विनोदको सहानुभूति पोर्चुगललाई

नेपाली नजरमा
आइतबार, २० जेठ २०७५, १४ : ४३ नागरिक

काठमाडौं – विनोद दास नेपाली क्रिकेटले जन्माएका पहिलो सुपरस्टार हुन् । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद क्रिकेटका ब्रान्ड हुन् । तर उनलाई फुटबल पनि उत्तिकै मन पर्ने खेल हो। 

दशरथ रंगशालामा फुटबल हुन छोडेको धेरै भइसक्यो । केही वर्षअघिसम्म रंगशालामा खेल हुँदा विनोद आक्कलझुक्कल फुटबल हेर्न पुगिरहन्थे । सानैदेखि हेर्ने गरेको इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विनोदको मन पर्ने क्लब हो । स्पेनमा चाहिँ रियाल मड्रिड उनलाई राम्रो लाग्छ । यसै गरी खेलाडीमा रियालका पोर्चुगाली फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी अन्तर्राष्ट्रिय लियोनेल मेसी उनलाई मन पर्छ । मेसी मन पर्ने खेलाडी भए पनि बार्सिलोनालाई भने विनोदले कहिल्यै समर्थन गरेनन्।

रूसमा अर्को महिना सुरु हुने विश्वकपको ज्वरोले पूरा विश्व तातिसक्दा विनोद पनि विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको प्रतीक्षामा छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबल खास पछ्याउन भ्याएका छैनन् । त्यसैले रूस विश्वकपमा पनि उनले समर्थन गर्ने टोलीको टुंगो अझै लगाइसकेका छैनन् । तर विश्वकपका हरेक खेल हेर्न भने उनले छुटाउने छैनन्। 

‘विश्वकपका खेलहरू सबै हेरिन्छ । विश्वकप छनोटका खेलहरूमा मैले फलो गर्न पाइनँ । त्यसैले हेर्दै गएपछि जसको खेल मन प¥यो, उसैलाई समर्थन गर्छु । चार वर्षअघि पनि मलाई जर्मनीको खेल मन पर्दै गयो, उसैलाई समर्थन गरेँ । संयोग जर्मनीले नै उपाधि जित्यो । दुई वर्षअघि युरोपियन च्याम्पियनसिपमा पनि खेल हेरेपछि पोर्चुगललाई समर्थन गरेको, उसैले जित्यो,’ विनोदले भने, ‘यसपालि पनि हेर्दै गएपछि जसको खेल मन पर्याे, उसैलाई समर्थन गर्नेछु । अहिलेसम्म चाहिँ रोनाल्डो मन पर्ने भएकाले पोर्चुगलप्रति मेरो सहानुभूति छ।’

 

यसमा तपाईको मत