डिएगो फोर्लान (उरुग्वे)

फिचर खेलाडी
सोमबार, २१ जेठ २०७५, १६ : १२ नागरिक

विश्वकपको कुरा गर्दा उरुग्वेको नाम आएन भने अपूरो हुन्छ । पहिलो विश्वकपको आयोजना र उपाधि उचाल्ने टोली हो, उरुग्वे । र उरुग्वेको कुरा गर्दा डिएगो फोर्लानको नाम छुटायो भने उनीमाथि अन्याय हुन्छ । फोर्लान उरुग्वेबाट धेरै खेल खेल्ने दोस्रा खेलाडी हुन् । उनले उरुग्वेबाट १ सय १२ खेल खेलेका छन् । २०१३ को फिफा कन्फेडेरेसन कपअन्तर्गत नाइजेरियाविरुद्धको खेल देशबाट उनको १ सयौं खेल थियो।

२०१० मा उरुग्वेले चोथो हुँदा फोर्लान टोलीका नायक थिए । प्रतियोगितामा ५ गोल गरेका फोर्लान धेरै गोल गर्ने मध्येका एक हुन् । दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा फोर्लानसँगै जर्मनीका थोमस मुलर, नेदरल्यान्डका वेस्ले स्नाइडर र स्पेनका डेभिड भिया संयुक्त रूपमा धेरै गोल गर्नेको शीर्ष स्थानमा थिए । धेरै गोल गर्ने मात्र नभई प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका फोर्लानले उत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ जितेका थिए।

टेनिस खेलमा उत्तिकै दक्खल राख्ने फोर्लान अर्जेन्टिनाको इन्डिपेन्डियन्टबाट व्यावसायिक फुटबल सुरु गरेका थिए । त्यसपछि उनले इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड, स्पेनको एट्लेटिको मड्रिड र भिल्लारियाल तथा इटालीको इन्टर मिलानबाट पनि खेले । ५ फिट ११ इन्च अग्ला ३८ वर्षे फोर्लानको खेल्ने भोक अझै मेटिएको छैन । उनी अझै पनि हङ्कङ प्रिमियर लिगको क्लब किची स्पोटर्सबाट खेलिरहेका छन् । यसअघि उनले जापान, ब्राजिल र भारतको घरेलु लिग पनि खेलेका थिए।

२००२ मा विश्वकपमा डेब्यू गरेका फोर्लानले सेनेगलविरुद्ध पहिलो गोल गरेका थिए । त्यसपछि उनले २०१० र २०१४ को विश्वकपमा पनि उनले सहभागिता जनाए । २००६ को विश्वकपमा भने उरुग्वेले छनोट चरण पार गर्न सकेन । २०१५ मार्चमा अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए।

यसमा तपाईको मत