एसियाको स्तर वृद्धि

नेपाली नजरमा
बिहिबार, २१ असार २०७५, १३ : ३९ नागरिक

इङ्ल्यान्डलाई आधुनिक फुटबलको जन्मदाता मानिन्छ । विश्व फुटबलमा अझै पनि बेलायतीहरूको दबदबा कायमै छ। फुटबलको नियम ‘लज अफ दी गेम’ पनि बेलायतीहरूले नचाहेसम्म परिवर्तन हुँदैन। किनकि अन्तर्राष्ट्रिय फुटबल एसोसियन बोर्ड (आएफएबी) मा बेलायत (इङ्ल्यान्ड, नर्दन आयरल्यान्ड, वेल्स र स्कटल्यान्ड) का ४ सदस्य छन्। तर विश्वकप फुटबल २१औं संस्करणसम्मको यात्रा तय गर्दा इङ्ल्यान्डले प्रतियोगिताको उपाधि नउचालेको ५२ वर्ष भइसकेको छ।

नब्बेको दशकबाट इङ्ल्यान्डले प्रिमियर लिग सञ्चालन गर्न थालेको हो। अहिले विश्व फुटबलमा त्यसले छुट्टै उचाइ हासिल गरेको छ । संसारका प्रायः सबै खेलाडीको चाहना जीवनमा एक पटक इङ्लिस प्रिमियर लिग खेल्ने हुन्छ । विश्वभरका फुटबलप्रेमीले यसको आनन्द लिइरहेका छन्।

इङ्लिस प्रिमियर लिगकै कारण इङ्ल्यान्डले विश्व फुटबलका थुप्रै स्टार खेलाडीलाई जन्म दियो। प्रिमियर लिगबाटै उदाएका डेबिड बेकह्याम, माइकल ओवेन, स्टेफन जेरार्ड, फान्र्क लाम्पार्ड र जोन टेरीजस्ता खेलाडी त्यसका उदाहरण हुन्। तर यी स्टार खेलाडीको पालामा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा इङ्ल्यान्डले अपेक्षाकृत प्रदर्शन गर्न सकेन। जर्मनीमा सम्पन्न २००६ को विश्वकपमा क्वार्टरफाइनल खेलेपछि इङ्ल्यान्डले अहिलेसम्म क्वार्टरफाइलनमा स्थान बनाउन सकेको छैन।

जारी विश्वकपमा मंगलबार इङ्ल्यान्डले कोलम्बियाविरुद्ध खेल्दा बेलायतीहरूको मात्र नभई सारा विश्वको ध्यान त्यसमा केन्द्रित थियो। समूहचरणमा खासै संघर्ष नगरी नकआउट चरणमा स्थान बनाएका कारण सबैले इङ्ल्यान्डलाई ‘फेबरेट’ टोलीका रूपमा लिएका थिए । दक्षिण अमेरिकी टोली कोलम्बियालाई ‘अन्डरडग’ का रूपमा हेरिएको थियो।

२ खेलमा ५ गोल गरेर गोल्डेन बुटको दाबेदार बनेका ह्यारी केनको कप्तानीमा इङ्ल्यान्ड उच्च मनोबलसहित मैदान छिरेको थियो। फुटबलमा कुनै पनि टोलीले सधैं एकनाशको लयमा खेल्न सम्भव हुँदैन। त्यस कारण हुन सक्छ इङ्ल्यान्डले कोलम्बियाविरुद्ध अपेक्षाकृत प्रदर्शन गर्न नसकेको देखिन्छ। कोलम्बिया आफ्ना स्टार खेलाडी हामेस रोडरिग्वेजबिना खेल्दा इङ्ल्यान्डका प्रशिक्षक साउथगेटले आफ्ना स्टार खेलाडीलाई मैदान उतारेका थिए।

३–५–२ ‘फर्मेसन’मा खेलेको इङ्ल्यान्डले ४–३–२–१ को ‘फर्मेसन’ मा उत्रिएको कोलम्बियाविरुद्ध खासै आक्रमण बुन्न सकेन। फलस्वरूप पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेले। इङ्ल्यान्डले धेरै गलत पास र आपसी तालमेल नमिलाउँदाको फाइदा कोलम्बियाले उठाइराखेको थियो। इङ्ल्यान्डले जस्तै कोलिम्बयाले पोल्यान्ड र सेनेगलविरुद्ध खेलेजस्तो प्रदर्शन गर्न सकिरहेको थिएन। कोलम्बिया आफंैले दबाब महसुस गरेजस्तो देखिन्थ्यो।

कोलम्बियाका कार्लोस सान्चेजले ह्यारी केनलाई पेनाल्टी एरियाभित्र खराब फाउल गरेपछि इङ्ल्यान्डले पेनाल्टी अवसर पायो। त्यहींबाट इङ्ल्यान्डको भाग्य खुल्यो। एक गोलको अग्रता लिँदाको अवस्थामा पनि इङ्ल्यान्डले प्रभावशाली प्रदर्शन गर्न सकेन। त्यसैको फाइदा उठाउँदै कोलिम्बयाले इन्जुरी समयको तेस्रो मिनेटमा बराबरी गोल फर्कायो। कोलम्बियाले पाएको पहिलो कर्नरमै यरी मिनाले हेड गोल गरेका हुन्। थपिएको ३० मिनेटमा पनि इङ्ल्यान्डले गोलका थुप्रै अवसर सिर्जना गरेर कोलम्बियाको रक्षापंक्ति तोड्न सकेन।

खेल टाइब्रेकरसम्म लम्बिएपछि सबैले इङ्ल्यान्ड पराजित हुने अनुमान गरेका थिए। इङ्ल्यान्डको विगतले पनि त्यो अनुमानलाई पुष्टि गथ्र्यो। विश्वकपमा इङ्ल्यान्ड तीन पटक टाइब्रेकरमा पराजित भएर घर फर्किएको इतिहास छ । टाइब्रेकरमा गोलकिपरको भूमिका मत्वपूर्ण हुन्छ। आर्सनलबाट खेल्ने कोलम्बियाका गोलकिपर असपिना इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफर्डभन्दा अनुभवी थिए। लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले तेस्रो पेनाल्टी गुमाउँदा इङ्ल्यान्डले इतिहास दोहोर्याउने संकेत दिएको थियो। इङ्ल्यान्डका समर्थकलाई पनि त्यस्तै लागेको थियो। तर, कोलम्बियाको चौथो पेनाल्टी क्रसबारमा लागेर फर्किनु र पाँचै पेनाल्टी गोलकिपर पिकफर्डले उत्कृष्ट बचाउ गरेपछि इङ्ल्यान्डको आशा पलायो। निर्णायक पेनाल्टी हान्न आएका इरिक डायरले गोल गरेपछि इङ्ल्यान्ड नयाँ इतिहास रच्न सफल भयो।

१९३८ को संस्करणपछि एसियाली टोलीले विश्वकपमा सहभागिता जनाउँदै आएको छ। पहिलो पटक ‘डच इस्ट इन्डिज’ का नाममा इन्डोनेसियाले विश्वकपमा सहभागिता जनाएको थियो। एसियाली टोलीको हैसियत सहभागितामा मात्रै सीमित हुने छ। अपवादका रूपमा १९६६ मा इटालीलाई पराजित गर्दै उत्तर कोरियाले दोस्रो चरणमा स्थान बनाउनु र २००२ विश्वकपको सहआयोजक दक्षिण कोरिया सेमिफाइनल पुग्नु नै एसियाली मुलुकले अहिलेसम्म हासिल गरेको सबैभन्दा ठूलो सफलता हो।

रूस विश्वकपमा एसियाबाट पाँच टोली (साउदी अरेबिया, जापान, इरान, दक्षिण कोरिया र अस्ट्रेलिया) ले सहभागिता जनाएका थिए। उद्घाटन खेलमा साउदी अरेबिया रूससँग ५–० ले पराजित हुँदा यस पटक पनि एसियाली टोलीको हालत पहिलेको जस्तै हुने अनुमान लगाउन थालिएको थियो। तर, सबैको सोचविपरीत एसियाली टोलीले रूसमा कडा चुनौती पेस गर्यो। साउदी अरेबियाले दोस्रो खेलमा उरुग्वेसँगै प्रतिस्पर्धात्मक खेल्दै १–० ले पराजित भयो भने अन्तिम खेलमा मोहम्मद सालाहको इजिप्टविरुद्ध २–१ को नतिजा निकाल्दै साउदी अरेबियाले गुमेको छवि सुधार्न सफल भयो।

अर्को टोली दक्षिण कोरिया मेक्सिको र स्विडेनसँग पराजित भए पनि अन्तिम खेलमा साबिक विजेता जर्मनीलाई हराउँदै सनसनी मच्चाएको थियो। त्यही पराजयबाट जर्मनी ४० वर्षपछि समूह चरणबाटै बाहिरियो भने दक्षिण कोरियाले विश्व फुटबल आफू कमजोर नरहेको साबित गर्यो।

एसियाली छनोट प्रतियोगितामा अपराजित रहँदै विश्वकपमा स्थान बनाएको इरानले पनि समूहचरणमा ४ अंक बटुल्न सफल भयो। पहिलो खेलमा अफ्रिकी टोली मोरक्कोलाई पराजित गरेको इरानले युरोपियन च्याम्पियन पोर्चुगलसँग १–१ को बराबरी खेल्यो। समूहचरणबाटै बाहिरिए पनि इरान स्पेन र पोर्चुगलभन्दा एक अंकले मात्र पछाडि रह्यो।

विश्वकप इतिहासमै पहिलो पटक ‘फेयर प्ले’ बाट अन्तिम १६ मा प्रवेश गरेको जापान अन्तिम १६ मा बेल्जियमसँग ३–२ ले स्तब्ध हुँदै प्रतियोगिताबाट बाहिरियो। सकारात्मक फुटबल खेलेको जापानले दुई शून्यको अग्रता जोगाउन सकेन। खेल सकिन १० सेकेन्ड बाँकी रहँदा बेल्जियमलाई नतिजा सुम्पँदै विश्वकपबाट बिदा भएको थियो। जापानका प्रशिक्षक आकिरा निसिनोले सोचेभन्दा पृथक् रूपमा खेलाए। कठिन प्रतिद्वन्द्वीविरुद्ध पनि आफ्नो टोलीलाई स्वाभाविक खेल प्रदर्शन गर्न लगाए। जापानले बेल्जियमलाई समान हैसियतमा राखेर खेलेको थियो। समूहचरणमा पनि जापानले सेनेगलविरुद्ध दुई पटक पछि परेको अवस्थाबाट खेल बराबरी गर्न सफल भएको थियो भने कोलम्बियालाई हराएको थियो। यसले जापानको स्तर माथि उठेको पुष्टि हुन्छ।

अस्ट्रेलियाको प्रदर्शन भने अन्य टोलीको तुलनामा अलि फरक रह्यो। समूहचरणको पहिलो खेलमा फ्रान्सलाई २–१ को नतिजा सुम्पँदा दोस्रो खेलमा डेनमार्कविरुद्ध १–१ को बराबरी खेल्यो। अन्तिम खेलमा सुखद बनाउन खोजेको अस्ट्रेलियाले पेरूलाई २–० को नतिजा सुम्पिँदा समूह चरणबाट घर फर्किनुपरेको थियो।

समग्रमा हेर्दा साउदी अरेबिया रूससँग ५–० ले पराजित हुनुबाहेक अन्य टोलीले प्रतिस्पर्धात्मक नतिजा निकाले। यसले एसियाली टोलीले सकारात्मक फुटबल खेल्ने हो विश्व फुटबलका ठूला राष्ट्रलाई पनि कडा चुनौती दिन सक्छन् भन्ने प्रमाणित भएको छ।

यसमा तपाईको मत