अहमेद फरास (मोरक्को)

फिचर खेलाडी
सोमबार, २१ जेठ २०७५, १४ : ३७ एजेन्सी

मोरक्को – सन् १९६५ देखि १९७९ सम्म मोरक्कोको फुटबल करियरमा जीवन सुम्पिएका अहमेद फरासलाई मोरक्को टोलीका महत्वपूर्ण खेलाडी रूपमा हेरिन्थ्यो । फुर्तिलो शरीर र बललाई आकर्षक शैलीमा प्रतिद्वन्द्वीलाई बिट गराउँदै विपक्षीको पोस्टमा गोल गर्न माहिर स्ट्राइकर फरासले राष्ट्रिय टोलीबाट ७७ खेलमा ४२ गोल गरेका छन्।

सन् १९७५ मा अफ्रिकन फुटबलर अफ दी इयरबाट सम्मानित भएका फरासले सन् १९७१ देखि १९७९ सम्म मोरक्को टोलीलाई लगातार ८ वर्ष कप्तानी गरेका थिए । सन् १९४६ मा मोरक्कोमा नै जन्मिएका फरास, मोरक्कोको ‘ए’ डिभिजन क्लब चबाब मोहम्मेदियाबाट खेल्दै २ सय ३१ गोल गर्न सफल भएका छन्।

सन् १९७० मा मेक्सिकोमा सम्पन्न विश्वकपमा मोरक्कोले सहभागिता जनाउँदा डेब्यु गरेका उनले त्यसको दुई वर्षपछि म्युनिखमा भएको ग्रीष्मकालीन ओलम्पिकमा मोरक्को टोलीलाई नेतृत्व गरेका थिए।

१७ वर्ष फुटबल खेलमा बिताउँदै १९८२ मा संन्यास घोषणा गरेका फरास १९६९ र १९७३ को मोरक्को लिगका सर्वाधिक गोलकर्ता हुन् । संन्यासपूर्व समग्र खेलजीवन नै चबाब मोहम्मेदियामा बिताएका फरासको टोलीले सन् १९८१ मा मोरक्को लिगको उपाधि उचालेको थियो । फरासलाई कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (सिएएफ)ले सन् २००६ मा पछिल्लो ५० वर्षभित्रका उत्कृष्ट २ सय खेलाडीमध्येबाट उत्कृष्ट खेलाडी घोषित गरेको थियो।

यसमा तपाईको मत