ब्राजिलको स्वाभाविक लय

नेपाली नजरमा
मङ्गलबार, १९ असार २०७५, ०३ : १३ नागरिक

पाँच पटकको विश्वकप विजेता ब्राजिलले आफ्नो स्वाभाविक प्रदर्शनलाई निरन्तरता दिँदा सोमबार नतिजा आफ्नो पक्षमा पार्न सफल भयो। चोटबाट गुज्रिएका रक्षक मार्सेलोलाई प्रशिक्षक टेटेले आराम दिए पनि दक्षिण अमेरिकी टोलीले आफ्नो लय गुमाएन।

ब्राजिलमा एउटा खेलाडी चल्न नसके पनि अर्को खेलाडीले त्यसको भरपाई गरिरहेको हुन्छ। त्यसै पनि ब्राजिल सधैँ दाबेदारका रूपमा हुने गर्छ। समूहचरणमा राम्रो खेलेका कौटिन्हो सोमबार चल्न नसके पनि गाब्रियल जिसस, विलियान र नेइमारले लय भेट्टाउँदा ब्राजिलले मेक्सिकोविरुद्ध सहज नतिजा निकाल्न सफल भयो।

मेक्सिकोले पहिलो २० मिनेट ब्राजिललाई दबाब राख्यो। गोलका अवसरहरू बनाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा मेक्सिको अग्रता लिनबाट चुक्यो। पाएका मौकालाई सदुपयोग गर्न नसक्दा मेक्सिको बिस्तारै दबाबमा पर्दै गयो भने ब्राजिल खेलमा फर्कियो। दोस्रो हाफमा पनि मेक्सिकोले अपेक्षाकृत प्रदर्शन गर्न सकेन। चेल्सीबाट खेल्ने ब्राजिलका मिडफिल्डर विलियान मैदानभर छाए। उनको उत्कृष्ट प्रदर्शनमा नेइमार र जिससले पनि साथ दिए। त्यसमाथि गोलकिपर एलिसन बेकरले राम्रो बल सप्लाइ गरिदिँदा ब्राजिलका अग्रपंक्तिलाई आक्रमण बुन्न सजिलो भयो।

ब्राजिलले खेल जिते पनि खेलको नायक भने मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचोवा हुन्। उनको उत्कृष्ट प्रदर्शनका कारण मेक्सिकोले पहिलो हाफ गोलरहित बराबरी खेल्यो भने त्यसपछि पनि २ गोल मात्र खायो।

फुटबलमा कति बेला गोल हुन्छ भन्न धेरै गाह्रो हुन्छ। त्यसमा पनि विश्वकपजस्तो प्रतियोगितामा अनुमान गर्नु आधुनिक फुटबलमा थप कठिन काम हो। रूसमा जारी २१औं विश्वकपमा पनि यस्तै नतिजाको ओइरो लागिरहेको छ। त्यसैले फुटबल पण्डितहरूलाई खेल विश्लेषण गर्न कठिन भएको छ। समूह चरणका खेल सकिएर पनि नकआउट चरणका ६ वटा खेल सकिसकेका छन्।

अन्तिम १६ मा अप्रत्याशित नतिजा आएका छन्। मंगलबार स्विडेन र स्विट्जरल्यान्ड तथा इङ्ल्यान्ड र कोलम्बियाबीच क्वार्टरफाइनलका लागि प्रतिस्पर्धा हुँदै छन्।

फिफा वरीयतामा छैटौं स्थानमा रहेको स्विट्जरल्यान्डले २४औं स्थानमा रहेको स्विडेनलाई पक्कै पनि कमजोर ठान्ने छैन। १९५४ मा स्विट्जरल्यान्डले विश्वकपको आयोजना गर्दा क्वार्टरफाइनलसम्म पुग्नु नै उसको अहिलेसम्म हासिल गरेको सबैभन्दा ठूलो सफलता हो। स्विडेनले पनि १९५८ को विश्वकप आयोजना गर्दा उपविजेता बनेको थियो। त्यति बेला स्विडेन पेलेको ब्राजिलसँग ५–२ ले पराजित भएको थियो। स्विडेनले १९५० र १९९४ मा पनि तेस्रो स्थान हासिल गरेको थियो। आधुनिक फुटबलमा इतिहासले खास महत्व राख्दैन। नतिजा निकाल्नका लागि वर्तमानमा उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक हुन्छ।

समूहचरणमा जर्मनीसँग पराजित भए पनि दक्षिण कोरिया र मोक्सिकोलाई पराजित गरी स्विडेनले दोस्रो चरणमा स्थान पक्का गरेको थियो। स्विडेनमा अहिले ज्लाटान इब्राहिमोभिचजस्ता स्टार खेलाडीको अभाव छ। यद्यपि स्विडेनको ‘टिम वर्क’ धेरै राम्रो छ। पूरै टिम संगठित भएर विपक्षीमाथि आक्रमण गर्दा नै मेक्सिकोमाथि ३–० को शानदार जित हासिल गर्न सफल भएको हो। छनोट प्रतियोगितामा फ्रान्सलाई पराजित गर्नु र नेदरल्यान्ड्सलाई समूह चरणमा पछि पार्दै प्ले अफमा इटालीजस्तो टोलीलाई पराजित गर्दै विश्वकपमा छनोट भएकाले स्विडेनको मनोबल उच्च छ।

स्विट्जरल्यान्डले लिगचरणमा ब्राजिल र कोस्टा रिकासँग बराबरी र सर्बियालाई पराजित गर्दै अपराजित टोलीका रूपमा अन्तिम १६ को यात्रा तय गरेको हो। स्विट्जरल्यान्डसँग जर्दान साकिरी र ग्रान्ट जाकाजस्ता स्टार खेलाडी छन्। जसले स्विट्जरल्यान्डको जर्सीमा सधैं उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। यसअघि नकआउट चरणमा आएको नतिजाका कारण दुवै टोली सतर्क भएर एकअर्कालाई सम्मान गर्दै सचेत भएर खेल्ने देखिन्छ। दुवै टोली समान हैसियतमा खेल्दा खेल रोमाञ्चक बन्नेछ। दुबै टोली नतिजाका लागि हकदार छन्।

सोमबारै हुने अर्को खेलमा इङ्ल्यान्डले कोलम्बियासँग प्रतिस्पर्धा गर्दै छ। प्रतियोगिताअघि खासै चर्चामा नरहेको इङ्ल्यान्डलाई समूहचरणमा प्राप्त गरेको सफलताले निकै उत्साहित बनाएको छ। इङ्ल्यान्डलाई नकआउट चरणपछि फाइनलसम्मको यात्रा गर्नका लागि तगारोका रूपमा स्पेन मात्र रहेको थियो। तर आइतबार रूससँग पराजित हुँदै स्पेन घर फर्किएपछि इङ्ल्यान्डको यात्रा थप सहज बनेको छ। त्यसैले इङ्ल्यान्डलाई १९६६ पछि फाइनल खेल्ने यो सुनौलो अवसर हुन सक्छ। इङ्लिस टोलीको यो एउटा सपना पनि हो। सपनालाई यथार्थमा बदल्न इङ्ल्यान्डले पहिलो खुड्किलोका रूपमा कोलम्बियालाई पन्छाउन आवश्यक छ।

फिफा वरीयतामा सँगसँगै रहे पनि इङ्ल्यान्ड स्टार खेलाडीहरूले भरिएको छ। प्रशिक्षक साउथगेटसँग धेरै विकल्प छन्। कोलम्बियाले समूहमा जापानसँग पराजित भए पनि पोल्यान्ड र सेनेगललाई पराजित गर्दै आफू कमजोर टिम नरहेको पुष्टि गरेको छ। २००६ पछि इङ्ल्यान्ड क्वार्टरफाइनल पुग्न सकेको छैन भने कोलम्बिया गत संस्करणमा क्वार्टरफाइनलबाट घर फर्किएको टोली हो। नकआउट चरणमा एकले अर्को टोलीलाई कुन रूपले हेर्छन्, त्यो महत्वपूर्ण कुरा हो। त्यहीअनुसार प्रशिक्षकले रणनीति बनाउँछन्। तथापि यो खेलमा दुवै प्रशिक्षकले एक अर्कोलाई समान हैसियतले हेर्ने अनुमान गर्न सकिन्छ।

इङ्ल्यान्डको लगातार आक्रमणलाई झेल्न गाह्रो मान्ने हो भने कोलम्बियाले रक्षात्मक खेल खेलेर काउन्टर अट्याकमा जान सक्छ। यसो गर्दा रक्षापंक्ति सफल हुँदै गयो भने इङ्ल्यान्डलाई कोलम्बिया कठिन प्रतिद्वन्द्वी बन्न सक्छ।

यसमा तपाईको मत