इङ्ल्यान्ड कमजोर नरहेको पुष्टि

नेपाली नजरमा
सोमबार, ११ असार २०७५, १९ : ०५ नागरिक

ट्युनिसियाविरुद्ध २–१ को जितमा संघर्ष गर्दा सबैले इङ्ल्यान्डलाई यस पटक पनि कमजोर टोलीका रूपमा लिएका थिए । तर छनोट चरणमा अपराजित इङ्ल्यान्डले पानामाविरुद्ध जुन नतिजा निकाल्यो, त्यसबाट इङ्ल्यान्डले आफू कमजोर टोली नरहेको पुष्टि गरेको छ। 

पहिलो खेलमा इङ्ल्यान्डका प्रशिक्षक साउथगेटले एक खेलाडी मात्र परिवर्तन गरेर उही (३–५–२) फर्मेसनमा खेलाएका थिए । पानामा पहिलो खेलको पराजयपछि एक अंकका लागि खेलेको थियो । पानामाले ४–१–४–१ को रक्षात्मक रणनीति अपनाएर इङ्ल्यान्डसँग १ अंक खोस्ने प्रयास गरेको देखिन्छ । पानामाले रक्षात्मक खेल्नुको फाइदा इङ्ल्यान्डले लियो । इङ्ल्यान्ड आक्रामक  टोली हो। 

आठौं मिनेटमा जोन स्टोनले गोल गरेर अग्रता लिएपछि इङ्ल्यान्डको आक्रमणले लय समायो । जहाँ पहिलो हाफमै पाएका दुई पेनाल्टी इङ्ल्यान्डको भाग्य परिवर्तन गर्न सहयोगी बने । पानामाविरुद्ध पूरै हाबी भएको इङ्ल्यान्डले लागातारको आक्रमण सफल हुँदा पहिलो हाफमै ५–० को अग्रता लिन सफल भयो।

पहिलो हाफमा ५–० को अग्रता लिँदा इङ्ल्यान्डले १९८२ मा हंगेरीले एल साल्भाडोरलाई १०–१ को फराकिलो अन्तरमा पराजित गरेको कीर्तिमान तोड्ने सङ्केत देखिएको थियो । तर, दोस्रो हाफमा प्रशिक्षक साउथगेटले बुद्धिमत्तापूर्वक महत्वपूर्ण खेलाडीलाई आराम दिएर आफ्नो रणनीति परिवर्तन गरेका थिए । दोस्रो हाफमा इङ्ल्यान्डले ‘रिल्याक्स गेम’ खेलेको थियो । यसै क्रममा १९८६ पछि इङ्ल्यान्डका फरवार्ड ह्यारी केन ह्याट्रिक गर्न सफल भए । ह्याट्रिकसँगै प्रशिक्षक साउथगेटले केनलाई पनि आराम दिएका थिए।  

यस जितसँगै समूह ‘जी’ मा इङ्ल्यान्ड र बेल्जियमले नकआउट चरण  पक्का गरेका छन् । दुवै टोलीले दुई खेलबाट ६ अंक बटुलेका छन् । साथै दुवै टोलीले २ खेलमा ८ गोल गरेका छन् भने २ गोल खाएका छन् । त्यसैले दुवै टोलीको गोल अन्तर समान ६ गोल रहेको छ ।  समूह चरणको अन्तिम खेलमा इङ्ल्यान्ड र बेल्जियम खेल्दा जित्ने टोली समूहविजेता बन्नेछ । बराबरी भए कम पहेंलो÷ रातो कार्ड खाने टोली विजेताका रूपमा अर्को चरण प्रवेश गर्नेछ।

आइतबारको फराकिलो जितपछि इङ्ल्यान्डमाथिको अपेक्षा ह्वात्तै बढेको छ । एकाएक टोलीलाई दाबेदारको रूपमा लिइन थालेको छ । तर इङ्ल्यान्डले कुन परिस्थितिमा खेलेर कसका विरुद्ध नतिजा ल्याएको भन्ने बिर्सनु उपयुक्त हुँदैन । इङ्ल्यान्डले ठूला प्रतियोगिता खेल्दा सधैँ दाबेदारका रूपमा खेल्ने गथ्र्यो । त्यसैले टोलीमाथि दबाब पनि त्यही स्तरमा हुने गथ्र्यो । फलस्वरूप त्यो दबाब चिर्न नसक्दा सधैं असफल हुने गरेको थियो।

तर यसपालि इङ्ल्यान्डको टोलीमाथि कसैको ठूलो अपेक्षा थिएन, जसका कारण उनीहरू बिनादबाब खेल्न स्वतन्त्र थिए । जसको नतिजा दुई चरणका खेलमा देखियो । तर दोस्रो खेलपछि टिममाथिको अपेक्षा बढेको छ । जसले इङ्ल्यान्डका युवा खेलाडीलाई दबाबमा ल्याउन सक्छ । विश्वकपका आगामी खेलमा उनीहरूले पानामाजस्तो सजिलो विपक्षी  पाउने छैनन्।

जर्मनी र स्विडेनबीचको खेल जारी विश्वकपकै रोमाञ्चकमध्येको एक हुन पुग्यो । जर्मनीका प्रशिक्षक जोचिम लोउले पहिलो खेलमा मेक्सिकोसँग पराजित भएपछि दोस्रो खेलमा चार खेलाडी (सामी खेदिरा, मेसुट अ‍ेजिल, मेट ह्युमेल्स, मार्भिन प्लाटेनहार्ड) परवर्तन गरेका थिए । त्यसको प्रभाव मैदानमा देखिएको थियो । जर्मनीले पहिलो खेलमा भन्दा सुधारिएको प्रदर्शन गर्याे । पहिलो खेलमा दक्षिण कोरियालाई पराजित गरेको स्विडेनले जर्मनीसँग १ अंक लिन खेलेको जस्तो देखिन्थ्यो।

जर्मनीले राम्रो खेल्दाखेल्दै रक्षापंक्ति र गोलकिपरबीच तालमेल नहुँदा गोल खाएको थियो । यसले जतिसुकै राम्रा खेलाडी भए पनि लामो समय प्रतिस्पर्धात्मक खेल नखेल्दा लय गुमाउँछ भन्ने प्रमाणित भएको छ । विश्वकपमा उत्कृष्ट गोलकिपर भएका म्यानुअल नुयुर गत सिजन चोटका कारण लामो समय मैदानबाहिर थिए । तथापि समय बित्दै जाँदा नुयुरको प्रदर्शन पनि निखारिँदै गएको थियो । पहिलो हाफमा एक शून्यले पछि परे पनि दोस्रो हाफको सुरुमै गोल फर्काउँदा जर्मनीले लय समाउन पुग्यो।

मैदानको हरेक स्थानमा राम्रो देखिएको जर्मनीले लगातार स्विडेनविरुद्ध आक्रमण गरिरह्यो । यसै क्रममा दुर्भाग्यवश ८२औं मिनेटमा जर्मनीका महत्वपूर्ण रक्षक जेरोम बोएटिङले दोस्रो पहेंलो कार्ड (रातो कार्ड) को सामना गर्दै मैदान छाड्नुपर्याे । खेलको नतिजा १–१ को बराबरी आउँदा जर्मनी विश्वकपबाट बाहिरिनु जस्तै हुन्थ्यो । तर विश्वविजेता जर्मनीले त्यति बेला आफ्नो स्वाभाविक चरित्र प्रदर्शन गर्याे।

अन्तिम समयसम्म पनि हिम्मत हारेन । दश खेलाडीमा सीमित हुनाका बावजुद पनि जर्मनीले स्विडेनविरुद्ध लगातार दबाब सिर्जना गरिरह्यो । फलस्वरूप खेल सकिन ३० सेकेन्ड मात्र बाँकी रहँदा टोनी क्रुसले गोल गरे । क्रुसको त्यही गोलमा २–१ को नतिजा निकालेको जर्मनीले विश्वकप यात्रालाई कायम राख्यो । यससँगै जर्मनीले हरेक खेलमा सुधार गर्दै जाने संकेत देखाएको छ।

समूहको अन्तिम चरणका खेलहरू सोमबारबाट सुरु हुँदै छन् । जसअन्तर्गत ‘स्पोर्टिङ रिजन’ ले प्रत्येक समूहको दुई खेल एकै समयमा हुने गर्छ । सोमबार समूह ‘ए’ मा आयोजक रूसविरुद्ध उरुग्वे र साउदी अरेबियाविरुद्ध इजिप्टका खेल एकै समयमा हुन्छन्। 

समूहचरणको पहिलो २ खेलमा रूसले ८ गोल गरिसकेको छ । घरेलु मैदान र समर्थकको साथ रहने हुँदा उरुग्वेविरुद्ध पनि रूसले आफ्नो पक्षमा नतिजा निकाले अचम्म मान्नु पर्दैन । तर उरुग्वेमा विश्व फुटबलकै उत्कृष्ट फरवार्ड लुइस स्वारेज, इडिन्सन काभानीजस्ता खेलाडी छन् । यी दुई खेलाडीले जति बेला पनि खेलको नतिजा परिवर्तन गर्न सक्ने क्षमता राख्छन् । त्यसैले आयोजक रूस र उरुग्वेबीचको खेल रोमाञ्चक हुन्छ। 

दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले इजिप्ट र साउदी अरेबियाबीचको खेल भने प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । तथापि अहिले उत्कृष्ट लयमा रहेका मोहम्मद सालाह टोलीमा रहेकाले इजिप्ट तुलनात्मक रूपमा बलियो देखिन्छ । सालाहलाई पनि अन्तिम खेलमा आफूलाई प्रमाणित गर्ने मौका हुनेछ।

समूह ‘बी’ अन्तर्गत स्पेनले मोरक्कोसँग खेल्नेछ भने पोर्चुगलले इरानविरुद्ध खेल्नेछ । स्पेन र पोर्चुगलको समान ४ अंक छ भने इरानले ३ अंक जोडेको छ । मोरक्को भने प्रतियोगिताबाट बाहिरिसकेको छ । त्यसैले स्पेनविरुद्ध मोरक्कोले प्रतिष्ठाका लागि मात्र खेल्नेछ । स्पेनले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको छ र मोरक्कोविरुद्ध पनि युरोपेली टोलीले जित्ने विश्वास गर्न सकिन्छ। 

इरानले जित हासिल गरे दोस्रो चरण पुग्ने सम्भावना हुने भएकाले पोर्चुगलविरुद्ध राम्रो चुनौती पेस गर्नेछ । इरानको रक्षापंक्ति बलियो भएका कारण क्रिस्टियानो रोनाल्डोलाई रोक्न सके इरानले पनि नतिजा निकाल्न सक्छ । तथापि पोर्चुगलले इरानविरुद्ध बराबरी गरे मात्र पुग्ने भएकाले  युरोपियन च्याम्पियनको पल्ला भारी हुने देखिन्छ।

यसमा तपाईको मत