दाबेदार छविमा फ्रान्सको न्याय

नेपाली नजरमा
बुधबार, १३ असार २०७५, ०४ : ५६ नागरिक

फ्रान्स प्रतियोगिताको अघिल्लो चरणमा छनोट भइसकेको टिम हो । दाबेदार छविलाई कायम राख्दै प्रशिक्षक डिडियर डेशच्याम्पसले थुप्रै महत्वपूर्ण खेलाडीलाई आराम दिँदा फ्रान्सले डेनमार्कलाई दबाबमा राखेर गोलरहित बराबरी खेल्यो । नयाँ खेलाडीलाई आवस्यक अनुभव दिँदै अगाडि बढ्दा लामो यात्रामा टिमलाई फाइदा पुग्छ।

अर्को खेलमा प्रतियोगिताबाट बाहिरिइसकेको पेरुसामू प्रतिष्ठा जोगाउनेमात्रको उदेश्य थियो । तर ठिक विपरित अस्ट्रेलिया त्यो खेलमा धेरै दबाबमा थियो । उनीहरु आफूलाई जितेरमात्र पुग्ने थिएन । अर्को खेलमा डेनमार्क पनि हारेको हेर्न पाउनुपर्ने थियो । त्यसैले अत्यावस्यक जितका लागि आक्रामक खेल्नुपर्ने थियो । उनीहरुले त्यहीअनुसार खेल्दा पेरुले त्यसको फाइदा उठाउँदै २–० को जित हासिल गर्यो।

स्पेन र पोर्चुगल दुवैसामू सोमबार अगाडि बढ्नका लागि दबाब थियो । आ–आफ्नो खेलमा अनुकुल नतिजा ल्याउन नसके दुईमध्ये जुन टिम पनि रुसमा जारी विश्वकपबाट बाहिरिन सक्थ्यो । उपाधि दाबेदारको छविका साथ रुस पुगेको २०१० को च्याम्पियन स्पेन र साबिकको युरोपियन च्याम्पियन पोर्चुगल दुवैलाई पहिलो चरणबाट घर फर्किने नतिजा कुनै पनि हालतमा स्विकार्य थिएन । वास्तवमा उनीहरु दुवै विश्वकपको नकआउट चरणको हकदार थिए । जुन उनीहरुले समूह चरणको अन्तिम खेलमा प्रमाणित गरे।

स्पेन सर्जियो रामोस र जेरार्ड पिकेजस्ता विश्वकै उत्कृष्ट रक्षक भएको टिम हो । साइडबाट उनीहरुलाई जोर्डी अल्बा र ड्यानी कार्भाहलको साथ थियो । जसका कारण स्पेनको रक्षापंक्ति तोड्नु जुनसुकै टिमका लागि पनि ग्रेटवाल नाघेजस्तो हुने थियो । तर यसपाली कागज र प्रदर्शनमा ठूलो फरक देखियो । स्पेनको पोष्टमा बल जानेवित्तिकै गोल होलाजस्तो अवस्था सिर्जना भयो । स्पेनको पोष्ट हरेक आक्रमणमा नराम्ररी धर्मरायो । सुरक्षित रहन सकेन।

स्पेनका गोलकिपर डेविड डी हिया पनि एकरुपको प्रदर्शन गर्न सफल भएनन् । त्यसमा रामोस र पिकेको उमेर पनि कारण हुन सक्छ । अहिलेको आधुनिक फुटबलमा ३० नाँघेका खेलाडीले जति क्षमता भए पनि प्रदर्शनमा त्योअनुसार खरो उत्रिन सक्दैनन् । अझ सेन्ट्रल डिफेन्डरमा अझै बढि स्विफ्टनेस आवस्यक हुन्छ । रामोस र पिके दुवै ओभरल्यापमा गएर विपक्षी पोष्टमा धावा बोल्ने खेलाडी हुन् । उनीहरु विपक्षी पोष्टमा यसपाली पनि बारम्बार गइरहे । जहाँ उनीहरुको अनुपस्थिती रहँदा अरु बेला राम्रो प्रदर्शन गरेका अल्बा र कार्भाहलमा पर्याप्त आत्मविश्वास देखिएन । रामोस र पिके आफै फर्किँदा थकित भइसकेका हुन्थे।

आन्द्रियास इनियस्टाको हकमा त्यो भएन । सामान्यतया अगाडि खेल्ने खेलाडीले केही गल्ती गरे पनि माफ हुन्छ । त्यो फाइदा रक्षापंक्तिसामू हुँदैन । इनियस्टाले मिडफिल्डमा आफ्नो स्तर प्रमाणित गरे । त्यहीअनुसार गोलको अवसर सिर्जना पनि गरे । तर डिएगो कोस्टाले एउटा उत्कृष्ट मौकालाई गोलमा परिणत गर्न सकेनन् । तर मिडफिल्डमा डेविड सिल्भा सोमबार त्यति प्रभावकारी हुन सकेनन् । उनले विंग्स र बीचमा पनि साथ दिन सकेनन् । एउटै खेलाडीबाट सधै एउटै स्तरको प्रदर्शन आशा गर्न सकिन्न । सिल्भा त्यसको उदाहरण हुन् । कोस्टाले पनि अघिल्ला खेलको जस्तो फिनिसिङ गर्न नसकिरहेको बेला नयाँ प्रशिक्षक फर्नान्डो हियरोले उनलाई निकालेर इयागो आस्पसलाई छिराउन गरेको निर्णय फलदायी रहयो।

स्पेनको प्रदर्शन एकरुपको भएन । मोरक्को प्रतियोगिताबाट बाहिरिइसकेको टिम हो । मोरक्कोका लागि विश्वकप नियमित खेल्न पाउने प्रतियोगिता होइन । उनीहरु अफ्रिकी टिम भए पनि युरोपमा हुर्केका खेलाडीको टिम हो । त्यसैले उनीहरु विश्वकपमा पाएको दूर्लभ अवसरलाई राम्रो नतिजाका साथ सेलिब्रेट गर्न चाहन्थे । त्यहीअनुसार उनीहरुले जोशिलो प्रदर्शन गर्दा स्पेन जितबाट विमूख भयो।

समूहको अर्को खेलमा चार गोल गरिसकेका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी अवसर खेर फाल्दा इरानसँग १–१ को बराबरीमा सिमित भयो । इरानका लागि पनि त्यो खेल महत्वपूर्ण थियो । खेल जित्न सकेको भए इरान नकआउट चरण पुग्ने थियो । त्यसैले इरानले युरोपेली च्याम्पियनसँग पूरा मैदानभर चुनौतीपूर्ण प्रदर्शन गरे । रोनाल्डोलाई मार्किङ गर्ने काममा पनि उनीहरु सफल भए । रोनाल्डोले खुलेर खेल्न नपाएका कारण उसँगै पूरा टिमको टेम्परामेन्ट विग्रियो । त्यही कारण पेनाल्टी पनि मिस भयो। 

प्रतियोगितामा बुधबार समूह इ मा ब्राजिल र सर्बिया तथा स्विट्जरल्यान्ड र कोस्टा रिकाबीच खेल हुनेछ । स्विट्जरल्यान्ड र ब्राजिलको समान चार अंक छ भने सर्बियाको तीन अंक छ । कोस्टा रिका प्रतियोगिाबाट बाहिरिइसकेको छ।

ब्राजिलजस्तो टिम विश्व फुटबलमा सधैको दाबेदार हो । उनीहरु सधै उच्च प्रदर्शन गर्छन । तर यसपाली उनीहरुले अघिल्लो चरण पुग्नका लागि पनि अन्तिम खेलसम्म कुर्नु परेको छ । उनीहरुलाई नकआउट चरण पुग्नुसँगै छवि सुधार्न पनि यो खेल जित्नै पर्नेछ । ब्राजिलका लागि फिलिप कौटिन्हो, मार्सेलो, ग्याब्रिअल जिसस र नेइमारको प्रदर्शन महत्वपूर्ण हुन्छ । कोस्टा रिकाविरुद्ध दोस्रो हाफमा उनीहरुले जुन लय समाए, त्यो ब्राजिलको स्वभाविक खेल थियो । ब्राजिलले प्रतियोगितामा अगाडि बढ्नका लागि बुधबार त्यही लयलाई जोगाउनु पर्छ।

कोस्टारिका उत्तर अमेरिकाको सानो देश हो । उनीहरुका लागि विश्वकप दूर्लभ प्रतियोगिता हो । उनीहरु प्रतियोगिताबाट बाहिरिइसके पनि साखका लागि अन्तिम खेलमा दिलो ज्यान दिएर खेल्छन् । कोस्टा रिकाको प्रदर्शन गोलकिपर केलोर नाभासमा निर्भर रहन्छ । नाभासको प्रदर्शन असाधारण भए स्विट्जरल्यान्ड निराश बन्नेछ । अन्यथा ग्रानिट जाका र जार्डान साकिरीजस्ता खेलाडीको प्रेरणामा स्विट्जरल्यान्डले सहजै नतिजा हात पार्नेछ।

यसैगरी समूह एफमा साबिक विजेता जर्मनी, मेक्सिको र स्विडेनबीच अघिल्लो चरण प्रवेशका लागि रोचक प्रतिस्पर्धा हुनेछ । जर्मनीले अन्तिम खेलमा दक्षिण कोरियासँग खेल्नेछ । दक्षिण कोरिया प्रतियोगिताबाट बाहिरिइसकेको टिम हो । जर्मनीले स्विडेनविरुद्धको खेलमा अन्तिम समयसम्म जसरी जुझारु प्रदर्शन गर्यो, त्यसले उनीहरु यो खेलमा पनि सहजै जित्ने अनुमान गर्न सकिन्छ । दक्षिण कोरियालाई हराए उनीहरुको अघिल्लो चरण प्रवेश सहज हुनेछ।

मेक्सिकोका लागि पनि स्विडेन बलियो प्रतिद्धन्द्धी नहुन सक्छ । त्यसो भए जर्मनी र मेक्सिको अघिल्लो चरण पुग्नेछन् । तर स्विडेनले मेक्सिकोलाई हराए चाँही सबै टिमको समान ६ अंक हुनेछ । त्यसपछि गोलअन्तर, सामना गरेका कार्डबाट अगाडि बढ्ने टिमको टुंगो लाग्नेछ।

यसमा तपाईको मत