बाजियोले पेनाल्टी मिस गरेको फाइनल

शनिबार, १९ जेठ २०७५, १४ : २५ नागरिक

अमेरिकाले फिफा विश्वकपको इतिहासमा कहिल्यै नभएको तामझामपूर्ण पारामा १५औं संस्करण आयोजना गर्याे। यो त्यही प्रतियोगिता थियो, जहाँ ब्राजिलले उपाधिका लागि १९७० देखिको लामो प्रतीक्षामा पूर्णविराम लगायो । इटालीविरुद्धको फाइनलमा ब्राजिलले पेनाल्टी सुटआउटमा बाजी मारेको थियो।

निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा टुंगिएपछि खेल निर्णयार्थ टाइब्रेकरमा रोबर्टो बाजियोले पेनाल्टी खेर फालेपछि इटाली विपक्षीलाई उपाधि सुम्पिन बाध्य भएको थियो । त्यसअघि बाजियोकै नायकत्वमा इटालीले फाइनलसम्मको यात्रा तय गरेको थियो ।

यो संस्करणमा धेरै गोल भयो । १ सय ४१ गोल १९८२ पछि सर्वाधक गोलको तथ्यांक थियो । यसअघिका १६ विश्वकप खेलमा एउटै विजय पाउन नसकेको बुल्गेरियाले जर्मनीलाई हराएर सेमिफाइनल पुग्यो । १९८६ का नायक डिएगो म्याराडोना लागूऔषध परीक्षणमा दोषी साबित भएर प्रतियोगिताबाट बाहिरिएपछि उनको टोली अर्जेन्टिना क्वार्टरफाइनलभन्दा माथि उठ्न असफल भयो । पाँच गोल भएको सनसनीपूर्ण खेलमा जियोर्ज हाजीको रोमानियालाई नतिजा सुम्पँदा अर्जेन्टिनाले चाँडै घर फर्किनुपर्याे।

समूहचरणको खेलमा अमेरिकाविरुद्ध आत्मघाती गोल गरेका कोलम्बियाली रक्षक आन्द्रेज इस्कोबारलाई घर फर्किएपछि गोली हानी हत्या गरिएको थियो । इस्कोबारबाट भएको त्यही आत्मघाती गोलका कारण दक्षिण अमेरिकी टोली कोलम्बिया आश्चर्यजनक रूपमा समूहचरणबाटै बाहिरियो । यही खेलको नतिजाले आयोजक अमेरिकालाई कठिन रूपले दोस्रो चरण पुर्यायो, तर टोली विश्वको सर्वोत्कृष्ट टोली ब्राजिलसँग नकआउट चरणमा १–० ले पराजित भयो ।

बास्केटबल, बेसबल र अमेरिकन फुटबलजस्ता खेलको अपार लोकप्रियता भएको देशमा विश्वकप हुने खबरले धेरै आश्चर्यमा थिए । फिफा अध्यक्ष जाओ हाभेलान्ज फुटबलको लोकप्रियता नभएको देशमा खेलको प्रभाव विस्तार गर्ने उद्देश्यले विश्वकप अमेरिकामा गर्न कम्मर कसेर लागेका थिए । अमेरिकाजस्तो साधनसम्पन्न देशमा फुटबल लोकप्रिय बनाउने उद्देश्यअनुरूप गरिएको विश्वकप पूर्ण रूपमा सफल पनि भयो।

तत्कालीन युरोपेली च्याम्पियन डेनमार्कसहित इङ्ल्यान्ड र फ्रान्सजस्ता टोलीले छनोट चरण नै पार गरेनन् । रूसका ओलेग सालेन्कोले गोल गर्ने उच्च क्षमता विश्व फुटबलको सबैभन्दा ठूलो मेलामा प्रमाणित गरे । क्यामरुनमाथि ६–१ को विजय पाएको खेलमा मात्र उनले पाँच गोल गरे । सोही खेलमा क्यामरुनका लागि एक मात्र गोल गरेका रोजर मिल्लाले फिफा विश्वकपमा गोल गर्ने सर्वाधिक बूढो खेलाडीका रूपमा ४२ वर्ष १ महिना ८ दिनको उमेरको आफ्नै कीर्तिमानलाई पुनर्लेखन गरे।

अर्को अफ्रिकी टोली नाइजेरियाले अन्तिम–१६अन्तर्गत इटालीविरुद्धको खेलमा समय सकिन ९० सेकेन्ड अगाडिसम्म विजय पाउने संकेत गरिरहेको थियो, तर १० जनामा सीमित भइसकेको इटालीका लागि रोबर्टो बाजियोले इन्जुरी समयमा बराबरी तथा थप गरिएको अतिरिक्त समयमा गोल गर्दै जित पक्का गरे । नाइजेरियाका लागि निराशाको कथा रच्ने इटालियन नायक बाजियोले एउटा महान् खेलाडीको झैं प्रदर्शन गरेर टोलीलाई फाइनल पु¥याए । उनैले अन्तिम समयमा गरेको गोलमा इटालीले स्पेनमाथि विजय पायो भने सेमिफाइनलमा उनैले दुई गोल गरेपछि टोली बुल्गेरियालाई हराउन सफल भयो।

जबकि खेलाडीले व्यक्तिगत रूपमा पाउने सबैभन्दा ठूलो एडिडास गोल्डेन बलको पुरस्कार भने ब्राजिललाई विश्वकपको उपाधि जिताउने स्ट्राइकर रोमारियोले पाए । रोमारियो र उनका स्ट्राइक पार्टनर बेबेटोले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दा दुई हात घुमाई गोलको खुसी सन्तान जन्मिएको भनेर मनाए भने सेमिफाइनलमा स्विडेनको यात्रा रोक्दा भएको एक मात्र गोल रोमारियोले नै गरे । तेस्रो भएको स्विडेनको यो १९५८ पछिको सर्वोत्कृष्ट प्रदर्शन थियो।

पासाडेनामा फाइनल १९७० को क्लाइमेक्सकै पुनरावृत्ति थियो । फाइनलमा उत्रेका दुवै टिमले यसअघि समान तीन पटक विश्वकपको उपाधि उचालिसकेका थिए । सिद्धान्तमा यो फाइनल फुटबल समर्थकका लागि स्वर्णिम फाइनल थियो, तर खेल बराबरीमा रोकियो र उपाधिको निर्णय पेनाल्टीबाट भयो, जहाँ बाजियोकै अन्तिम किक खेर गयो । ह्यामस्ट्रिङमा चोट बोकेका बाजियोले पेनाल्टी हान्ने क्रममा सन्तुलन गुमाउँदा उनको प्रहार क्यालिफोर्नियाको नीलो आकाशतिर उचालियो र ब्राजिल २४ वर्षपछि फेरि च्याम्पियन बन्यो।

इतिहासकाे पानाबाट

१९९४, अमेरिका (१५औं विश्वकप)

१९९४ जुन १७ देखि जुलाई १७ सम्म
सहभागी टोली : २४

खेल संख्या : ५२
गोल : १४१ (प्रतिखेल २.७ को औसतमा)

दर्शक : ३५,८७,५३८ (प्रतिखेल ६८,९९१ को औसतमा)
विजेता : ब्राजिल

उपविजेता : इटाली
तेस्रो : स्विडेन

चौथो : बुल्गेरिया
एडिडास गोल्डेन बल : रोमारियो (ब्राजिल)

एडिडास गोल्डेन सु : ओलेग सालेन्को (रूस) र हिस्ट्रो स्टोइचकोभ (बुल्गेरिया)
उत्कृष्ट युवा खेलाडी : मार्क ओभरमार्स (नेदरल्यान्ड्स)

यसमा तपाईको मत