ब्राजिलमा प्राप्त सफलता दोहोर्‍याउने लक्ष्य

शुक्रबार, १८ जेठ २०७५, १६ : ४६ नागरिक

मस्को – चार वर्षअघि ब्राजिलमा सम्पन्न विश्वकपको पछिल्लो संस्करणमा कोस्टा रिकाले आश्चर्यजनक रुपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । यसपाली पनि त्यही उपलब्धिलाई निरन्तरता दिने लक्ष्यका साथ रुस पुग्दा टोलीले जुन १७ मा सामारामा सर्बियासँग खेल्दै विश्वकप यात्रा थाल्नेछ। 

ब्राजिलमा कोस्टा रिका इटाली, इङल्यान्ड र उरुग्वे रहेको समूहबाट माथि उठने कसैले विश्वास गरेका थिएनन् । तर सात पटक विश्वकपको उपाधि उचालिसकेका तीन महारथीलाई पछि पार्दै समूह विजेताका रुपमा अन्तिम १६ पुगेको टोलीले क्वार्टरफाइनलमा पनि स्थान सुरक्षित गर्याे।

यसपाली पनि कोस्टा रिका चार वर्षअघिजस्तै कठिन समूहमा परेको छ । कोस्टा रिका रहेको समूह ‘इ’ मा प्रतियोगिताकै मुख्य दाबेदार ब्राजिल तथा युरोपका दुई बलिया टिम स्विट्जरल्यान्ड र सर्बिया छन् । जसका कारण टोलीबाट अर्को आश्चर्यजनक यात्राको आशा गर्न सकिन्छ। 

चार वर्षअघि ब्राजिलमा सफलता हासिल गर्दाका २३ मध्ये १२ खेलाडी यसपाली रुसको भ्रमणमा पनि टोलीसँगै हुनेछन् । साथमा अघिल्लो पटक छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्नाका बावजुद टोलीमा पर्न नसकेका चार खेलाडी यसपाली समेटिएका छन् । पछिल्लो आठ वर्षदेखि कोस्टा रिकाको हरेक उतार चढावमा सँगै रहेका १६ खेलाडी यसपालीको टोलीमा हुँदा टिम तालमेलमा समस्या नहुने विश्वास लिइएको छ। 

प्रशिक्षक ओस्कार रामिरेजले रुस भ्रमणका लागि परिपक्व खेलाडीहरुको टोली बनाएका छन् । रामिरेजको २३ सदस्यीय टोलीमा खेलाडी फुटबलीय क्षमताका आधारमामात्र नभई अनुभवमा पनि परिपक्व छन् । खेलाडीको औसत उमेर २९ वर्ष छ भने औसत क्याप (देशका लागि अन्तर्राष्ट्रिय खेल खेलेको) ४६ छ। 

सामारामा सर्वियाविरुद्धको खेलका लागि रेफ्रीले सिठी फुक्दा कोस्टा रिकामाथि कुनै दबाब हुने छैन । किनकी २०१० को विश्वकपयता पहिलो पटक कुनै ठूलो प्रतियोगिताका लागि छानिएको विपक्षीमाथि मानसिक रुपमा कोस्टा रिका नै हावी हुन सक्छ।

रियाल मड्रिडको टोलीबाट पछिल्ला वर्षहरुमा सबैखाले सम्भव उपाधि जितिसकेका केलोर नाभासको साथ हुनु कोस्टा रिकाको लागि अर्को खुसीको विषय हो । विश्वकै सर्बोत्कृष्ट गोलकिपरमध्ये एक मानिने नाभास विश्वकपका सबै विपक्षी फरवार्डहरुबारे जानकार छन् । जसको फाइदा रुसमा टोलीले उठाउन सक्नेछ । तर टोलीका मुख्य खेलाडीहरु ब्रायन रुइज र जोइल क्याम्पवेल चोटबाट मुक्त हुन संघर्षरत रहनु तथा डेर्पोटिभो ला कोरुनाका सेल्सो बोर्गसले सिजनमा खास चमत्कार देखाउन नसक्नुले भने प्रशिक्षक रामिरेजलाई चिन्तित पारेको छ।

तमाम उतार चढावका बावजुद ब्राजिल विश्वकपपछि कोस्टा रिकाले विश्व फुटबलमा बेग्लै खालको सम्मान आर्जन गरेको छ । भाग लिएका कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न नसकेको टोली हाल फिफा विश्व वरियताक्रमको २५औं स्थानमा छ । रुसमा टोलीले दोस्रो स्थानको ब्राजिल, छैटौं स्थानको स्विट्जरल्यान्ड र ३५औं वरियताको सर्बियासँग समूह चरणमा खेल्नेछ। 

समूह ‘इ’ मा कोस्टा रिका
विरुद्ध              मिति         नेपाली समय      स्थान

सर्बिया               जुन १७         १७ः४५             सामारा
ब्राजिल               जुन २२         १७ः४५             सेन्ट पिट्सबर्ग
स्विट्जरल्यान्ड     जुन २७         २३ः४५             नोभगोरोड
 

कोस्टा रिकाको टिम

गोलकिपर : केलेर नाभास (रियाल मड्रिड), प्याट्रिक पेम्बर्टन (आलाजुइलेन्स), लियोनेल मोरेइरा (हेरेडियानो)

रक्षक : जोनी एकोस्टा (रियोनेग्रो एग्विलास), जियानकार्लो गोन्जालेज (बोलोग्ना), क्रिस्टियन गाम्बोआ (सेल्टिक), ब्रायन ओभिडो (सन्डरल्यान्ड), ओस्कार डुआर्टे (स्पान्योल), फ्रान्सिस्को काल्भो (मिनिसोटा युनाइटेड), केन्डल वाट्सन (भ्यान्कोभर ह्वाइटक्याप्स), रोनाल्ड माटारिटा (न्युयोर्क सिटी), इयान स्मिथ (नोर्कोपिङ)

मिडफिल्डर : सेल्सो बोर्गस (डेर्पोटिभो ला कोरुना), क्रिस्टियन बोलानोस (साप्रिसा), रान्डल एजोफेइफा (हेरेडियानो), येल्तसिन टेजाडा (लुजाने स्पोर्ट), डेविड गुजम्यान (पोर्टल्यान्ड टिम्बर्स), रोड्नी वालेस (न्युयोर्क सिटी), ड्यानिअल कोलिन्डर्स (साप्रिसा)

फरवार्ड : ब्रायन रुइज, कप्तान (स्र्पोटिङ सिपी), जोइल क्याम्पवेल (रियाल बेटिस), मार्को एरेना (लस एन्जल्स), योकान भेनेगास (साप्रिसा)

 

तथ्य
फिफा विश्वकपको इतिहासमा कोस्टारिकाले अहिलेसम्म चार पटक अन्तिम चरणमा सहभागिता जनाएको छ । पहिलो पटक इटाली १९९० मा छानिँदा टोली अन्तिम १६ सम्म पुगेको थियो।

त्यसपछि २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा गरेको विश्वकपमा समूह चरणबाटै घर फर्किएको कोस्टा रिका जर्मनी २००६ मा पनि नकआउट चरण पुग्न सफल भएन्।

पछिल्लो पटक ब्राजिल २०१४ मा सनसनीपूर्ण यात्राका साथ क्वार्टरफाइनल पुगेको टोलीको रुस विश्वकप पाँचौं सहभागिता हुनेछ । मध्य अमेरिकाबाट चार पटक विश्वकप खेलिसक्ने कोस्टा रिका एकमात्र देश हो। 

 

यसमा तपाईको मत