डिएगो गोडिन (उरुग्वे)

फिचर खेलाडी
बिहिबार, २१ असार २०७५, १३ : १९ नागरिक

नाम: डिएगो गोडिन
जन्म: १६ फेर्बुअरी, १९८६, रोसासियो
पोजिसन: रक्षक
क्लब: डिफेन्सोर, सिएरो, नासोनियल, भिल्लारियाल, एट्लेटिको मड्रिड

एट्लेटिको मड्रिडका रक्षक डिएगो गोडिन उरुग्वेका पनि प्रमुख खेलाडी हुन्। गोडिनको नेतृत्वमा रहेको उरुग्वेले जारी रूस विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा मात्र १ गोल खाएको छ।

मोन्टेभिडियोमा रहेको डिफेन्सोर क्लबको युथ एकेडेमीमा भर्ना भएका गोडिनले १७ वर्षको उमेरमा सिएरोबाट व्यावसायिक फुटबल सुरु गरेका थिए। तीन सिजन सिएरोमा बिताएका गोडिनले ६३ खेलमा ६ गोलसमेत गर्न भ्याए । २००६ मा अर्को उरुग्वेली क्लब नासोनियलमा आबद्ध भएका गोडिनले क्लबबाट १ सिजनमा २६ खेल खेले। २००७ मा स्पेनिस ला लिगा क्लब भिल्लारियाल आबद्ध भएका गोडिनले क्लबबाट तीन सिजन खेल्दै ९१ खेलमा ४ गोल समेत गरेका थिए। गोडिन २०१० मा अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिडमा आबद्ध भएका थिए। उनले एट्लेटिकोबाट २ सय ४७ खेलमा १४ गोल गरिसकेका छन्।

गोडिनले २००५ मा १९ वर्षको उमेरमा मेक्सिकोविरुद्धको मैत्रीपूर्ण खेलसँगै उरुग्वेको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। उनले उरुग्वेबाट तीन पटक विश्वकप र ४ पटक कोपा अमेरिका खेलिसकेका छन्। २०१५ को कोपा अमेरिकाबाट उरुग्ग्वेको कप्तानीको जिम्मेवारी पाएका गोडिनले राष्ट्रिय टोलीबाट १ सय २१ खेलमा ८ गोल गरिसकेका छन्।

यसमा तपाईको मत