विक्रमको शुभकामना पोर्चुगललाई

नेपाली नजरमा
बुधबार, २३ जेठ २०७५, ११ : २६ नागरिक

काठमाडौं – विक्रम लामा नेपाली फुटबलले धेरै आशा गरेका खेलाडी हुन् । नेपाली फुटबलको महारथी रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम मिडफिल्डका भरपर्दा खेलाडी हुन्।

मिहिनेत, अनुशासन र एकरूपको प्रदर्शन यिनको विशेषता हो । वास्तविक पोजिसन रक्षात्मक मिडफिल्डमा भए पनि उनी अवसर सिर्जना गर्नुका साथै प्लेमेकिङमा पनि उत्तिकै क्षमतावान् छन् । झट्ट हेर्दा विक्रमको खेल कलात्मक नदेखिन सक्छ, तर उनी हरेक टिमका मेरुदण्ड हुन् । तीन महिनाअघि धरानमा बुढासुब्बा गोल्डकपको फाइनल खेल्ने क्रममा पुलिसका तेज तामाङसँग जुध्दा उनको खुट्टा ठनक्कै भाँचियो । त्यसयता नेपाली राष्टिय टोलीलाई समेत चिन्तित पार्दै विक्रम मैदानबाहिर छन्।

तीन महिनाको उपचारपछि विक्रमको खुट्टा पूर्ण रूपमा ठीक भइसकेको छ । तर तत्काल नेपालमा कुनै फुटबल प्रतियोगिता नभएकाले उनले मैदान फर्किन हतार गरेका छैनन् । ‘मैदान फर्किंदा पूरा फिट भएर पुरानै अवस्थामा आउन चाहन्छु । अहिले केही प्रतियोगिता छैन, त्यसैले मैले हतार गर्नुपर्ने कारण पनि छैन । अर्को महिनाबाट विश्वकप सुरु हुँदै छ । आराममा रहँदा विश्वकप हुनु मेरा लागि राम्रो हो । विश्वकपबाट केही नयाँ सिक्ने प्रयास गर्नेछु,’ विक्रमले नागरिकसँग भने।

विश्वकपका सबै खेल हेर्ने योजनामा रहे पनि कुनै खास एक टिमलाई उनको समर्थन हुने छैन । ब्राजिललाई रूसमा अर्को महिना हुने विश्वकपको मुख्य दाबेदार मान्ने विक्रमको नजरमा इङ्ल्यान्ड पनि बलियो टोली हो । तर उपाधिचाहिँ क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले जितोस् भन्ने उनको चाहना छ।

‘विश्वकपमा कुनै पनि टिमलाई मेरो सपोर्ट हुने छैन । म खेलाडीलाई सपोर्ट गरेर खेल हेर्छु । कासेमिरो खेल्दा ब्राजिल, टोनी क्रुज खेल्दा जर्मनी, लुका मोड्रिच खेल्दा क्रोएसिया अरू खेलाडीको हकमा पनि त्यस्तै हुन्छ,’ आफ्नै पोजिसनका खेलाडीलाई बढी पछ्याउनुको कारण खुलाउँदै उनले भने, ‘फुटबल भन्नेबित्तिकै रमाइलो त त्यतिकै भइहाल्छ । तर विश्वकपजस्तो महाकुम्भ हेर्दा हामीजस्ता खेलाडीले त्यहाँबाट केही सिक्न सकियो भने फलदायी हुन्छ।’

व्यक्तिगत रूपमा विक्रमलाई रियाल मड्रिडका रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसी सबभन्दा बढी मन पर्छ । ‘यसपालि पोर्चुगलले जितोस् जस्तो लागेको छ । किनकि एउटा राम्रो खेलाडीलाई राम्रो इतिहास पनि भयो भने झनै सुनमा सुगन्ध हुन्छ । रोनाल्डो अत्यन्तै मिहिनेती खेलाडी हुन् । उनले मिहिनेतले नै आफूलाई विश्वमा सर्वोत्कृष्ट बनाएका छन् । उनको इतिहास राम्रो होस् भन्नाका लागि पोर्चुगलले जितोस् भन्ने लागेको छ । रोनाल्डोले युरोपियन च्याम्पियनसिप र च्याम्पियन्स लिग जितिसकेका छन् । अब विश्वकप जिते उनको करियरले पूर्णता पाउनेछ,’ विक्रमले थपे।

यसमा तपाईको मत