डेविड सिल्भा (स्पेन)

फिचर खेलाडी
सोमबार, ११ असार २०७५, ०० : ५१ नागरिक

नाम : डेविड सिल्भा
जन्म : ८ जनवरी १९८६
पोजिसन : मिडफिल्डर
क्लब : सान फर्नान्डो, भ्यालेन्सिया, एइबर (लोन), सेल्टा भिगो (लोन), म्यानचेस्टर सिटी

म्यानचेस्टर सिटीका मिडफिल्डर डेविड सिल्भा स्पेनका समेत महत्वपूर्ण खेलाडी हुन् । उनकै प्रेरणादायी प्रदर्शनमा सिटीले गत सिजन इङ्लिस प्रिमियर लिगको उपाधि जितेको थियो।

स्पेनको स्थानीय क्लब युडी सान फर्नान्डोको युथ एकडेमीमा भर्ना भएका सिल्भाले १४ वर्षको उमेरमा भ्यालेन्सियाको युथ एकेडेमीबाट खेल्ने अवसर पाए । तीन वर्ष भ्यालेन्सियाको युथ एकेडेमीमा बिताएका सिल्भाले २००३–४ सिजन क्लबबाट दोस्रो डिभिजन खेलका थिए । यस क्रममा उनले १४ खेलमा १ गोल मात्र गरेका थिए।

उनी २००४ मा भ्यालेन्सियाको पहिलो टोलीमा स्थान बनाउन सफल भए । २०१० सम्म भ्यालेन्सियामा बिताएका सिल्भा सुरुआती दुई सिजन एइबर र सेल्टा भिगोमा लोनमा गएका थिए । उनले एइबरबाट ३५ र सेल्टा भिगोबाट ३४ खेलमा समान ४ गोल गरे । २००६ मा भ्यालेन्सिया फर्किएका सिल्भाले २०१० सम्मको क्लब बसाइमा क्लबबाट १ सय १९ खेलमा २१ गोल गरेका थिए।

सिल्भा २०१० मा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए । उनले सिटीबाट २ सय ४९ खेलमा ४८ गोल गरिसकेका छन् । उनले नोभेम्बर १५ २००६ मा रोमानियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँगै स्पेनको टोलीबाट डेब्यु गरेका थिए।

उनले २००७ अगस्ट २२ मा ग्रिसविरुद्धको मैत्रीपूर्ण खेलसँगै राष्ट्रिय टोलीबाट गोल खाता खोलेका थिए । स्पेनले २०१० को विश्वकप र २०१२ को युरोपियन च्याम्पियनसिप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । सिल्भाले स्पेनका लागि १ सय २३ खेलमा ३५ गोल गरिसकेका छन्।

यसमा तपाईको मत