बेन्जामिन पाभार्ड (फ्रान्स)

फिचर खेलाडी
बुधबार, २० असार २०७५, ०३ : ५४ नागरिक

नामः बेन्जामिन पाभार्ड
जन्मः २८ मार्च, १९९६
पोजिसनः रक्षक
क्लबः लिले (फ्रान्स), भिएफबी स्टुटगार्ट

बेन्जामिन पाभार्ड फ्रान्सेली टोलीका लागि नयाँ अनुहार हुन्। २०१७ को नेभेम्बरमा फ्रान्सले वेल्ससँग मैत्रीपूर्ण खेल खेल्दा प्रशिक्षक डिडियर डेसच्याम्पसले पाभार्डलाई राष्ट्रिय टोलीमा समावेश गरेका थिए।

रूसमा जारी विश्वकपमा पाभार्डले तीन खेल खेलिसकेका छन्। अर्जेन्टिनाविरुद्ध अन्तिम १६ को खेलमा पाभार्डले फ्रान्सका लागि दोस्रो गोल गरेका थिए। पहिलो अन्तर्राष्ट्रिय गोल गरेका पाभार्ड १९९८ पछि गोल गर्ने फ्रान्सका पहिलो रक्षक बनेका छन्। यसअघि लिलियम थुरामले १९९८ मा क्रोएसियाविरुद्धको सेमिफाइलनमा गोल गरेका थिए।

यु–१९, यु–२१ हुँदै राष्ट्रिय टोलीबाट समावेश भएका पाभार्डले फ्रान्सका लागि ९ खेलमा एक गोल गरेका छन्। युथ करियर फ्रान्सको लिलेमा बिताएका पाभार्ड २०१६ पछि जर्मनीको भिएफबी स्टुटगार्टसँग अनुबन्धित भए। पाभार्डले जर्मन क्लबका लागि ५५ खेल खेलिसकेका छन्। भिएफबी स्टुटगार्टका भरपर्दा रक्षक पाभार्डले क्लबका लागि दुई गोल गरेका छन्। मैदानका जुनसकै भागबाट डटेर खेल्न सक्ने पाभार्डले रूसमा पनि आफूलाई सिद्ध गर्दै आएका छन्। फ्रान्सले समूहचरणमा एक गोल मात्र खाएको थियो। फ्रान्सको पोस्ट जोगाउन पाभार्डको भूमिका पनि महत्वपूर्ण रह्यो। शुक्रबार फ्रान्सले विश्वकपको क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध खेल्दा पनि पाभार्डको प्रदर्शन प्रेरणदायी हुने अनुमान गर्न सकिन्छ।

यसमा तपाईको मत