डिएगो म्याराडोना (अर्जेन्टिना)

फिचर खेलाडी
शनिबार, १९ जेठ २०७५, १३ : ०४ नागरिक

ब्राजिलका पेलेसँगै संयुक्त रूपमा २०औं शताब्दीको सर्वोत्कृष्ट फुटबलर घोषित म्याराडोनालाई विश्व फुटबल इतिहासकै सबभन्दा प्रतिभावान् खेलाडीका रूपमा लिइन्छ।

पेले र म्याराडोनामध्ये को उत्कृष्ट भन्ने बहस अन्तर्राष्ट्रिय फुटबलमा सधैं चलिरहे पनि यी दुवै सर्वकालीन महान् खेलाडी भएकोमा भने कसैको विमति रहने गरेको छैन । १० नम्बर पोजिसनमा निक्कै सुहाएका म्याराडोना आफ्नो जमानामा दुई पटक कीर्तिमानी रकममा सरुवा भएका थिए । बार्सिलोना, बोका जुनियर्स, सेभिया, न्युवेल्स ओल्ड ब्वाइजलगायतका क्लबबाट पनि व्यावसायिक फुटबल खेल्नाका बावजुद नेपोलीसँगको करियर उनका लागि स्मरणीय छ । उनलाई नेपल्सको नायकका रूपमा अहिले पनि व्यवहार गरिन्छ।

अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका म्याराडोनाले त्योभन्दा बढी गोलको अवसर सिर्जना गरेका थिए । उनलाई भिजन, पास, बल नियन्त्रण गर्ने क्षमता, ड्रिब्लिङ कला, तीव्र गति र तत्काल प्रतिक्रिया जनाउन सक्ने खुबीका कारण चिनिन्छ।

१९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउँदा गरेको प्रदर्शनका कारण उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । त्यही प्रतियोगिताको क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई २–१ को नतिजामा हराउँदा उनले गरेका दुई गोल विश्व फुटबल इतिहासमा निक्कै चर्चित छन् । पहिलो गोल हातले (ह्यान्ड अफ गड) गरेका म्याराडोनाले दोस्रो गोल ६६ यार्डबाट एक्लै अघि बढाएर गर्ने क्रममा उनले पाँच विपक्षी खेलाडीलाई छक्याएका थिए । २००२ मा फिफा डटकमले त्यो गोललाई शताब्दीको उत्कृष्ट गोल घोषणा गरेको थियो।

यसमा तपाईको मत