असाधारण एमबाप्पे, दुर्लभ खेल

नेपाली नजरमा
आइतबार, १७ असार २०७५, २३ : ५८ नागरिक

अर्जेन्टिनाले फ्रान्सको शक्ति राम्ररी बुझेको थियो । त्यसैले उनीहरू आज ४–३–२–१ को शैलीमा उत्रिए । रक्षात्मक जिम्मेवारीमा तीन मिडफिल्डर उतारेर अर्जेन्टिनाले सुरक्षित फुटबल खेल्न खोजेजस्तो देखियो।

फ्रान्स पनि आफ्नो क्षमतामा विश्वस्त थियो । त्यसैले उनीहरूले ४–३–३ को आक्रामक रणनीतिमा अर्जेन्टिनासँग खेले। अर्जेन्टिनाले आफ्नो पोस्ट सुरक्षित राखेर आक्रमणको नीति लिँदा फ्रान्स आक्रमणमा अलआउट भयो।

समग्रमा यो विश्वकपको एउटा असाधारण खेल रह्यो । यस्तो खेल सधैं हेर्न पाइन्न । दुवै टिममा हरेक खेलाडीले आआफनो पोजिसनमा न्याय गरेका छन् । अर्जेन्टिना पक्कै पनि यो खेलमा अन्डरडगको हैसियतमा थियो । तर नाइजेरियाविरुद्ध समूहचरणको अन्तिम खेलबाट सुधार सुरु गरेको अर्जेन्टिनाले त्यसलाई निरन्तरता दियो । उनीहरूले त्यही सुधारको क्रमलाई कायम राख्दा आफूहरू विश्वको शीर्ष स्तरीय टिम भएको प्रमाण दिए।

कागजमा फ्रान्स जितको स्पष्ट दाबेदार थियो । तर अर्जेन्टिनाले अन्तिम १६ को खेलमा नाटकीय सुधार गर्दा फ्रान्समाथि सबै पक्षमा हाबी भयो । अर्जेन्टिनाले बल पोसेसनमा ५९ प्रतिशत नियन्त्रण राखेको थियो । विपक्षी पोस्टमा पनि उनीहरूकै प्रहार बढी रह्यो । फ्रान्सले एउटै कर्नर नपाउँदा अर्जेन्टिनाले चार पटक कर्नर पाएको थियो । तर एनगोलो कान्टे, पाउल पोग्बा, सामुइल उम्टिटीलगायत फ्रान्सको रक्षापंक्तिको जब्बर प्रदर्शनका कारण दक्षिण अमेरिकी टोली सफल भएन । फ्रान्सका सबै खेलाडीले नामअनुसारको प्रदर्शन गरे।

प्राविधिक अनुशासनको हिसाबमा यो खेल ऐतिहासिक रह्यो । पूरा खेलमा अर्जेन्टिनाको एक पटकबाहेक अफसाइड भएन । अर्जेन्टिनाले १० पटक विपक्षी पोस्टमा प्रहार गर्दा तीन पटक गोल भयो भने चार पटक फ्रान्सका गोलकिपर हुगो लोरिसले जोगाए । फ्रान्सले ९ पटक आक्रमण गर्दा चार गोल गर्न सफल भयो । दुवै टिमका खेलाडीहरूले यो खेलमा अत्यन्तै सुन्दर पास खेले । जसका कारण हरेक बल गोल होलाजस्ता खतरनाक देखिए । साथमा दुवै टिमका खेलाडीले अति ढुक्क नभएसम्म पोस्टमा प्रहार गर्न खोजेनन्।

अन्तर्राष्ट्रिय फुटबलमा लियोनल मेसी वर्तमानका सर्वोत्कृष्ट खेलाडी हुन् । उनको जादु चल्यो भने कुनै पनि विपक्षी मैदानमा सफल हुन सक्दैनन् । विश्वभरका अर्जेन्टिनी समर्थकले उनीबाट शनिबार मेसी म्याजिकको अपेक्षा गरेका थिए । तर मेसीबाट औसतभन्दा माथिको प्रदर्शन भए पनि जादुका लागि भने सफल भएनन्।

कान्टे, पोग्बा र उम्टिटीका लामा खुट्टाले फल्स नाइन पोजिसनमा खेलेका मेसीलाई रोकिरहे । कान्टेले तीव्र गतिकै भरमा मेसीलाई रोकिरहे । फुटबलमा कहिलेकाहीँ प्रतिभामाथि शारीरिक बनोट हाबी हुन्छ भन्ने कुराको यो खेल उदाहरण रह्यो । मेसीबाट अर्जेन्टिनी समर्थकले अपेक्षा गरेजस्तो प्रदर्शनचाहिँ फ्रान्सका लागि किशोर फरवार्ड किलियन एमबाप्पेले गरे।

एमबाप्पेले पहिलो २० मिनेटमा नै गोलको तीनवटा अवसर सिर्जना गरेका थिए । त्यसमध्ये एउटा पेनाल्टी मात्र सफल भयो । तर चितुवाको जस्तो गति र माछाको जस्तो चालले पूरै खेलभरि निरन्तरता पायो । त्यही कारण उनी दोस्रो हाफमा दुई गोल गर्न सफल भए । १९५८ मा पेलेपछि विश्वकपको एकै खेलमा दुई गोल गर्ने उनी पहिलो किशोर बन्न सफल भए । थुप्रै परिपक्व खेलाडीको बीचमा यी युवाको प्रदर्शन अर्जेन्टिनाविरुद्ध साँच्चै असाधारण भयो।  

एन्जेल डी मारियालाई नाइजेरियाको खेलदेखि अर्जेन्टिनाले पहिलो रोजाइमा खेलायो । त्यसको फल फ्रान्सविरुद्ध पनि देखियो । उनले पहिलो हाफमै लामो दूरीबाट दर्शनीय गोल गरेर खेल बराबरीमा ल्याए । गोल गरेपछि उनको आत्मविश्वासमा पनि उल्लेख्य वृद्धि भयो । हरेक पटक उनले विपक्षी पेनाल्टी बक्सभित्र फ्रान्सका बलिया रक्षकलाई पनि दबाबमा राखिरहे । अर्जेन्टिनालाई यो खेलमा असाधारण पुनरागमनको सम्भावनानजिक पुर्याउन उनको प्रदर्शन महत्वपूर्ण रह्यो । साथमा मिडफिल्डर हाभियर मास्चेरानो र रक्षापंक्तिका निकोलस ओटामेन्डीको प्रदर्शनमा शनिबार कमान्ड थियो।

६८ मिनेटमा ४–२ को सहज अग्रता लिएपछि फ्रान्सले खेल सकिएको ठान्यो । तर अन्तिम समयमा डिडियर डेसच्याम्पसले आक्रमणमा सबभन्दा प्रभावकारी देखिएका एमबाप्पे र एन्टोनी ग्रिजम्यानलाई परिवर्तन गरे । ग्रिजम्यानलाई ८३औं मिनेटमा परिवर्तन गरेपछि अर्जेन्टिना खेलमा फर्किन थाल्यो।

अझ ८९औं मिनेटमा एमबाप्पेलाई पनि बेन्चमा फर्काएपछि अर्जेन्टिना खेलमा पूरा हाबी भयो । त्यसैको फलस्वरूप चार मिनेट थपिएको इन्जुरी समयमा अर्जेन्टिनाका लागि वैकल्पिक खेलाडी सर्जियो अग्विरोले तेस्रो गोल गरे । त्यसपछि म्याक्सिमिलियानो मेजा र डी मारियाले गोलको राम्रो मौका पाएका थिए । तिनमा फ्रान्स भाग्यमानी साबित भयो । अन्यथा नतिजा जे पनि हुन सक्थ्यो । त्यसो भएको भए डेसच्याम्पसको ग्रिजम्यान र एमबाप्पे परिवर्तन गर्ने निर्णयको मूल्य महँगो हुन सक्थ्यो।

यसमा तपाईको मत