फाइनलझैँ ब्राजिल र बेल्जियमबीचको भिडन्त

नेपाली नजरमा
शुक्रबार, २२ असार २०७५, ०८ : ३४ नागरिक

विश्वकप फुटबलमा युरोपेली राष्ट्र र दक्षिण अमेरिकी टोलीबीचको भिडन्त सधैं रोमाञ्चक हुन्छ। रूसमा विश्वकपको पहिलो क्वार्टरफाइलनमा फ्रान्सले उरुग्वेविरुद्ध प्रतिस्पर्धा गर्दै छ। जुन खेल आकर्षक हुने अनुमान लगाउन सकिन्छ।

सन् १९९८ को विजेता फ्रान्सले पछिल्लो पटक विश्वकपको फाइनल खेलेको पनि १२ वर्ष भइसेकेको छ। १९३० को पहिलो संस्करणको विजेता उरुग्वेले १९५० मा दुई दिन खेलेर ब्राजिललाई पराजित गर्दै उपाधि जितेको पनि ६८ वर्ष पूरा भइसकेको छ। रूस विश्वकपमा अपत्यारिलो टोलीका रूपमा उरुग्वेले आफ्नो समूहमा इजिप्ट, साउदी अरेबिया र आयोजक रूसलाई पराजित गर्दै पूर्णाङ्क (९ अंक) सहित नकआउट चरणमा स्थान बनाएको हो। समूहचरणका तीन खेलमा उरुग्वे एक गोल पनि खाएको थिएन। यसले टोलीको रक्षापंक्ति कति मजबुत छ भन्ने देखाउँछ। अन्तिम १६ मा युरोपियन च्याम्पियन पोर्चुगललाई पराजित गर्दै उरुग्वेले युरो २०१६ को उपविजेता फ्रान्ससँगको भेट पक्का गरेको हो। उरुग्वेले जारी प्रतियोगितामा पाँच खेल खेल्दा एक गोल मात्र खाएको छ। डिएगो गोडिन, एडिन्सन काभानी र लुइस स्वारेज सम्मिलित उरुग्वेमा फ्रान्सको तुलनामा स्टार खेलाडीको कमी छ।

४–४–२ को शैलीमा खेल्दै आएको उरुग्वेका लुइस स्वारेज र काभानीको आक्रमण विपक्षीका लागि टाउको दुखाइ बन्दै आएको छ। तर, चोटका कारण काभानीले खेल्न सकेनन् भने उरुग्वेको अग्रपंक्तिमा समस्या देखिन सक्छ। नकआउट चरणअन्तर्गत पोर्चुगलविरुद्धको खेलमा काभानीले दुई गोल गरेका थिए। रक्षापंक्ति, मिडफिल्ड र फरवार्डबीचको आपसी तालमेल उत्कृष्ट रहेका कारण उरुग्वेको ‘टिम वर्क’ राम्रो छ। ‘सेटपिस’ मा स्वारेजको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ।

चर्चित खेलाडीले भरिएको फ्रान्सको हरेक पक्ष सबल छ। फ्रान्सले समूहचरणमा एसियाली टोली अस्ट्रेलिया र दक्षिण अमेरिकी टोली पेरूविरुद्ध जितका लागि संघर्ष गर्नुपरेको थियो। समूहचरणको अन्तिम खेलमा डेनमार्कसँग बराबरी खेलेको थियो। तर, विश्व फुटबलमा सधैं दाबेदार रहँदै आएको अर्जेन्टिनामाथि ४–३ को सनसनीपूर्ण नतिजा निकालेपछि फ्रान्स आफैं बलियो दाबेदारका रूपमा दरिएको छ। किलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान, ओलिभर जिरौडजस्ता स्टार खेलाडीले अग्रपंक्ति सम्हालेका छन् भने पाउल पोग्बा र एन‘गोलो कान्टे मिडफिल्डमा रहँदा ४–२–३–१ को शैली फ्रान्सका लागि उत्कृष्ट रहँदै आएको छ। पेनाल्टीबाटै भए पनि फ्रान्सका लागि ग्रिजम्यानले गोल गर्दै आएका छन् भने एमबाप्पेले अर्जेन्टिनाविरुद्ध असाधारण प्रदर्शन रहँदा फ्रान्सेली टोलीको मनोबल उच्च बनेको छ। ५ खेलमा ७ गोल गरेर ४ गोल बेहोरे पनि सामुयल उम्टिटी र बेन्जामिन पाभार्ड सम्मिलित रक्षापंक्तिले विश्वकै उत्कृष्ट फरवार्ड लियोनल मेसीलाई कुनै मौका दिएको थिएन।

फिफा वरीयताको सातौं स्थानमा रहेको फ्रान्सको आक्रमणले उरुग्वेको रक्षापंक्ति व्यस्त हुने अनुमान गर्न सकिन्छ। १४औं स्थानको उरुग्वेले फ्रान्सको आक्रमणलाई निस्तेज पार्दै काउन्टर अट्याकमा सफल भयो भने दक्षिण अमेरिकी टोली सेमिफाइलन पुग्ने सम्भावना बलियो छ। तर एमबाप्पे, ग्रिजम्यानहरूले निर्धारित ९० मिनेटमै गोल गरे भने फ्रान्स जितको हकदार बन्नेछ। शुक्रबारै हुने अर्को खेलमा विश्वकपको सदाबहार दाबेदार टोली ब्राजिलले स्वर्णिम पुस्ताको बेल्जियमसँग प्रतिस्पर्धा गर्दै छ। ब्राजिल र बेल्जियमबीचको भिडन्तलाई सबैले फाइनलका रूपमा हेरेका छन्। फिफा वरीयतालाई पनि आधार मान्ने हो भने यो तर्कसंगत देखिन्छ। किनभने फिफा वरीयताको पहिलो नम्बरमा रहेको जर्मनी प्रतियोगिताबाट बाहिरिँदा, दोस्रो वरीयताको ब्राजिल र तेस्रो वरीयताको बेल्जियमबीचको भिडन्त रोमाञ्चक हुने अपेक्षा धेरैले गरेका छन्। ब्राजिलमा सधैं स्टार खेलाडी हुने गर्छन्। तर यस पटक बेल्जियममा पनि सोहीअनुरूपका खेलाडीको कमी छैन। तसर्थ यो खेललाई ‘ड्रिम फाइनल’ का रूपमा लिइएको छ। पाँच पटकको विश्वविजेता ब्राजिलमा नेइमार, ग्याब्रिअल जिसस, फिलिप कौटिन्हो, विलियान र पाउलिन्होजस्ता खेलाडीले परम्परागत शैलीमा विपक्षी पोस्टमा आक्रमण गर्दै आएका छन्। पर्याप्त आक्रमणका बावजुद समूह चरणमा स्विट्जरल्यान्डसँग बराबरी खेले पनि ब्राजिलले कोस्टा रिका र सर्बियामाथि विजय हासिल गरेको थियो। अन्तिम १६ मा मेक्सिकोविरुद्ध २–० को नतिजा निकालेको ब्राजिलले प्रतियोगिताका ५ खेलमा ७ गोल गरेको छ। ब्राजिलको खेलअनुसार स्कोरिङ भने सन्तोषजनक छैन। भरपर्दा रक्षक मार्सेलो चोटमुक्त भएर क्वार्टरफाइलनका लागि तयार हुनु ब्राजिलका लागि शुभ संकेत हो। ब्राजिलको रक्षापंक्तिले गरेको प्रदर्शनकै कारण गोलरक्षक एलिसनले ३ सय १० मिनेटसम्म गोल नखाई आफ्नो पोस्टलाई सुरक्षित राखेका छन्।

रोमेलो लुकाकु, इडेन हजार्ड, द्रिइस मार्टिन्स र कारास्कोजस्ता स्टार खेलाडी अग्रपंक्तिमा सफल रहँदा नै बेल्जियम प्रतियोगितामा सबैभन्दा धेरै १२ गोल गर्न सफल भएको छ। बेल्जियमको मुख्य हतियार मानिएका केभिन डी ब्रुयनाको प्रदर्शन प्रभावशाली रहँदै आएको छ। जापानसँग ३–२ को रोमाञ्चक जित हात पार्दा मारोउनी फेलानी र नासिर चाड्लीले बेन्चबाट आएर गोल गरेका थिए। यसले इङ्लिस प्रिमियर लिग खेल्ने खेलाडीको बाहुल्य रहेको बेल्जियममा बेन्च पनि उत्तिकै बलियो छ भन्ने पुष्टि हुन्छ। अनपेक्षित रूपमा जापानसँग सुरुमा २–० ले पछि परेका कारण धेरैले बेल्जियमको रक्षापंक्ति दबाबमा पर्ने अनुमान लगाएका छन्। टेटेको ब्राजिल र मार्टिनेजको बेल्जियम जारी विश्वकपका उत्कृष्ट टोली हुन्। त्यसैले शुक्रबार आमने–सामने हुँदा एकले अर्कोलाई समान आदार गर्नेछन्। दुबै बराबरी हैसियतमा मैदान उत्रिनेछन्। खेल जित्नका लागि प्रशिक्षकले आफ्नो सबै उपायहरू प्रयोग गर्र्छन्। यो ‘माइन्ड गेम’ पनि हो। त्यसैले हुन सक्छ स्टार खेलाडीले भरिएको बेल्जियमका प्रशिक्षक मार्टिनेजले ब्राजिल दाबेदार टोली भनेका छन्। तर, चार वर्षअघि घरमै आयोजना भएको विश्वकप सेमिफाइनलमा ब्राजिल समान हैसियतको जर्मनीसँग ७–१ ले पराजित भएको थियो। त्यो नतिजाले ब्राजिलियनलाई अझै पनि झस्काउने गर्छ। ब्राजिलका खेलाडीहरूले त्यो हारलाई बिर्सेर बेल्जियमसँग आफ्नो स्वाभाविक खेल खेल्नु आवश्यक छ। बेल्जियमले जापानसँग दुई शून्यले पछि परेको अवस्था नसम्झी खेल्नुपर्ने हुन्छ। दुवै टोलीले आ–आफ्नो स्वाभाविक खेल खेल्दा कसले जित्छ भनेर भन्न कठिन हुन्छ। दुवै टोली समान हैसियतका छन्। तर बेल्जियमको रक्षापंक्तिले सोचेअनुसार ब्राजिलको आक्रमण रोक्न सकेन भने नतिजा ब्राजिलकै पक्षमा जान्छ।

यसमा तपाईको मत