एसियाली टिमको मिश्रित नतिजा

नेपाली नजरमा
बुधबार, ०६ असार २०७५, ०२ : ५५ नागरिक

सञ्जिव मिश्र
विज्ञ नजर
मंगलबारसम्ममा पहिलो चरणका सबै खेल सकिएका छन्। विश्वकपका सहभागि सबै ३२ टोलीले आफ्नो पहिलो खेल खेलिसक्दा केही उतार–चढावपूर्ण दृष्य र स्तब्धतापूर्ण नतिजा देखिए पनि दाबेदारहरुले आफ्नो छविअनुसारको प्रदर्शन गरेका छन्। बराबरीमा सिमित भए पनि ब्राजिल, अर्जेन्टिना र स्पेनको खेलमा खोट लगाउने ठाउँ थिएन। यसैगरी फ्रान्सले अस्ट्रेलियाको चुनौती पन्छाउन मिहिनेत गर्नुपरे पनि अन्तत नतिजा हात पा-यो। पहिलो चरणमा जर्मनी हार्नुलाई चाँही स्तब्धतापूर्ण नतिजा मान्न सकिन्छ। तर त्यसमा पनि जर्मनीको प्रदर्शन कमजोर देखिएको थिएन। मेक्सिकोजस्तो बलियो विपक्षीलाई हेपेर खेल्नाको परिणाम जर्मनीले भोगेको थियो।

दाबेदारहरुले छविअनुसारको प्रदर्शन गर्दा पहिलो चरणमा विश्व फुटबलमा ठूलो नाम भएका सुपरस्टारहरुमध्ये क्रिस्टियानो रोनाल्डोले आफूलाई अब्बल साबित गरे। यसैगरी नवप्रवेशीमध्ये आइसल्यान्डको प्रदर्शन सनसनीपूर्ण रहयो। युरोपको एउटा सानो देशले पछिल्लो चार वर्षयता खेल्दै आएको जब्बर फुटबललाई विश्वकपमा पनि निरन्तरता दिँदा दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भयो। यसैगरी पहिलो पटक विश्वकप खेलेको अर्को देश पानामाको प्रदर्शन पनि उत्साहजनक थियो। बेल्जियमजस्तो स्टार खेलाडीले भरिपूर्ण टोलीलाई पहिलो हाफ बराबरीमा रोक्नु पनि उनीहरुको लागि सन्तोष गर्ने ठाउँ थियो।

बेल्जियम, पोर्चुगल, मेक्सिको र इङल्यान्डले पहिलो चरणको समाप्तीमा आफूलाई पनि दाबेदारको सुचीमा राखे। इङल्यान्डले ट्युनिसियाविरुद्धको खेल पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राखे पनि विपक्षी गोलमाउथमा प्रभावकारी हुन नसक्दा मात्र २–१ को जितका लागि अन्तिम मिनेट पर्खिनुपरेको थियो। अन्यथा यसपाली कम हल्ला–खल्लाको भरमा रुस पुग्दा इङल्यान्डले राम्रो प्रदर्शनबाट सुरुआत गर्नु सुखद रहयो।

एसियाली टिमहरुको छवि विश्व कपमा खास राम्रो हुने गरेको थिएन। यसपाली पनि त्यसमा उल्लेख्य सुधार हुन सकेन। पहिलो चरणमा एसियाली फुटबल महासंघ (एएफसी)लाई प्रतिनिधित्व गर्ने पाँचमध्ये दुई टिमले जित हासिल गर्दा तीन टोली हारको सिकार भए। उदघाटन खेलमै आयोजक रुसको सामना गरेको साउदी अरेबियाले ५–० को फराकिलो हार स्विकार्दा एसियाली टोलीको सुरुआत राम्रो हुन सकेन। अस्ट्रेलियाको पहिलो खेल पनि उपाधिकै मुख्य दाबेदारमध्ये एक फ्रान्ससँग थियो। जहाँ भुगोलमा छुट्टै भए पनि फुटबलमा एसियाको प्रतिनिधित्व गर्ने अस्ट्रेलियाले विश्वकै उत्कृष्ट स्टारहरुले भरिएको फ्रान्सलाई कडा चुनौती प्रस्तुत ग-यो। दक्षिण कोरिया स्विडेनसँग भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सिकार भयो। इरान र जापानले भने पहिलो चरणमा सुखद सुरुआत गरे।

इरानले मोरक्कोसँग विजयी सुरुआत गर्नु अपेक्षित नतिजा थियो। छनोट चरणमा अपराजित रहँदै ९ म्याचसम्म गोल नखाएको छविलाई टोलीले विश्वकपको पहिलो खेलमा पनि कायम राख्यो। मोरक्कोलाई १–० को नतिजामा हराउनु इरानका लागि भाग्यको नतिजा थिएन। शारिरिक रुपमा बलिया र अधिकांस युरोपबाट खेल्ने खेलाडीको बाहुल्य रहेको मोरक्कोविरुद्ध इरानले स्तरीय फुटबल र मिहिनेतको फल पाएको थियो। उमेर समूहमा युरोपका विभिन्न देशबाट खेले पनि सिनियर राष्ट्रिय टिममा पर्ने सम्भावना कम भएपछि मोरक्को रोजेका खेलाडीको समूहलाई एसियाली टिमले हराउनु सानो बहादुरी थिएन।

जापानको विजयी कथा भने फरक रहयो। अघिल्लो संस्करणमा क्वार्टरफाइनलसम्मको सनसनीपूर्ण यात्रा गरेको दक्षिण अमेरिकी टोली कोलम्बियामाथि जापानको जित खेल अघिसम्म धेरैले अपेक्षा गरेका थिएनन्। आर्सनलका गोलकिपर डेविड ओस्पिना, क्रिस्टियन जापाटा, हामेस रोडरिग्वेज, राडामेल फाल्काओ,  कार्लोस बाका,  हुँवा क्वार्डाडोजस्ता खेलाडी भएको टिममाथि जापानले भाग्यशाली नतिजा निकाल्यो। अधिकांस घरेलु लिगकै खेलाडीको भरमा जापानले जित हासिल गर्दा तेस्रो मिनेटमै कोलम्बियाका कार्लोस सान्चेजले रातो कार्ड र आफूले पेनाल्टी पाउनुले ठूलो भूमिका निर्वाह ग-यो ।

शिन्जी कागावाको सर्ट हातले रोकेवापत सान्चेजले रातो कार्ड र जापानले पेनाल्टी पाएको थियो। छैटौं मिनेटमै जापानले पेनाल्टीबाट खेलमा अग्रता लियो र विपक्षी टोली १० खेलाडीमा सिमित भयो। यस्तो प्रतिस्पर्धात्मक खेलमा झण्डै पूरा अवधि एक खेलाडी कम भएको विपक्षीसँग खेल्न पाउनु ठूलो फाइदाको विषय हो। जापानले त्यसको भरपूर उपयोग ग-यो । १० जनामा सिमित हुनाका बावजुद कोलम्बियाले पहिलो हाफमा खेल आफ्नो नियन्त्रणमा राख्यो। कोलम्बियाले आफ्नो क्षमता प्रमाणित गर्न जोशमा खेल्दा पहिलो हाफमा गोल फर्काउन त सक्यो। तर१० जनाले ११ जनासँग हावी भएर खेल्दा दोस्रो हाफसम्ममा कोलम्बियाका खेलाडी थाकिसकेका थिए। थकित कोलम्बियाली टोली १–१ को बराबरीमै सन्तुष्ट हुने मानसिकतामा देखिन्थे। उनीहरुको खेल शैलीले त्यही भनिरहेको थियो। जापानलाई त्यसको पनि फाइदा पुग्यो। दोस्रो हाफमा त्यहीअनुसार जापानले धेरै अवसर सिर्जना गर्र्दै आवस्यक एक गोल थपेर जित हासिल ग-यो।  

चार वर्षअघि ब्राजिलमा कोलम्बियाले समूह चरणमा भेट हुँदा जापानलाई ४–१ को नतिजामा हराएको थियो। त्यतिबेला चोटका कारण टिममा नरहेका प्रेरणादायी स्ट्राइकर राडामेल फाल्काओ पनि यसपाली कप्तानका रुपमा आक्रमणको नेतृत्व गरिरहेका थिए। त्यही कारण हुन सक्छ, कोलम्बियाले जापानलाई धेरै बलियो प्रतिद्वन्द्वीका रुपमा लिएन र हामेस रोडरिग्वेजजस्ता खेलाडीलाई बेन्चमा राखेर खेल सुरु ग-यो। हामेसजस्ता खेलाडी पहिलो रोजाइमै भएको भए सुरुमै खेलको नतिजा उल्टन सक्थ्यो भन्ने अपेक्षा गर्न सकिन्छ।

भाग्यशाली जितबाट जापानको आगामी चरण पुग्ने सम्भावना व्यवहारिक रुपमा वृद्धि हुँदा कोलम्बिया अप्ठेरोमा पर्न सक्छ। पहिलो खेलमा सबै टिमसामू अंक गुम्दा पनि नकआउट चरण पुग्ने आधार भत्किदैनथ्यो। तर पहिलो खेलमा अंक गुमाएकाका लागि अब बाँकी खेलमा गल्ती दोहो-याउने छुट हुने छैन। त्यसैले दोस्रो चरणमा जर्मनी, स्पेन, अर्जेन्टिना, ब्राजिललगायतका दाबेदारले आक्रमणमा ध्यान एकोहोरो नपारी पूरा मैदान कभर गरेर सन्तुलित फुटबल खेल्ने अनुमान गर्न सकिन्छ।

यसमा तपाईको मत