नेइमार (ब्राजिल)

फिचर खेलाडी
शुक्रबार, १८ जेठ २०७५, १२ : २६ नागरिक

नाम : नेइमार डी सिल्भा सान्तोस जुनियर

जन्म : फेब्रुअरी ५, १९९२ (साओ पाउलो)

पोजिसन : फरवार्ड

क्लब : पोर्चुगुएसा सान्टिस्ता, सान्तोस (ब्राजिल), बार्सिलोना (स्पेन), पिएसजी (फ्रान्स)

विश्वका सबैभन्दा महँगा फुटबल खेलाडी हुन्, नेइमार । हुने विरुवाको चिल्लो पात भनेजस्तै नेइमारले सानै उमेरमा आफ्नो प्रभाव छाडेका थिए।

खेलाडी बुबाको पदचाप पछ्याउँदै नेइमार पनि फुटसल र खेलक्षेत्रमा आकर्षित भए । १९९९ मा पोर्तुगुएसा सान्टिस्टामा अनुबन्धित हुँदै नेइमारले फुटबलमा पाइला टेकेका थिए । त्यसको केही वर्षमै उनी देशको प्रतिभावान् युवा खेलाडीका रूपमा उदाएका थिए । ११ वर्षको उमेरमा ब्राजिलकै सान्तोस क्लबमा अनुबन्धित नेइमारले सानै उमेरमा विश्व फुटबलको ध्यान आफूमा केन्द्रित गर्न सफल भए । २०१३ मेमा स्पेनको बार्सिलोनासँग अनुबन्धित भएपछि उनको लोकप्रियता अझ चुलिएको थियो।

बार्सिलोनाबाट २ स्पेनिस ला लिगाको उपाधि जितेका नेइमारले तीन कोपा डेल रे तथा च्याम्पियन्स लिग र क्लब विश्व कपको उपाधि जितेका थिए । त्यसअघि उनले सान्तोसबाट कोपा डो ब्राजिल, कोपा लिबर्टाडोरेस र रेकोपा सुडामेरिकानोको उपाधि जितेका थिए।

नेइमार बार्सिलोनाबाट कीर्तिमानी २२ करोड २० लाख युरोमा फ्रान्सको पिएसजीसँग अनुबन्धित भए । त्यससँगै उनी विश्वकै सबैभन्दा महँगा खेलाडी बनेका हुन् । पिएसजीबाट उनले फ्रान्स लिग वान, कप डी फ्रान्स र कप डी ला लिगको उपाधि जितेका छन् । सान्तोसबाट १ सय ३६ गोल गरेका नेइमारले बार्सिलोनाबाट १ सय ५ तथा पिएसजीबाट २८ गोल गरेका छन् । ब्राजिलबाट नेइमारले ५३ गोल गरिसकेका छन्।

यसमा तपाईको मत