आन्द्रियास ग्रान्क्भिस्ट (स्विडेन)

फिचर खेलाडी
मङ्गलबार, २२ जेठ २०७५, १२ : १३ नागरिक

नाम : आन्द्रियास ग्रान्क्भिस्ट

जन्म : अप्रिल १६, १९८५ (पार्प)

क्लब : हेल्सिनबर्गस आइएफ, विगान , ग्रोनिन्जेन, जिनुवा, क्रास्नोडर

हेल्सिनबर्गसबाट २००४ मा व्यावसायिक करियर सुरु गरेका आन्द्रियास ग्रान्क्भिस्टले १४ वर्षको बीचमा विगान एथलेटिकबाट दुई कार्यकाल खेले भने ग्रोनिन्जेन, जिनुवा र क्रास्नोडरको जर्सी पनि लगाए । भर्खरै सकिएको सिजन क्रान्नोडरबाट खेलेका उनले नयाँ सिजनका लागि फेरी पुरानो क्लब हेल्सिनबर्गसमा पुनरागमन जनाएका छन्। 

२००४ मा स्विडिस राष्ट्रिय यु–२१ टोलीमा परेका उनी २००६ देखि सिनियर राष्ट्रिय टोलीको नियमित हिस्साका रुपमा खेलिरहेका छन् । रक्षापंक्तिका भरपर्दा खेलाडी आन्द्रियास ग्रान्क्भिस्ट गतवर्ष स्विडेनको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बलबाट सम्मानित भएका थिए। 

२००८ को युरोपियन च्याम्पियनसिपमा स्विडिस टोलीमा भए पनि उनी समूह चरणका तीन वटै खेलमा बैकल्पिक खेलाडीका रुपमा बेन्चमा सिमित भएका थिए । तर २०१६ मा आइपुग्दा स्विडिस फुटबलमा उनको प्रभाव निक्कै विस्तार भइसकेको थियो । युरो २०१६को समाप्तीसँगै ज्लाटान इब्राहिमोभिचले संन्यास लिएपछि आन्द्रियास ग्रान्क्भिस्टलाई टोलीको कप्तान नियुक्त गरियो। 

स्विडिस राष्ट्रिय टोलीका लागि ६९ खेल खेलेका आन्द्रियास ग्रान्क्भिस्ट रक्षक भए पनि उनले अगाडि बढेर ६ गोल गर्न भ्याइसकेका छन् । रक्षापंक्तिमा सही सुझबुझपूर्ण निर्णय गर्नुका साथै तिब्र गतिका कारण उनीबाट धेरै भर गरिन्छ । ३३ वर्षको उमेरमा राष्ट्रिय टोलीलाई रुसमा नेतृत्व गर्ने तयारीमा रहेका आन्द्रियास ग्रान्क्भिस्टबाट स्विडिस समर्थकले ठूलो आशा गर्नेछन्।

 

यसमा तपाईको मत