इङ्ल्यान्डको तेज रोक्न कठिन

नेपाली नजरमा
आइतबार, २४ असार २०७५, ०० : ४४ नागरिक

सबैको अपेक्षाअनुरूप स्विडेनले आफूलाई अन्डरडग मानेर रक्षात्मक खेल्यो । त्यसको फाइदा इङ्ल्यान्डको युवा टोली लिन सफल भयो । इङ्ल्यान्डको तेजलाई रोक्न स्विडेनका रक्षापंक्तिलाई कठिन भयो।

गोल नगरे पनि रहिम स्टर्लिङले विपक्षी रक्षापंक्तिलाई खलबलल्याउन सफल भइरहेका छन् । स्टर्लिङ, कप्तान ह्यारी केन, जिसे लिङ्गार्डसँगै डिले अलीले निरन्तर विपक्षी पोस्टमा आक्रमण गरिरहे । सेटपिसमा स्विडेनका रक्षकहरूले पनि इङ्ल्यान्डका तिनै स्टार खेलाडीलाई मार्क गरे । त्यसको फाइदा लिँदै रक्षक ह्यारी म्यागुइरेले ३०औं मिनेटमा हेडबाट गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिए। 

बराबरी गोल फर्काउनका लागि दोस्रो हाफको दश मिनेट स्विडेनले राम्रो खेल्यो । विपक्षी पोस्टमा आक्रमण पनि बुन्यो । तर, स्विडेनको त्यो प्रयासलाई इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले निस्तेज बनाइदिए । त्यसपछि इङ्ल्यान्ड पुनः लयमा फर्कियो । इङ्लिस टोलीको ह्यारी केन मात्र नभई सबै खेलाडीले गोल गर्ने क्षमता राख्छन् । इङ्ल्यान्डले निरन्तर आक्रमण गरिरहँदा डिले अलीले ५९औं मिनेटमा अर्को गोल थपे । त्यसपछि स्विडेनले पुनरागमन गर्न सकेन । पिकफोर्डले स्विडेनविरुद्ध ३÷४ वटा राम्रा बचाउ गरेका छन् । जसका कारण उनको मनोबल बढाएको छ र त्यसको प्रत्यक्ष फाइदा अर्को खेलमा इङ्ल्यान्डलाई हुनेछ।

अहिलेसम्मका सबै संस्करणमा सहभागिता जनाउँदै आएको ब्राजिलले पाँच पटक विश्वकपको उपाधि उचालिसकेको छ । त्यसैले विश्वकपमा ब्राजिलको खेललाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । शुक्रबार ब्राजिलले बेल्जियमविरुद्ध खेल्दा पनि सारा विश्वको ध्यान त्यही खेलमा केन्द्रित थियो, नतिजा कस्तो आउँछ भनेर।

‘गोल्डेन जेनेरेसन’ मानिएको अहिलेको बेल्जियम टोलीबाट पनि धेरे फुटबल समर्थकले आशा गरेका थिए । काजान एरिनामा दुवै टोली जितका लागि समान हकदार थिए । बराबरको हैसियतमा थिए।

४–२–३–१ को फर्मेसनमा खेल्दै आएको ब्राजिल रूसमा अपराजित टोली थियो । प्लेमेकर कासेमिरोले दुई पटक पहेँलो कार्डको सामना गरेका कारण शुक्रबार निलम्बनमा थिए । तर, कुनै एक खेलाडीको अनुपस्थितिमा टोलीको संरचना खलबलिने टोली ब्राजिल होइन । युरोपमा शक्तिशाली टोलीका रूपमा उदाएको बेल्जियमले ब्राजिलविरुद्ध जोखिम मोल्दै ३–४–३ को फर्मेसनमा खेलेको थियो । बेल्जियमले आफ्ना प्रमुख खेलाडी इडेन हाजार्ड, रोमेलु लुकाकुसँगै केभिन डी बु्रयनालाई पनि फरवार्डमा खेलाएको थियो । यसअघिका खेलमा डी ब्रुयना मिडफिल्डको भूमिका हुन्थे।

दुई ठूला र बलिया टोलीबीच प्रतिस्पर्धा हुँँदा खेलसँगै मानसिक रूपमा पनि टोली बलियो हुनुपर्छ । त्यसैले जस्तो फर्मेसनमा खेले पनि दबाबमुक्त भएर खेल्ने टोलीले राम्रो खेल्न सक्छ । शुक्रबार ब्राजिल र बेल्जियमबीचको खेलमा यस्तै भयो । दुवै टोलीमा स्टार खेलाडीको कमी थिएन । बेल्जियले सुरुमा ब्राजिलसँग केही दबाब महसुस गरेको देखियो । ब्राजिलले सुरुआती दश मिनेट राम्रा अवसर सिर्जना गर्दै कम्तीमा ३ गोल गर्ने मौका गुमाएको थियो । यद्यपि ब्राजिलले बेल्जियमको तुलनामा राम्रो खेलेको थियो।

बेल्जियमका खेलाडीहरूले आफ्नो क्षेत्रको आक्रमण झेल्दै काउन्टरको पनि प्रयासमा गरेका थिए । यसै क्रममका बेल्जियमले पहिलो काउन्टरको रूपमा ब्राजिलको पोस्टमा १२औं मिनेटमा अट्याक गर्न पुग्यो । ‘सेट पिस’ मा सधैं उत्कृष्ट रहेको बेल्जियमका मिडफिल्डर नासिर चाड्लीको कर्नर प्रहार फर्नान्डिन्होले क्लियर गर्न खोज्दा कुममा लागेर आफ्नै पोस्टमा गोल हुन पुग्यो । १३औं मिनेटमा खाएको त्यही आत्मघाती गोलबाट ब्राजिलको दुर्भाग्य सुरु भएको थियो । एक गोलको अग्रतापछि बेल्जियमको आत्मविश्वास बढेको देखिन्छ भने ब्राजिलले गोलका लागि गरेका प्रयास निरन्तर विफल भइरहँदा टोलीमाथि दबाब बढ्दै गयो।

मैदानको बायाँ भागबाट ब्राजिलका नेइमार, मार्सेलो र फिलिप कौटिन्होले बेल्जियमको पोस्टमा लगातार आक्रमण गरिरहेका थिए । बेल्जियमको रक्षापंक्तिले आफ्नो पेनाल्टी क्षेत्रभित्र ब्राजिलको आक्रमणलाई कुनै मौका दिएन । पेनाल्टी क्षेत्रबाहिरबाट ब्राजिलले  गरेका केही प्रयासलाई बेल्जियमका गोलकिपर थियाबाउट कोर्टियलले उत्कृष्ट बचाउ गरेका थिए । यही शैलीमा खेल चलिरहँदा ‘ट्रान्जिसन पिरियड’ मा काउन्टर अट्याकको सम्भावना बढी हुन्छ।

ब्राजिलले पनि त्यही नियति भोग्नुपर्यो । ३१औं मिनेटमा बेल्जियमका फरवार्ड लुकाकुले काउन्टर अट्याक गर्ने क्रममा आफ्नो क्षेत्रमा रहेको बललाई ब्राजिलियन खेलाडीको हूलबाट अघि बढाएका थिए । ‘ड्रिबल’ गर्दै बल अघि लगेका लुकाकुले विपक्षीको पेनाल्टी एरियानजिक रहेका डी बु्रयनालाई पास उपलब्ध गराए । त्यही पासलाई डी ब्रुयनाले कुनै गल्ती नगरी गोलमा परिणत गरे।

बेल्जियमले २–० को अग्रता लिएपछि ब्राजिलमाथि थप दबाब बढ्यो । अग्रता दोब्बर बनाएपछि बेल्जियमले विपक्षी पोस्टमा आक्रमण गर्नुभन्दा आफ्नै पोस्ट सुरक्षित राख्ने रणनीति अपनायो । रक्षात्मक खेलमा बेल्जियम सफल हुँदै जाँँदा ब्राजिलले फरक शैलीमा खेल्ने प्रयास ग¥यो । तर, त्यो सफल हुन सकेन । खेलमा फर्किनका लागि ब्राजिलले मध्यान्तरअघि १ गोल फर्काउन सकेको भए सुखद हुन सक्थ्यो । तर बेल्जियमको रक्षापंक्ति र गोलकिपरले ब्राजिललाई त्यो मौका दिएनन्।

दोस्रो हाफमा ब्राजिलका प्रशिक्षक टेटेले रणनीति परिवर्तन गर्दै डगलस कोस्टा, रोर्बटो फिर्मिनो र रेनाटो अगुस्टोलाई मैदान छिराए । काउन्टर अट्याकको जिम्मेवारी पाएका हाजार्ड र लुकाकु दोस्रो हाफमा पनि उत्कृष्ट देखिए । गोलकिपर कोर्टियसले एकपछि अर्को आक्रमणलाई विफल बनाए । ब्राजिलका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अगुस्टोले ७६औं मिनेटमा हेडमार्फत गोल गर्दै अन्तर कम बनाए।

दुई ठूला टोलीबीच प्रतिस्पर्धा हुँदा दुई शून्यले पछि परेको स्थिति उल्टाउन गाह्रो हुने गरेको इतिहास छ । यसलाई बेल्जियमले पनि कायमै राख्दा ब्राजिललाई २–१ ले पराजित गर्न सफल भयो । जारी विश्वकपका कतिपय खेलमा ‘बल पोसेसन’ धेरै राख्दा पनि टिम पराजित हुँदै आएका थिए । त्यसबाट ब्राजिल पनि अछुतो रहन सकेन।

यसमा तपाईको मत