टिन्स र यानिक कारास्कोलाई मैदान प्रवेश गराए ।  फ्रान्सको रक्षापंक्तिलाई पोग्बा र कान्टे मात्र नभई बेलाबेलामा ग्रिजम्यान र जिरौडले पनि आफ्नो क्षेत्रमा आएर साथ दिए । फ्रान्सको रक्षापंक्ति तोड्न हाजार्ड र डी ब्रुयनाको मिहिनेत सफल हुन सकेन । पाएका अवसर लुकाकुले पटकपटक चुकाउँदा बेल्जियमले बराबरी गर्ने अवसरबाट वञ्चित भयो । फ्रान्सका गोलकिपर लोरिसले पनि पूरै खेलभर उत्कृष्ट बचाउ गर्दा ‘गोल्डेन जेनेरेसन’ को बेल्जियमका खेलाडीहरूले कुनै गोल गर्न सकेनन्।

विश्वकप फुटबलमा ठूला खेलमा कसले अग्रता लिन्छ भन्ने कुराले विशेष अर्थ राख्छ । स्टार खेलाडी भएको कुनेै पनि ठूला टोलीले आफ्नो अग्रतालाई जोगाउन चाहन्छ । बेल्जियमले क्वार्टरफाइनलमा ब्राजिलसँग २–० को अग्रताबाट नै २–१ को विजय हात पार्न सफल भएको थियो । यस्तै २०१६ को युरोपियन च्याम्पियनसिपको फाइनलमा उत्कृष्ट खेल्दा खेल्दै पनि फ्रान्सले पोर्चुगलको १–० को अग्रतालाई टार्न  नसक्दा उपविजेतामा चित्त बुझाउनुपर्यो।

त्यसैले यो १–० को अग्रता बेल्जियमसँग जोागएर फाइनलको यात्रा तय गर्नेमा फ्रान्स प्राविधिक र रणनीतिक रूपमा अब्बल देखियो । थप गरिएको ६ मिनेटको समयलाई फ्रान्सले यति चतुरतापूर्वक दबाब नलिई समय कटाएको थियो । तसर्थ ठूलो  प्रतियोगिताको ठूलो खेलमा लिएको सुरुआती अग्रता निर्णायक बन्ने हुँदा फ्रान्सले ५१ औं मिनेटमा म्यान अफ दी म्याच उम्टिटीले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो।

यसमा तपाईको मत