इडेन हाजार्ड (बेल्जियम)

फिचर खेलाडी
आइतबार, २७ जेठ २०७५, ११ : ३२ नागरिक

नाम : इडेन हाजार्ड

जन्म : जनवरी ७, १९९१ (ला लउभिएरे)

पोजिसन : आक्रामक मिडफिल्ड

क्लब : लिले, चेल्सी

विभिन्न उमेरसमूह हुँदै बेल्जियमको राष्ट्रिय टोलीमा परेका इडेन हाजार्डले भिसेन्ट कोम्पनीको अनुपस्थितिमा टोलीको कप्तानी सम्हालिसकेका छन्।

ला लोउभिएरेमा जन्मिएर ब्रेन–ले–कोम्टेमा हुर्किएका हाजार्डका आमाबुबा दुवै जना फुटबल खेलाडी हुन् । खेलमय पारिवारिक वातावरणमा हुर्किएका हाजार्ड ४ वर्षको उमेरमा स्थानीय क्लब रोयल स्टेड ब्रेनोइजमा भर्ना भएका थिए । हाजार्डको बाल्यकालमा एक जना प्रशिक्षकले उनलाई ‘भगवान्को उपहार’ भन्ने गर्थे । ब्रोनोइजमा आठ वर्ष बिताएपछि हाजार्ड टुविजमा आबद्ध भए।

२००५ मा फ्रान्सको क्लब लिलेमा आबद्ध भएका हाजार्डले २००७ मा क्लबसँग तीन वर्षका लागि व्यावसायिक सम्झौता गरे । पाँच वर्षसम्मको लिले बसाइ टुंग्याउँदै हाजार्डले २०१२ जुनमा चेल्सीबाट खेल्ने निधो गरे । थिवाउट कोर्टियस, रोमेलु लुकाकु र केभिन डी ब्रुयनापछि चेल्सीबाट खेल्ने हाजार्ड बेल्जियमका चौथो खेलाडी बने।

फ्रेन्च लिग वानमा दुई पटक वर्ष खेलाडी बनेका हाजार्डले लन्डन क्लबमा पनि त्यही लय कायम राख्न सफल भए । इङ्लिस प्रिमियर लिगको पहिलो सिजन नै हाजार्डले पिएफए प्लेयर अफ दी इयर र योङ प्लेयरको अवार्ड जित्न सफल भएका थिए । त्यसपछि लन्डन क्लब चेल्सीको महत्वपूर्ण सदस्य बनेका हाजार्डमाथि युरोपका ठूला क्लबहरूले आँखा गाडेका थिए । तर चेल्सीले उनलाई बेच्न चाहेन।

१७ वर्षको उमेरमा हाजार्डले २००८ नोभेम्बरमा लक्जेम्बरविरुद्धको खेलमा बेल्जियबाट डेब्यु गरे । त्यसको ९ महिनापछि चेक गणतन्त्रविरुद्ध पहिलो रोजाइमा पर्न सफल भएपछि हाजार्डले नियमित राष्ट्रिय टोलीमा स्थान बनाइराखेका छन् । विश्वकप युरोपेली छनोट प्रतियोगितामा ६ गोल गरेका हाजार्डले बेल्जियमबाट २२ गोल गरिसकेका छन्।

यसमा तपाईको मत