ब्राजिलले जित्ने शाक्यको दावी

नेपाली नजरमा
मङ्गलबार, २९ जेठ २०७५, ११ : ११ नागरिक

काठमाडौं – नेपाली फुटबल भन्ने बित्तिकै सम्झने एउटा नाम हो राजुकाजी शाक्य । सुगठित शरिर, लामो र सिल्की कपाल अनि जुँगाको रवाफसहित नेपाली राष्ट्रिय टिमको चन्द्र सूर्यअंकित जर्सीमा शाक्य मैदानमा डटेको नेपाली फुटबलप्रेमीले कहिल्यै विर्सन सक्दैनन् । लामो समयसम्म राष्ट्रिय टिमको खेलाडी र कप्तान भएर नेपाली फुटबललाई शेवा गरेका शाक्य खेलाडी र प्रशिक्षक दुवै हैसियतमा दक्षिण एसियाली खेलुकदमा स्वर्ण पदक जित्ने एकमात्र स्टार हुन्।

नेपाली फुटबलमा अनुसासन, मिहिनेत, इमान्दारी र प्रतिबद्धताको पर्यायका रुपमा परिचित शाक्य अहिले प्रशिक्षण कर्ममा दत्तचित्त छन् । त्यसैले रुसमा बिहीबारबाट सुरु हुने विश्वकप त्यसैले शाक्यका लागि विशेष छ । कुन टिमले कस्तो टेक्निक र ट्याक्टिस अपनाउँदै खेल्छन भन्नेमा शाक्यको ध्यान केन्द्रित हुनेछ । आफ्ना खेलाडीलाई विश्वकपबाट कसरी प्रेरित गर्न सकिन्छ भन्नेमा तल्लिन शाक्य भन्छन्, ‘एउटा प्रशिक्षकका रुपमा मैले विभिन्न देशका खेलाडीले कस्तो रणनीति अपनाएर खेल्छन् भन्नेमा ध्यान केन्द्रीत गर्नेछु । अनि नेपाली खेलाडीलाई तिनै कुरा सिकाउने प्रयास गर्नेछु।’

‘अहिलेको पुश्ता निक्कै बाठो भइसकेको छ । उनीहरुलाई कस्तो टेक्निक अपनाउने भन्नेमा ख्याल भए पनि उचित हुन्छ हुँदैन थाहा हुँदैन्,’ शाक्यले नागरिकसँग भने, ‘नेपाली खेलाडी पनि टेक्निक अपनाउनमा अगाडि छन् । उनीहरुलाई विश्वस्तरीय स्टार खेलाडीले अपनाउने स्किल सिकाउन प्रशिक्षकका रुपमा मेरो काम हो । त्यसका लागि यो विश्वकप फलदायी हुनेछ।’

राष्ट्रिय टोलीबाट उत्कृष्ट फुटबल खेल्दै राम्रो छाप छोडेका शाक्यको यसपालिको विश्वकपमा ब्राजिललाई समर्थन गर्ने योजनामा छन् । सानै उमेरदेखि धरानमा फुटबल खेल्दै हुर्किएका शाक्य ब्रिटिस क्याम्पमा रहँदा ब्रिटिसहरुले ब्राजिलको फुटबल खेल प्रोजेक्टरमा देखाउने गरेको र त्यही बेला देखि ब्राजिल मन पर्न थालेको बताउँछन् । धरानबाट फुटबल खेल्दाको क्षणलाई स्मरण गर्दै उनले भने, ‘धरान ११ टिम त्यतिबेला ब्राजिल जस्तै राम्रो खेल्ने भएका सबैको वाहवाही पाउने गरेको थियो,’ उनले थपे, ‘त्यो टिमबाट खेल्दा पहेलो जर्सी लगाएर राम्रो खेल्ने भएका हामीलाई सबैले ब्राजिल जस्तै खेल्ने भन्दै प्रोत्साहन दिन्थे । ब्राजिलको फ्यान हुनुमा त्यो पनि एउटा कारण हो।’

बिहीबारबाट हुने विश्वकमा शाक्यले कहिले परिवार र कहिले साथी भाइसँग बसेर हेर्ने योजना बनाएका छन् । ‘घरमा छोरा जर्मनीको समर्थक छ । छोरी ब्राजिल र श्रीमती अर्जेन्टिनालाई समर्थन गर्छन । श्रीमतीलाई लियोनेल मेसीको खेल औधी मन पर्छ । उनी मेसीको डाइहार्ट फ्यान हुन् । त्यसैले जर्मनी, ब्राजिल र अर्जेन्टिनाको खेल घरमै परिवारसँग बसेर हेर्नेछ ।’ रुस विश्वकपमा शाक्यको अनुमान ब्राजिलले नै जित्ने छ । युवा खेलाडीहरुको बाहुल्य भएका कारण ब्रजिलले जित्ने उनको दावी छ।

यसमा तपाईको मत