अर्जेन्टिनामा परिवर्तन आवश्यक

नेपाली नजरमा
मङ्गलबार, १२ असार २०७५, ०४ : ०१ नागरिक

आयोजक रूसले पहिलो दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ८ गोल गरिसकेको थियो । ठीक विपरीत दक्षिण अमेरिकी टोली उरुग्वेले पहिलो दुई खेलमा संघर्षपूर्ण जित निकालेको थियो । त्यसैले पनि सबैले सोमबार भएको खेलमा आयोजक रूस हाबी हुने अनुमान गरेका थिए । तर फुटबलमा सधैं सोचेजस्तो हुँदैन । हामीले यो बिर्सनु हुँदैन कि रूस जारी विश्वकपको सबैभन्दा ‘अन्डर डग’ र फिफा वरीयतामा सबैभन्दा तल रहेको टोली हो ।

पहिलो दुई खेलबाट उत्कृष्ट लय लिइसकेको अवस्थामा पनि सोमबार उरुग्वेविरुद्ध रक्षात्मक रणनीति अपनाउनु आयोजकका लागि सही नभएको देखिन्छ । समूह विजेता बन्नका जित आवश्यक भएका कारण हुन सक्छ उरुग्वे आक्रामक रणनीतिमै मैदान उत्रिएको थियो । लुइस स्वारेज र इडिसन काभानीजस्ता विश्वस्तरीय फरवार्ड भएकाले पनि उरुग्वेले आक्रामक रणनीति अपनाउनु आवश्यक थियो।

उरुग्वे आक्रामक शैलीमा उत्रिँदा रूस रक्षात्मक बन्नुको फाइदा दक्षिण अमेरिकी टोलीले लिन सफल भयो । खेलको सुरुमै पेनाल्टी एरियाबाहिर पाएको फ्रिकिकमा स्वारेजले उत्कृष्ट गोल गरे । जुन स्वारेजको जारी प्रतियोगितामा व्यक्तिगत दोस्रो र विश्वकपको सातौं गोल हो । लगत्तै आत्मघाती गोल खानुका साथै इगोर स्मोलनिकोभले दोस्रो पहेंलो (रातो) कार्डको सामना गर्नु रूसका लागि दुर्भाग्य बन्यो । दश खेलाडीका बावजुद पनि घरेलु मैदानमा दर्शकको साथ पाएको रूसले दोस्रो हाफमा राम्रो खेल्ले प्रयास गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । संख्यात्मक रूपमा कम हुनुको मर्का रूसले बेहोर्नुपर्यो ।

साउदी अरेबिया र इजिप्टबीचको खेल प्रतिष्ठाको लडाइँ मात्र थियो । साउदी अरेबियाले पहिलो खेलमा ५–० ले पराजित भए पनि दोस्रो खेलमा पुनरागमनको प्रयास गरेको थियो । त्यस कारण एसियाली फुटबलको स्तर आफ्नो छवि सुधार्नका लागि औचित्यहीन खेल पनि साउदी अरेबियाका लागि महत्वपूर्ण थियो ।

विश्वकै चर्चित इङ्लिस प्रिमियर लिगको उत्कृष्ट फरवार्ड मोहम्मद सालाहका कारण पनि इजिप्टबाट धेरैले आशा गरेका थिए । तर पहिलो खेलमा बेन्चमा बसेका सालाहले त्यसपछिका दुवै खेलमा गोल गर्दे आफूलाई प्रमाणित गर्ने प्रयास गरेका छन् । इजिप्टले ‘ओपन प्ले’ मा १९९३ पछि पहिलो गोल गर्न सफल भएको छ । अन्तिम समयमा गरेको गोलमा २–१ को सान्तवना जित निकाल्दै साउदी अरेबियाले छबी सुधार्दै रुस भ्रमण टुंगाएको छ ।

जारी विश्वकपमा कोलम्बिया दक्षिण अमेरिकाको उत्कृष्ट टोली हो । तर दुर्भाग्यवश पहिलो खेलमा जापानविरुद्ध सुरुमै रातो कार्डको सामना गर्दा कोलम्बियाले २–१ को हार बेहोर्नुपरेको थियो । सोमबार कोलम्बियाको प्रतिद्वन्द्वी पोल्यान्ड पनि पहिलो खेलमा ‘अन्डर डग’ अफ्रिकी टोली सेनेगलसँग पराजित भएको थियो । त्यसैले दुवै टोलीका लागि दोस्रो खेल अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्नका लागि महत्वपूर्ण खेलका रूपमा रहेको थियो।

दुवै टोलीले आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गरेका थिए । दक्षिण अमेरिकी टोली कोलम्बियाले सबैको अपेक्षाअनुरूप गत सिजन बायर्न म्युनिखबाट खेलेका हामेस रोड्रिग्वेजलाई पहिलो रोजाइमा खेलाएको थियो । अघिल्लो संस्करणको विश्वकपमा गोल्डेन बुट जित्न सफल रोड्रिग्वेज टोलीमा हुनुको प्रभाव प्रत्यक्ष देखिएको थियो।

४–२–३–१ को आक्रामक शैलीमा खेलेको कोलम्बियालाई प्रोत्साहित गर्न सर्वकालीन महान् गोलकिपर रेने हिगुइटा पनि मैदान पुगेका थिए । यसबाट कोलम्बियालाई जित कति आवश्यक र महत्वपूर्ण थियो भन्ने प्रमाणित हुन्छ । आवश्यकताअनुरूप कोलम्बियाका सबै पक्षले राम्रो प्रदर्शन गरेका थिए।

३–४–३ को आक्रामक शैलीमै खेलको विपक्षी पोल्यान्डले भने सोचेअनुरूप खेल्न सकेन । त्यसको फाइदा लिँदै कोलम्बियाले पहिलो हाफमै अग्रता लिन सफल भयो । दोस्रो हाफमा पनि दुवै टोलीको रणनीतिमा खासै परिवर्तन देखिएन । यस्तो महŒवपूर्ण खेलमा टोलीहरूले जुनसकै सर्तमा जित्न चाहन्छ जसले गर्दा फर्मेसन गौण बन्न पुग्छ । खेलअवधिभर खासै पोल्यान्डले गल्ती नगरे पनि कोलम्बिया आफंैले उत्कृष्ट मुभ बनाउँदै दोस्रो हाफमा दुई गोल थप्न सफल भयो । यस जितसँगै कोलम्बियाका लागि अर्को चरण पुग्ने ढोका खुला भएको छ भने पोल्यान्ड अप्रत्याशित रूपमा समूहचरणबाटै बाहिरिएको छ।

समूहचरणको अन्तिम खेलमा जापानले पोल्यान्डसँग बराबरी गरे मात्र पनि दोस्रो चरण पुग्नका लागि पर्याप्त हुनेछ भने कोलम्बियाले सेनेगललाई पराजित गर्नुपर्नेछ । यदि कोलम्बिया र सेनेगलले बराबरी खेल्नुका साथै पोल्यान्डले जापानलाई पराजित गरे गोलअन्तरका आधारमा कोलम्बिया र जापानमध्ये एक टोली दोस्रो चरणमा पुग्नेछ।

मंगलबार समूह ‘सी’अन्तर्गत फ्रान्सले डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ भने सोही समयमा अस्ट्रेलियाले पेरूसँग खेल्नेछ । पहिलो २ खेल जित्दै फ्रान्सले नकआउट चरणमा स्थान बनाइसकेको छ । स्टार खेलाडीले भरिएता पनि पहिलो दुई खेलमा संघर्षपूर्ण जित हासिल गरेका कारण फ्रान्सले प्रतियोगितामा उपाधि दाबेदारी कायम राख्न डेनमार्कसँगको खेल पनि महत्वका साथ खेल्नेछ।

डेनमार्कलाई अघिल्लो चरण पुग्नका लागि कम्तीमा बराबरी गर्नुपर्ने भएकाले रक्षात्मक रणनीति अपनाउन सक्छ । डेनमार्क राम्रो हुँदाहँदै पनि विश्वस्तरीय खेलाडीको बाहुल्य रहेका कारण नतिजा फ्रान्सको पक्षमा जाने देखिन्छ । सोही समूहको अर्को खेलमा प्रतियोगिताबाट बाहिरिसकेको पेरूविरुद्ध खेल अस्ट्रेलियाका लागि त्यति सहज हुँदैन।

उत्कृष्ट प्रदर्शन गर्दा गर्दै भाग्य आफ्नो पक्षमा नरहेका कारण पेरूले सुरुका दुई खेल गुमाएको हो । त्यसैले अघिल्लो प्रतियोगताबाट बाहिरिसके पनि पेरू एसियाली मुलुक अस्ट्रेलियासँग हार्न चाहँदैन । अस्ट्रेलिया विजयी हुनुका साथै फ्रान्सले डेनमार्कलाई पराजित गरेमा अस्ट्रेलिया र डेनमार्कमध्ये एक टोलीले गोलअन्तरका आधारमा नकआउट चरणमा स्थान बनाउनेछन्। 

समूह ‘डी’अन्तर्गत अर्जेन्टिना र नाइजेरियाबीचको खेललाई विश्वभरका खेलप्रेमीहरूले बहुप्रतीक्षाका साथ हेरिरहेका छन् । विश्वप्रख्यात लियोनल मेसीको अर्जेन्टिनालाई प्रतियोगिता टिकिरहनका लागि नाइजेरियालाई हराउनुको विकल्प छैन । त्यतिले मात्र उसलाई पुग्दैन । समूहको अर्को खेल क्रोएसिया र आइसल्यान्डबीचको नतिजा पनि आफ्नो पक्षमा आउनु जरुरी छ।

विश्व फुटबलमा इतिहास बोकेको अर्जेन्टिनाले क्रोएसियाविरुद्ध जुन टोली उता¥यो त्यसमा परिवर्तन गर्नु आवश्यक देखिन्छ । एन्जेल डी मारिया, पाब्लो डिबालाजस्ता खेलाडीहरूलाई सुरुआती लाइनअफमा खेलाउनुका साथै मेसीलाई अग्रपंक्तिमा खुलेर खेल्न दिनु आवश्यक छ । १२ वर्षपछि टोलीमा फर्किएका ३६ वर्षे गोलकिपर विले काबालेरोलाई पनि परिवर्तन गर्दा अर्जेन्टिनाका लागि फलदायी बन्नेछ।

आइसल्यान्डविरुद्ध दुई गोल गरेपछि लेस्टर सिटीका फरवार्ड अहमद मुसाको मनोबल पनि बढेको छ । अर्जेन्टिनाका रक्षकलाई मुसालाई रोक्नु हम्मे पर्ने देखिन्छ । तुलनात्मक रूपमा युवा खेलाडीहरूको बाहुल्यता रहेको नाइजेरिया पहिलो खेलमा क्रोएसियाविरुद्ध राम्रो खेल्दाखेल्दै पनि आत्मघाती र पेनाल्टी गोलका कारण नतिजा गुमाएको थियो।

नाइजेरियाले गत वर्ष नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालाई ४–२ ले पराजित गरेको थियो  । मंगलबार नाइजेरियालाई बराबरी गरे मात्र पनि अघिल्लो चरण पुग्नका लागि पर्याप्त हुन्छ । त्यसैले नाइजेरियाभन्दा अर्जेन्टिना बढी दबाबमा हुनेछ । तथापि पहिलो दुई खेलमा नामअनुसार प्रदर्शन गर्न नसकेका मेसीको जादु चलेमा अर्जेन्टिनाले जस्तोसुकै नतिजा निकाल्न सक्छ।

क्रोएसिया अघिल्लो चरण प्रवेश गरिसकेका कारण आफ्नो महत्वपूर्ण खेलाडीहरूलाई आराम दिएमा त्यसको फाइदा आइसल्यान्डले उठाउन पनि सक्छ । अर्जेन्टिना र आइसल्यान्डजे विजयी नतिजा निकाले गोलअन्तरका आधारमा एक टोली क्रोएसियासँगै अघिल्लो चरण पुग्नेछ।

यसमा तपाईको मत