बेकेनबाउरको जर्मनीलाई तेस्रो उपाधि

शनिबार, १९ जेठ २०७५, १५ : २१ नागरिक

सन् १९९० मा पश्चिम जर्मनीले अर्जेन्टिनासँग फाइनलमा भोगेको हारको बदला लिँदै तेस्रो पटक फिफा विश्वकपको उपाधि उचाल्यो। रोममा सम्पन्न फाइनलमा जर्मनीले फाइनल १–० ले जितेको थियो । यो जित फ्रान्ज बेकेनबाउरका लागि सबैभन्दा विशेष थियो । किनकि यो जितपछि उनी खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने दोस्रो व्यक्ति बन्न सफल भए।

यो संस्करणमा सबै फुटबलप्रेमीको चाहनाविपरीत निकै कम गोल भए । प्रतिखेल २.२१ को औसतमा मात्र गोल भयो । गोल कम भए पनि प्रतियोगिताको रंगीन चरित्र र नाटकीय दृश्यमा भने कुनै कमी आएन । उद्घाटन खेलमै विश्वकपकै अप्रत्याशित नतिजा निस्किँदा साबिक विजेता अर्जेन्टिना स्तब्ध बन्नुपर्याे । सान सिरोमा सम्पन्न उद्घाटन खेलमा रोजर मिल्लाको उच्च प्रदर्शनप्रेरित क्यामरुनले अर्जेन्टिनाविरुद्ध सनसनीपूर्ण विजय पायो।

इटालीले विश्वकप आयोजना गरेको दोस्रो अवसर थियो । १९३४ मा घरेलु मैदानमा जितेपछि उपाधिविहीन इटालीको यसपालिको मुख्य लक्ष्य पनि उपाधि खडेरी पुर्नु थियो । इटालीले बारी र टुरिनमा विश्वकपका लागि भनेरनयाँ रंगशाला निर्माण गर्यो । कुल १० सुविधासम्पन्न रंगशालाको उपयोग गरियो । इटालीले जित्ने लक्ष्यका साथ सुरु गरेको अभियानमा सफलता हासिल नगरे पनि टोलीका लागि साल्भाटोर सिलाची नयाँ आशाका रूपमा स्थापित भए । १९९० जुनसम्म एउटै अन्तर्राष्ट्रिय गोल आफ्नो नाममा लेखाउन नसकेका सिलाची विश्वकपपछि इटालियन समर्थकका लागि फुटबल पर्यायमा स्थापित हुन सफल भए।

पहिलो चरण धेरै हदसम्म रोमाञ्चक बन्दा नवप्रवेशी कोस्टारिकाले स्कटल्यान्ड र स्विडेनलाई हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरे । इङ्ल्यान्डका पूर्वरक्षक ज्याक चाल्र्टनद्वारा प्रशिक्षित आयरल्यान्ड गणतन्त्रले विश्वकपको पहिलो सहभागितामै अन्तिम आठसम्मको यात्रा तय गरेर सनसनी मच्चायो । धेरै तटस्थ समर्थकको मन जित्न भने क्यामरुन सफल भयो । ३८ वर्षे स्ट्राइकर रोजर मिल्लाको नायकत्वमा टोलीले उद्घाटनमै अर्जेन्टिनालाई हराएर सुरु गरेको सनसनीपूर्ण यात्रा क्वार्टरफाइनलसम्म पुर्यायो।

भेट्रान फरवार्ड मिल्ला अद्र्धसंन्यासको स्थितिबाट फर्केर इटालीमा खेल्न उपलब्ध भएका थिए । रोमानियाविरुद्ध वैकल्पिक खेलाडी हुँदै मैदान प्रवेश गरेर उनले दुई गोल गर्दा क्यामरुनले दोस्रो चरण पक्का गर्यो। त्यसपछि उनले कोलम्बियाविरुद्ध गोल गर्दै कर्नर झन्डामा गएर खुसी मनाए । विश्वकपको क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी टोलीमा क्यामरुनले नाम लेखाउन सफल भयो । मिल्लाले गोल गरेपछि कर्नर झन्डामा गएर खुसी मनाएको क्षण विश्व फुटबलमा अझैसम्म स्मरणीय छ । क्वार्टरफाइनलमा टोलीले १० मिनेट बाँकीमा इङ्ल्यान्डमाथि २–१ को अग्रता लियो, तर अन्तिम समयमा ग्यारी लिनेकरले पेनाल्टीमा दुई गोल गरेपछि क्यामरुनको सम्भावित सेमिफाइनल यात्रा असफल भयो।

उता पाउल ग्यास्कोइनको क्षमता र प्रतिभाप्रेरित इङ्ल्यान्ड भने क्यामरुनलाई हराएपछि १९६६ पछि पहिलोपल्ट सेमिफाइनल पुग्न सफल भयो । सेमिफाइनलमा चिरप्रतिद्वन्द्वी जर्मनीविरुद्ध भने पेनाल्टीबाट निर्णय भएको खेलमा इङ्ल्यान्डलाई भाग्यले साथ दिएन । पेनाल्टीमा हारेर फाइनल पुग्न वञ्चित भएपछि ग्यास्कोइन रोएको दृश्य अहिलेसम्म पनि विश्वकपको इतिहासमा ताजा नै छ । जर्मनीका लागि भने उपाधि यात्राको बाटोमा यो सबैभन्दा कठिन परीक्षा थियो, जसलाई उसले पार लगायो । इन्टर मिलानका तीन स्टार कप्तान लोथर म्याथुज, योर्गान क्लिन्सम्यान र एन्ड्रेज ब्रेहमेको उपस्थिति सान सिएरो जर्मनीका लागि घरेलु मैदानझैँ थियो । उनीहरूको उच्च प्रदर्शन नै जर्मनीलाई तेस्रो पटक विश्वकप उपाधि दिलाउन महत्वपूर्ण साबित भयो । सान सिएरोमै जर्मनीले पहिलो ५ खेल खेलेको थियो । त्यसमा युगोस्लाभियाविरुद्ध ४–१ को विजय पनि सामेल छ।

इटालीले घरेलु मैदानमा थुप्रै कीर्तिमानका बावजुद उपाधि जित्न नसकेको प्रतियोगितामा नायक बने सिलाची । टोली सेमिफाइनलसम्म पुग्दा रोबर्टो बाजियोले उत्कृष्ट स्मरणीय गोल गरे, गोलकिपर वाल्टर जेंगाले ५ खेलमा एउटै गोल नखाँदा ५ सय १७ मिनेटसम्म विपक्षी फरवार्डलाई निराश पार्न सफल भए । तर उपलब्धिको यो सूचीमा सिलाची विशेष थिए । विश्वकपअघि राष्ट्रिय टोलीका लागि एक मात्र खेल खेलेका उनले यो प्रतियोगितामा ६ गोल गरेर एडिडास गोल्डेन बुट तथा गोल्डेन बलको जिते । दुर्भाग्य, एजेग्लियो भिसिनीको टोलीको घरेलु मैदानमा उपाधि उचाल्ने सपना नेपल्समा सम्पन्न सेमिफाइनलमा अर्जेन्टिनाले पूर्णविराम लगायो।

अर्जेन्टिनाको हकमा डिएगो म्याराडोना अझै यहाँ भए पनि टोली १९८६ को झैं थिएन । त्यही सिजनमा मात्र नेपोलीलाई इटालियन च्याम्पियन बनाएका म्याराडोनाको उपस्थितिले इटालीमा अर्जेन्टिनालाई मन पराउनेको संख्या धेरै भइसकेको थियो । उपाधि रक्षाको लक्ष्यमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्याउन म्याराडोनाभन्दा आक्रमणमा उनका सहयात्री क्लाउडियो क्यानेजिया र गोलकिपर सर्जियो गोएकोचियाको भूमिका बढी रह्यो।

क्यानेजियाले ब्राजिलविरुद्ध उत्कृष्ट गोल गरेर टोलीको यात्रा सहज पारे भने दोस्रो खेलमा खुट्टा भाँचिएका गोलकिपर नेरी पम्पिडोलाई स्थानान्तरण गरेका गोएगोचियाको बचाउ त्यतिखेर विश्वभर चर्चाको विषय बन्यो । गोएगोचियाले ब्राजिलविरुद्ध महत्वपूर्ण बचाउ गरे भने क्वार्टरफाइनलमा युगोस्लाभियाविरुद्ध तथा सेमिफाइनलमा इटालीविरुद्ध पनि उनको प्रदर्शन अर्जेन्टिनाको सफलताको मुख्य कारण बन्यो । सेमिफाइनलमा निर्धारित समयको खेल १–१ को बराबरीमा टुगिंएपछि निर्णायक टाइब्रेकरमा उनले दुई पेनाल्टी बचाएर अर्जेन्टिनालाई फाइनलको बाटोमा डोहोर्याए।

गोएगोचियाले फाइनलमा अगाडि जस्तो प्रदर्शन निरन्तरता दिन सकेनन् । नीरस फाइनलमा ब्रेहमेले ८५औं मिनेटमा पेनाल्टीमा गरेको प्रहार गोएगोचियाले बचाउन नसक्दा त्यही गोल निर्णायक बन्यो । फाइनलमा पराजित हुने टोलीले गोल गर्न नसकेको पहिलो विश्वकप फाइनलमा अर्जेन्टिना प्रतिबन्धका कारण प्रेरणादायी स्ट्राइकर क्यानेजियाबिना नै मैदान उत्रेको थियो । फाइनलमा अर्जेन्टिनाका गुस्ताभो डेजोलीले रातो कार्ड खाएपछि टोली धेरैबेर १० जनामा सीमित भयो । विश्वकपको फाइनलमा रातो कार्ड देखाइएको यो पहिलो थियो । खेलको अन्ततिर अर्जेन्टिनाका पेड्रो मोन्जोनले पनि रातो कार्ड पाए, तर जर्मनीको जितको कारण यतिमै सीमित थिएन । राम्रो टोलीले प्रतियोगिता जितेको थियो । पश्चिम जर्मनीलाई १६ वर्ष कप्तानका रूपमा नेतृत्व दिएपछि बेकेनबाउर प्रशिक्षकको भएर फेरि टोलीको नेतृत्वमा थिए । खेलाडीका रूपमा उपाधि जितिसकेका बेकेनबाउरले प्रशिक्षकमा पनि यो सफलता पाए।

इतिहासकाे पानाबाट

१९९०, इटाली (१४औं विश्वकप)
जुन ३ देखि जुलाई ८ सम्म

टोली संख्या : २४
खेल संख्या : ५२

कुल गोल : ११५ (प्रतिखेल २.३ को औसतमा)
दर्शक : २५,१६,२१५ (प्रतिखेल ४८,३८८ को औसतमा)

विजेता : जर्मनी
उपविजेता : अर्जेन्टिना

तेस्रो : इटाली
चौथो : इङ्ल्यान्ड

गोल्डेन बल : साल्भाटोर सिलाची (इटाली)
गोल्डेन बुट : साल्भाटोर सिलाची (इटाली)

उत्कृष्ट युवा खेलाडी : रोबर्ट प्रोसिनेस्की (क्रोएसिया)
फेयर प्ले : इङ्ल्यान्ड

यसमा तपाईको मत