ब्राजिलको ‘टिमवर्क’ का प्रशंसक खवास

नेपाली नजरमा
सोमबार, २१ जेठ २०७५, १५ : ३७ नागरिक

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लामो समयको उपाधि खडेरी तोड्दा नेपाली राष्ट्रिय टिममा महत्वपूर्ण सदस्यका रूपमा रहेका स्ट्राइकर भरत खवास नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका कप्तान हुन्।

दुई वर्षअघि बंगलादेशमा बंगबन्धु गोल्डकप र गत वर्ष मलेसियामा एएफसी सोलिडारिटी कप टोलीका महत्वपूर्ण सदस्य थिए । गत वर्ष नेपाल आर्मीलाई ७ वटा उपाधि दिलाउँदा भरतले घरेलु प्रतियोगितामा समेत आफ्नो दरिलो उपस्थिति जनाए।

गत साता दमक गोल्डकपमा भने भरतको कप्तानीमा रहेको आर्मी पेनाल्टी सुटआउटमा चुक्दै उपविजेतामा सीमित भएको थियो । हातको शल्यक्रियाका कारण चिकित्सकले डेढ महिना मैदानबाहिर बस्नुपर्ने सल्लाह दिएसँगै भरत हाल घरमै आराम गरिरहेका छन् । गत वर्ष सोलिडारिटी कपदौरान हातमा भाँच्चिएपछि उनको हातमा राखिएकोे स्टिल सोमबार निकालिएको थियो । प्रशिक्षणका क्रममा रक्षक कमल श्रेष्ठसँग जुधेपछि उनको हात भाँच्चिएको थियो।

यस पटकको वर्षे विश्राम विश्वभरका फुटबलप्रेमीभै भरतका लागि पनि विशेष छ । घरमै बसी आराम मात्र गर्ने नभई फुटबलको कुम्भमेला विश्वकप हुने भएकाले उनको विश्राम पनि विशेष बनेको हो । भरत साथीभाइसँगै घरमै आराम गर्दै विश्वकपको मजा लिने सोचमा छन्।

ब्राजिलका स्ट्राइकर रोनाल्डो र रोनाल्डिन्होलाई आदर्श मान्ने भरतले अन्तर्राष्ट्रिय फुटबलमा समर्थन गर्ने टोली पनि ब्राजिल नै हो । सन् १९९८ मा फ्रान्सले विश्वकपको उपाधि उचाल्दादेखि फुटबल हेर्न थाले पनि भरतले अन्तर्राष्ट्रिय फुटबलको बारेमा राम्रोसँग बुझन थालेको भने सन् २००२ को विश्वकप हो । जहाँ जर्मनीलाई पराजित गर्दै ब्राजिलले पाँचांै पटक विश्वकपको उपाधि भित्र्याएको थियो।

‘रोनाल्डो राम्रा फिनिसर हुन्,’ भरतले भने, ‘उनले पाएको अवसरलाई हत्तपत्त खेर जान दिँदैनन् । एउटा स्ट्राइकरमा हुनुपर्ने यो नै सबैभन्दा महत्वपूर्ण त्यही हो ।’

‘मैले सन् २००२ को विश्वकपबाट अन्तर्राष्ट्रिय फुटबल बुझ्न थालेको हुँ,’ भरतले भने, ‘मलाई ब्र्राजिलको सबैभन्दा मन पर्ने पक्ष भनेको उनीहरूको टिम वर्क लाग्छ । फुटबलमा सफलता हात पार्न कुनै एक खेलाडीको प्रदर्शनमा भन्दा पनि समग्र टोलीको प्रदर्शन महत्वपूर्ण हुन्छ।’

‘ब्राजिली टोली युवा र उत्कृष्ट खेलाडीले भरिएको टोली हो,’ उनले भने, ‘पछिल्लो तीन संस्करण (२००६, २०१० र २०१४) मा भने उत्कृष्ट खेलाडी हुँदाहुँदै पनि टोलीले सोचेअनुरूप प्रदर्शन गर्न नसक्दा मन खिन्न भएको थियो । यस पटक टोलीमा नेइमार, गाब्रियल जिजस, डग्लस कोस्टा, रोबर्टाे फिर्मिन्हो उत्कृष्ट स्ट्राइकर, कासेमेरो, फिलिप कौटिन्हो, फर्नान्डिन्होजस्ता मिडफिल्डर तथा थियागो सिल्भा र ड्यानिलोजस्ता रक्षकको उपस्थितिले पनि यस पटक टोली बलियो देखिएको छ । सधैँझै यस पटक पनि उत्कृष्ट खेलाडीले भरिएको टोली भएकाले रूस विश्वकप जित्दै उपाधि संख्या ६ पुर्याउनेमा म आशावादी छु।’

समूह ‘ई’ मा रहेको ब्राजिलले पहिलो खेल जुन १७ मा स्विजरल्यान्डसँग खेल्नेछ भने दोस्रो खेलमा २२ जुनमा कोस्टारिका र ७ जुनमा सर्बियाको सामना गर्नेछ।

यसमा तपाईको मत