दुई बलिया टोलीको प्रतिस्पर्धा

नेपाली नजरमा
मङ्गलबार, २६ असार २०७५, १२ : ०१ नागरिक

बेल्जियमले विश्वकपको अन्तिम चारमा स्थान बनाएको तीन दशकभन्दा बढी भइसकेको छ। ३२ वर्षअघि मेक्सिकोमा सम्पन्न विश्वकपको सेमिफाइनलमा डिएगो म्याराडोनाको अर्जेन्टिनासँग पराजित हुँदा अहिलेको बेल्जियम टोलीमा रहेका दुई खेलाडी (थोमस भर्मलिन र भिन्सेन्ट कोम्पनी) बाहेक अरू जन्मिएका पनि थिएनन् । त्यही विश्वकपमा बेल्जियम तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्ससँगै अतिरिक्त समयमा ४–२ ले पराजित भएको थियो।

तीन दशकपछि रूसमा जारी विश्वकपमा पनि संयोगवश बेल्जियम र फ्रान्स मंगलबार सेमिफाइनलमा आमनेसामने हुँदै छन्। बेल्जियम २००६ र २०१० मा विश्वकपमा छनोट हुन सकेको थिएन । त्यसपछि बेल्जियमले घरेलु लिग परिमार्जन गर्दै व्यवस्थित बनाएको थियो। परिमार्जन गर्नाका बावजुद बेल्जियम लिगले विश्वका खेलाडीलाई आकर्षण गर्न सकेन। तर, त्यही लिगले जन्माएका खेलाडी भने युरोपका अन्य ठूला लिगमा गएर स्थापित भए। यसरी बेल्जियम राष्ट्रिय टोलीमा ‘गोल्डेन जेनेरेसन’ को उदय भयो। अहिले बेल्जियम टोलीका ११ खेलाडी इङ्लिस प्रिमियर लिग खेलिरहेका छन्।

जर्मनीमा सम्पन्न २००६ को विश्वकपमा उत्कृष्ट खेलाडी रहेका जिनेदिन जिदानको फ्रान्स टाइब्रेकरमा इटालीसँग पराजित भएपछि उपाधिबाट वञ्चित भएको थियो। त्यसपछि फ्रान्सले विश्वकपको सेमिफाइनल खेल्न लागेको यो पहिलो हो। १९९८ को विश्वविजेता फ्रान्स रूसमा जारी विश्वकपमा सुरुदेखि नै बलियो दाबेदारका रूपमा रहेको थियो।

फिफा विश्व वरीयतामा तेस्रो स्थानमा रहेको बेल्जियमले सातौं स्थानको फ्रान्सबीच अहिलेसम्म ७३ अन्तर्राष्ट्रिय खेल भएका छन्। विगतको नतिजा हेर्दा बेल्जियम बलियो स्थितिमा देखिन्छ। बेल्जियमले ३० खेलमा जित र १९ खेल बराबरी खेलेको छ। फ्रान्स २४ खेलमा विजयी भएको छ। इतिहासको नतिजा जसको पक्षमा भए पनि अहिले दुवै टोली बलिया छन्। यसैले मंगलबारको नतिजा कुन टोलीको पक्षमा जान्छ भनेर अनुमान लगाउन मुस्किल छ।

फ्रान्सले सेमिफाइनलसम्मको यात्रा तय गर्दा लियोलन मेसीको अर्जेन्टिनाजस्तो दाबेदार टोलीविरुद्ध ४–३ को सनसनीपूर्ण नतिजा निकालेको थियो। क्वार्टरफाइनलमा पनि फ्रान्सले बलियो रक्षापंक्ति रहेको उरुग्वेविरुद्ध पनि सबैको अपेक्षाविपरीत २–० को जित निकाल्न खासै संघर्ष गर्नु परेन। फ्रान्ससँग अग्रपंक्तिमा किलियन एमबाप्पे, ओलिभर जिरौड र एन्टोनी ग्रिजम्यान छन्। अग्रपंक्तिले पाउल पोग्बा, एन‘गोलो कान्टे र डिडियर मतौडीको बलियो साथ पाएको छ। बेन्जामिन पाभर्ड, सामुयल उम्टिटी, राफायल भरानको उपस्थितिले फ्रान्सको रक्षापंक्ति मजबुत बनाएको छ। त्यति मात्र होइन फ्रान्सका रक्षकहरूले गोल पनि गर्दा टोलीले गोलका लागि फरवार्डमा मात्र भर पर्नुपरेको छैन। फ्रान्सलाई अनुभवी गोलरक्षक ह्युगो लोरिस पोस्टमा हुनुको फाइदा पनि छ। जसका कारण फ्रान्सका रक्षक खुलेर अगाडि बढ्न पाएका छन्। प्रतियोगितामा फ्रान्सले ५ खेलमा ११ गोल गरेको छ भने ४ गोल मात्र खाएको छ। समान तीन गोल गरेका ग्रिजम्यान र एमबाप्पेले फ्रान्सको जितमा महŒवपूर्ण भूमिका खेलेका छन्। ग्रिजम्यान स्ट्राइकर मात्र नभई टोलीको ‘आर्किटेक’को भूमिका देखिएका छन्। अर्जेन्टिनासँगको खेलमा ३७ किलोमिटर प्रतिघण्टाको गतिमा बल ड्रिबलिङ गरी प्रत्येक मुभ र गोलमा अहम् भूमिका निर्वाह गरेका एमबाप्पे प्रतियोगिताको असाधारण खेलाडीका रूपमा उदाएका छन्।

‘गोल्डेन जेनेरेसन’ को बेल्जियम टोली रूस पुग्दा कागजी रूपमा मात्र बलियो टोली मानिएको थियो। तर रूसमा पाएको सफलताले बेल्जियमले आफूलाई सङ्गठित र बलियो टोलीका रूपमा स्थापित गर्न सफल भएको छ। बेल्जियमले समूहचरणमा इङ्ल्यान्डलाई समेत पराजित गरी शतप्रतिशत नतिजा निकालेको थियो। प्रि–क्वार्टरफाइनलमा दुई शून्यको अवस्था उल्टाउँदै बेल्जियमले जापानमाथि ३–२ को विजयनतिजा निकालेको थियो। त्यस्तै क्वार्टरफाइनलमा दाबेदार मानिएको पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै बेल्जियमले आफू कागजी रूपमा मात्र नभई वास्तवमै बलियो टोली भएको पुष्टि गरेको छ। बेल्जियमले प्रतियोगितामा सबैभन्दा बढी १४ गोल गरिसकेको छ। त्यो १४ गोल टोलीका ९ फरक खेलाडीले गरेका हुन् । यसबाट बेल्जियमका जोसुकैले पनि गोल गर्न सक्छन् भन्ने देखिन्छ । इडेन हाजार्ड, रोमेलु लुकाकु र केभिन डी ब्रुयना सम्मिलित बेल्जियमको फरवार्ड लाइन विश्वकै उत्कृष्ट मानिन्छ । नासिर चाड्ली, मारोउनी फेलानी र एक्सेल विट्सले ब्राजिलविरुद्धको खेलबाट मिडफिल्डमा आपूmहरू उत्कृष्ट रहेको प्रमाणित गरेका छन्। इङ्ल्यान्डविरुद्धको खेलबाट टोलीमा फर्किएका अनुभवी भिसेन्ट कोम्पनीले बेल्जियमको रक्षापंक्तिलाई पनि संगठित र मजबुत बनाएका छन्। ब्राजिलविरुद्ध नायक रहेका चेल्सीका गोलकिपर थियाबाउट कोर्टियसले बेल्जियमको पोस्ट पनि सुरक्षित राखेका छन्।

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले सुरुबाटै ४–२–३–१ को फर्मेसनमा खेलाइराखेका छन्। अबको खेलमा पनि डेसच्याम्पले सोही फर्मेसनलाई कायम राख्छन् कि ४–३–३ को शैली अबलम्बन गर्छन् हेर्न बाँकी छ । जिरौडको उचाइ, ग्रिजम्यानको दूरदर्शीपनका साथै एमबाप्पेको गतिको फाइदा लिँदै पोग्वा र कान्टेलाई मध्यक्षेत्रमा भरपर्दा खेलाडीका रूपमा राख्ने हो भने फ्रान्सले  बेल्जियमविरुद्ध पनि ४–२–३–१ कै फर्मेसनमा खेल्ने देखिन्छ।

बेल्जियमले सुरुबाटै ३–४–३ को फर्मेसनमा खेल्दै आएको छ। यसरी खेल्दा बेल्जियमसँग सधैं ३ उत्कृष्ट फरवार्ड रहेका छन् । बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले डी ब्रुयनालाई ब्राजिलविरुद्धको खेलमा मिडफिल्डबाट फरवार्डमा लगेका थिए। ब्राजिलविरुद्ध मार्टिनेजको रणनीति सफल भएकाले फ्रान्सविरुद्ध पनि डी ब्रुयनालाई फरवार्डकै जिम्मा दिने बलियो सम्भावना छ। प्रशिक्षकले मध्यपंक्तिमा खेलाडी परिवर्तन गरिरहेका कारण फ्रान्सविरुद्ध कसलाई मिडफिल्डको जिम्मेवारी दिने भन्नेमा मार्टिनेज दुबिधामा हुन सक्छन्। जापानविरुद्ध पहिलो हाफमै २ गोल खाएको र ब्राजिलसँग पनि धेरैभन्दा धेरै आक्रमण झेल्नुपरेकाले प्रशिक्षकले आफ्नो रक्षापंक्तिमा पुनर्विचार गर्न सक्छन्।

जारी विश्वकपमा बेल्जियम काउन्टर अट्याकमा सबैभन्दा सफल टोलीका रूपमा देखिएको छ। डी बु्रयना, लुकाकु र हाजार्डले आफ्नो क्षेत्रबाट तीव्र गतिमा काउन्टर अट्याकमा जाँदै विपक्षी (जापान र ब्राजिल) को पोस्टमा गोल गर्न सफल भएका छन्। त्यस्तै आक्रमण फ्रान्सविरुद्ध पनि हुन सक्छ। कान्टे र पोग्बाले बेल्जियमको त्यस्तो आक्रमणलाई निगरानी गर्नुपर्ने देखिन्छ। रक्षापंक्तिमा तीन खेलाडी मात्र खेलाउने भएकाले फ्रान्सका एमबाप्पे, ग्रिजम्यान र जिरौडको आक्रमण रोक्न बेल्जियमका मिडफिल्डहरूले रक्षाकलाई सघाउनुपर्छ।

दुबै टोली मैदानका सबै क्षेत्रमा उत्कृष्ट रहेको र सेमिफाइनलको दबाब दुवै टोलीलाई हुने भएकाले एकअर्कालाई स्वतन्त्रपूर्वक खेल्ने अवसर दिँदैनन्। दुवै टोली सेटपिसमा उत्कृष्ट छन्। त्यसैले सेटमा जसले मौका चुकाउँछ त्यसलाई सफलता हासिल गर्न गाह्रो हुन्छ।

बेल्जियमले विगतको उत्कृष्ट प्रदर्शन र अनुभवलाई कायम राख्न सक्यो भने नतिजा आफ्नो पक्षमा पार्न सक्छ। तर युवा खेलाडीको बाहुल्य रहेको फ्रान्सको गतिलाई बेल्जियमले रोक्न सकेन भने नतिजा फ्रान्सको पक्षमा पनि जान सक्छ।

यसमा तपाईको मत