भण्डारीको समर्थन ब्राजिललाई

नेपाली नजरमा
सोमबार, २१ जेठ २०७५, १४ : ५३ नागरिक

काठमाडौं – दुई वर्षअघि भारतको सिलिगुढीमा सम्पन्न चौथो महिला साफ च्याम्पियनसिपमा एकै प्रतियोगितामा १२ गोल गर्दै चर्चाको शिखरमा पुग्न सफल नेपाल महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी घरेलु प्रतियोगिताहरूमा पनि उत्तिकै चर्चित नाम हो।

सन् २०१४ मा भुटानमा सम्पन्न तेस्रो महिला साफ च्याम्पियनसिपमा पाकिस्तानसँगको खेलसँगै राष्ट्रिय टोलीबाट डेब्यु गरेकी उनी त्यसको दुई वर्षपछि सम्पन्न यसै प्रतियोगिताको अर्का संस्करणमा सर्वाधिक गोलकर्ता बनिन् । यस क्रममा उनले भुटानविरुद्ध ६, माल्दिभ्सविरुद्ध ५ र भारतविरुद्ध एक गोल गरेकी थिइन् । सावित्रा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो ह्याट्रिक पूरा गर्ने पहिलो नेपाली महिला खेलाडीसमेत हुन्।

विभागीय क्लब एपिएफलाई गत वर्ष राखेप च्याम्पियनसिप र प्रधानसेनापति कपको उपाधि जिताउने क्रममा पनि सावित्राले आफ्नो दरिलो उपस्थिति देखाइन् । उनले राखेप च्याम्पियनसिपमा २८ र प्रधानसेनापति कपमा १३ गोल गरेकी थिइन् । केही साताअघि मात्र माल्दिभ्समा एकमहिने फुटसल प्रतियोगितामा सहभागी हुँदै नेपाल फर्किएकी सावित्रा हाल एपिएफकै ट्रेनिङमा व्यस्त छिन्।

फुटबलको कुम्भमेला विश्वकप सुरु हुन एक महिनाभन्दाको कम समय बाँकी छ । सावित्रा व्यस्त तालिकाबाट समय झिक्दै साथीभाइ र परिवारसँगै बसेर विश्ककपको मजा लिने सोचमा छिन् । सन् २०१४ को विश्वकपमा जर्मनीको समर्थन गरेकी सावित्राले यस पटक भने ब्राजिललाई समर्थन गर्ने बताइन्।

‘ब्राजिल विश्वकपमा साथीभाइकै लहलहैमा मैले जर्मनीलाई समर्थन गरेकी थिएँ,’ सावित्राले भनिन्, ‘जहाँ जर्मनीले विश्वविजेताको ताज पहिरिन पनि सफल भयो । उक्त समयमा मैले भर्खरै राष्ट्रिय टोलीबाट डेब्यु गर्नुका साथै व्यावसायिक खेलजीवन पनि सुरु गरेकी थिएँ र अन्तर्राष्ट्रिय फुटबलको बारेमा राम्रो ज्ञान थिएन । तर यो चार वर्षको अवधिमा मैले फुटबल खेलका बारेमा धेरै कुरा बुझिसकेँ।’

‘फुटबल खेलमा कुनै एक मात्र खेलाडीको उत्कृष्ट प्रदर्शनमा सुखद नतिजा ल्याउन सम्भव छैन,’ सावित्राले थपिन्, ‘यस खेलमा राम्रोभन्दा राम्रो नतिजा ल्याउन टिम वर्क आवश्यक छ । जुन ब्राजिली टोलीको विशेषता हो । त्यसैले म ब्राजिलले यस पटकको विश्वकप जित्दै प्रतियोगिताको उपाधि संख्या ६ पुर्याउनेमा आशावादी छु।’

क्लब फुटबलमा मन मर्ने क्लब स्पेनिस माहारथी रियाल मड्रिड र मन पर्ने खेलाडी पोर्चुगलका स्ट्राइकर भए पनि सावित्राले विश्वकपमा ब्राजिललाई समर्थक गर्नुको अर्को कारण हुन् पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमार । ‘नेइमारको ड्रिब्लिङ कला मलाई असाध्यै मन पर्छ,’ सावित्राले भनिन्, ‘जो पाएका अवसरलाई सहजै सदुपयोग गर्न सक्षम छन् । एउटा समर्थकमा हुनुपर्ने महŒवपूर्ण विशेषता भनेकै त्यही हो।’

समूह ‘ई’ मा रहेको ब्राजिलले पहिलो खेल जुन १७ मा स्विजरल्यान्डसँग खेल्नेछ भने दोस्रो खेल जुन २२ मा कोस्टारिका र समूहको अन्तिम खेलमा जुन २७ मा सर्बियासँग खेल्नेछ।

यसमा तपाईको मत