ब्राजिललाई पूर्ण समर्थन

नेपाली नजरमा
शनिबार, १९ जेठ २०७५, १५ : २५ नागरिक

काठमाडौं – लुरे शरीरका रविन श्रेष्ठलाई फुटबल खेलाडी भनेर पत्याउन मुस्किल पर्छ । अझ जर्सी लगाएर मैदान छिर्दा त उनी खेल्न नभई फिल्म सुटिङ गर्न गएजस्ता देखिन्छन्।

शारिरिक रूपमा बलियाले खेल्ने फुटबलका लागि उनको शरीर खाइलाग्दो देखिन्न । तर रक्षापंक्तिको बायाँ भागमा यिनै लुरे खेलाडी भएपछि समर्थकलाई समेत पोस्ट सुरक्षित रहने विश्वास हुन्छ । रक्षापंक्तिको आफ्नो भूमिकामा खरो उत्रिने मात्र होइन, ओभरल्यापमा गएर गोलका लागि उत्कृष्ट क्रस गर्न पनि उनी माहिर छन्।

गत वर्ष मार्चमा फिलिपिन्सविरुद्ध भएको एसिया कप छनोटअन्तर्गतको अवे लेगमा दायाँ खुट्टाको लिगामेन्ट च्यातिएपछि रविन आराममा रहेका रविन भर्खर ठीक भएका छन् । ठीक भएर बुटवलमा भएको तिलोत्तमा गोल्डकपमा नेपाल पुलिसको टिमबाट मैदान उत्रिइसके । तर घरेलु फुटबलको सिजन सकिइसकेकाले मैदानमा उनको व्यस्तता अहिले छैन । तथापि सेप्टेम्बरमा बंगलादेशमा हुने १०औं साफ च्याम्पियनसिपका लागि स्वअभ्यासमा रहेका उनी अहिले आसन्न विश्वकपको व्यग्र प्रतीक्षामा छन् । रूसमा जुन १४ बाट सुरु हुने विश्वकपलाई रविनले थप नयाँ टेक्निक सिक्ने अवसरका रूपमा उपयोग गर्ने योजना बनाएका छन्।

‘विश्वकपमा विश्वभरिका सर्वोत्कृष्ट खेलाडीहरूको प्रदर्शन हेर्न पाइन्छ । उनीहरूले सीप प्रयोग गर्ने तरिका हेरेर हामी पनि प्रेरित हुन सकिन्छ,’ ब्राजिलका फ्यान रविनले भने, ‘त्यहाँबाट एउटा मात्र नयाँ टेक्निक सिक्न सकियो भने पनि हामीलाई ठूलो फाइदा मिल्छ ।’ बाबु तौलेश्वरप्रसाद श्रेष्ठसँग बसेर पहिलो पटक जापान र दक्षिण कोरियामा भएको विश्वकप २००२ हेर्दा ब्राजिलले जितेको थियो।

रविनले एन्फा एकेडेमीमा फुटबल खेल्दा धेरै सुनेको नाम रोबर्टो कार्लोसको खेल राम्ररी पहिलो पटक त्यही बेला हेरेका थिए । उनलाई कार्लोसको खेल्ने शैली निक्कै मन पर्याे। कार्लोसकै टिम ब्राजिलले पाँचौं पटक विश्वकप जितेर कीर्तिमान बनायो । अनि रविन सधैंका लागि ब्राजिलको प्रशंसक बने । ‘विश्वकप पहिलो पटक बुबासँग हेरेँ । बुबा ब्राजिलको फ्यान, म पनि बुबाको लहैलहैमा ब्राजिलको फ्यान भएँ । संयोगवश ब्राजिलले पनि उत्कृष्ट फुटबल खेलेर विश्वकप जित्यो,’ रविनले थपे, ‘मलाई ब्राजिलको टिम गेम औधी मन पर्छ । अझ बायाँ भागमा त उनीहरू झनै राम्रा छन्।

लेफ्ट ब्याकका खेलाडी मार्सेलोको खेल हेर्नका लागि विश्वकप मलाई राम्रो अवसर हो ।’चार वर्षअघि घरमै विश्वकप आयोजना गर्दा सेमिफाइनलमा ब्राजिलले इतिहासकै लज्जाजनक नतिजा बेहोर्नुपर्याे। विश्वभरका ब्राजिल समर्थकलाई स्तब्ध पार्दै जर्मनीले ७–१ को नतिजामा ब्राजिलको हुर्मत लियो । रविनको हालत पनि त्यो खेलपछि धेरै दिनसम्म दयनीय भयो । ब्राजिल हार्दा रविनको मन धेरै बेरसम्म धुरुधुरु भयो । ‘अब त्यसलाई बिर्सनुपर्छ । यसपालि ब्राजिलले त्यो पीडासमेत बिर्साएर उपाधि जित्नेछ,’ रविनले मन बुझाए, ‘अहिले ब्राजिलको टोलीमा सबै पोजिसनमा उत्कृष्ट खेलाडी छन् । सबै खेलाडी राम्रो फर्ममा पनि छन् । त्यसैले ब्राजिलले छैटौं पटक विश्वकप जित्नेमा म विश्वस्त छु।’

यसमा तपाईको मत