फ्रान्सको प्रतीक्षा समाप्त

शनिबार, १९ जेठ २०७५, १२ : ५२ नागरिक

फिफा विश्वकपका जन्मदाता जुल्स रिमेटको घरमा फ्रान्सले अन्तत १९९८ मा उपाधि उचालेरै छोडयो । दशकअघि दुई पटक सेमिफाइनलमा पराजित भएर उपाधि सपना त्याग्न बाध्य फ्रान्सका लागि घरेलु मैदानमा जितेको यो उपाधिको महत्व विशेष थियो । किनकि पहिलो पटक फिफा विश्वकप यति बृहत् रूपमा सम्पन्न भएको थियो।

१६औं विश्वकपमा पहिलो पटक ३२ टिम सहभागी गराइएको थियो । विश्वकपका लागि सहभागी संख्या बढाउँदा अफ्रिका, एसिया र कन्काकाफले विश्व फुटबलको सबैभन्दा ठूलो खेलमेलामा बढी प्रतिनिधि पठाउन सक्ने भए । सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरेर पहिलो चरण प्रतिस्पर्धा गराइयो । प्रत्येक समूहका शिर्ष दुई टिम अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनल पुग्न सक्ने नकआउट पद्धति लागू गरियो।

समूह चरणमा स्पेनले भोगेको असफलता प्रतियोगिताको सबैभन्दा ठूलो आश्चर्य थियो । समूह ‘डी’ मा कमजोर सुरुआत गरेको स्पेनले नाइजेरियालाई ३–२ ले नतिजा सुम्पियो । अर्को खेलमा पाराग्वेसँग बराबरी खेलेपछि कठिन मोडमा पुगेको टोलीले बुल्गेरियालाई हराएर नकआउट चरण प्रवेश गर्ने सङ्केत गरेको थियो, तर सोही रात समूह चरणको अन्तिम खेलमा पाराग्वेले शीर्ष टोली नाइजेरियालाई हराएर नकआउट चरण प्रवेश गर्याे र स्पेन निराश भएर घर फर्कियो।

रोमानियाले समूह ‘जी’ बाट इङ्ल्यान्ड र कोलम्बियालाई पछाडि पारेर शीर्ष टोलीका रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गर्याे ।कठिन समूहलाई सहजै पार गरे पनि दोस्रो चरणमा भने रोमानियाले सफलता पाउन सकेन । समूह ‘ए’ मा क्जेटिल रेकडालले अन्तिम समयमा गरेको पेनाल्टी गोलमा ब्राजिललाई पराजित गर्दै नर्वे मोरक्कोको सट्टा दोस्रो चरण प्रवेश गर्याे । इरानले अमेरिकामाथि हासिल गरेको एउटै जितमा चित्त बुझायो भने स्कटल्यान्ड र जमैकाका समर्थक सुखद स्मरणका साथ घर फर्के ।

सेन्ट इटिनेमा सम्पन्न अन्तिम १६ को भिडन्तमा इङ्ल्यान्ड र अर्जेन्टिनाले रोमाञ्चक भिडन्त प्रस्तुत गरे । पहिलो हाफ आफैंमा रोमाञ्चको हद थियो । पहिलो १० मिनेटभित्र दुवै टिमले पेनाल्टी पाए भने किशोर माइकल ओवेनको गोलमा इङ्ल्यान्डले अग्रता लियो, तर मध्यान्तरअघि नै हाभियर जेनेटीको उत्कृष्ट फ्रि–किक गोलमा अर्जेन्टिना खेल बराबरीमा ल्याउन सफल भयो।

मध्यान्तरपछि डेविड बेकह्यामले डिएगो सिमोनमाथि फाउल गरेबापत रातो कार्ड सामना गर्दै मैदान छोडनुपर्याे। यसै गरी सोल क्याम्पवेलले गरेको विजयी गोल पनि विपक्षी गोलकिपरमाथि फाउल भएको भन्दै रेफ्रीले दिएनन् । अतिरिक्त समय हुँदै निर्णयका लागि टाई–ब्रेकरमा धकेलिएको खेलमा गोलकिपर कार्लोस रोवाले इङ्ल्यान्डको तर्फबाट डेविड बाटीले प्रहार गरेको अन्तिम पेनाल्टी बचाएर अर्जेन्टिनालाई क्वार्टरफाइनलको बाटोमा डोर्याए ।

अन्तिम १६ मा जादुगर गोलकिपर होसे लुइस चिलाभार्टको नेतृत्वमा रहेको पाराग्वेको यात्रा टुंग्याउन फ्रान्सले १ सय १३औं मिनेटमा लाउरेन्ट ब्लांकको गोल कुर्नुपर्याे । क्वार्टरफाइनलमा उनीहरूको प्रतिद्वन्द्वी इटाली थियो । जहाँ रोबर्टो बाजियोले अतिरिक्त समयको अन्ततिर पाएको अवसर उपयोग गर्न सकेनन् भने पेनाल्टी सुटआउटमा लुइजी डी बाजियोको निर्णायक प्रहार बारमा ठोक्किएर फर्कियो । फ्रान्स पेनाल्टी सुटआउटमा विजय हासिल गर्दै सेमिफाइनल पुग्यो भने इटालीले लगातार तेस्रो पटक विश्वकपमा टाई–ब्रेकरको दुर्भाग्य सहनुपर्याे।

सेमिफाइनलमा आयोजक फ्रान्सले प्रतियोगिताको आश्चर्यजनक टोली क्रोएसियासँग प्रतिस्पर्धा गर्नुपर्याे । पूर्वयुगोस्लाभियाबाट स्वतन्त्र भएयता क्रोएसियाको लागि विश्वकपमा यो पहिलो सहभागिता थियो । मिरोस्लाभ ब्लाजेभिकको कोठे जर्सी लगाएको टोलीले क्वार्टरफाइनलमा तत्कालीन युरोपेली च्याम्पियन जर्मनीलाई ३–० को नतिजामा निराश पार्दै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा पनि प्रतियोगिताका एडिडास गोल्डेन सु विजेता डाबर सुकरले मध्यान्तर लगत्तै गोल गरेपछि स्टेड डे फ्रान्स केहीबेर शान्त बनेको थियो । तर ६०औं मिनेटमा राइट ब्याक लिलियन थुरामले पहिलो अन्तर्राष्ट्रिय गोल गर्दा फ्रान्स पहिलो पटक विश्वकपको फाइनल पुग्न सफल भयो।

मार्सेमा ब्राजिल र नेदरल्यान्ड्सविरुद्धको अर्को सेमिफाइनल भएको थियो । डेनिस बर्गक्याम्पको गोलमा अर्जेन्टिनालाई पराजित गरेपछि नेदरल्यान्ड्स पूर्ण आत्मविश्वासका साथ मैदान उत्रेको थियो । ब्राजिलका लागि रोनाल्डो र नेदरल्यान्ड्सका लागि प्याट्रिक क्लाइभर्टले गोल गरेपछि बराबरी भएको खेलको निर्णय पेनाल्टी सुटआउटबाटै भयो, जहाँ ब्राजिलले विजय हासिल गर्याे।

जुलाई १२ को दिन फ्रान्सका लागि गौरवको दिन साबित भयो । रोनाल्डोलाई आश्चर्यजनक रूपमा इडमुन्डोको स्थानमा टिममा फर्काइएपछि रहस्यमय रूपमा फाइनलको सुरुआत भएको थियो । अस्वस्थ बताइएका रोनाल्डोलाई फिट भएको भन्दै टिममा फर्काइएको थियो । विश्वकपको उक्त संस्करणमा ब्राजिलका मुख्य हतियार रोनाल्डो फाइनलमा अनपेक्षित रूपमा ओइलाएका थिए।

प्रतिबन्धका कारण ब्लांक अनुपस्थित भए पनि फ्रान्स भने फाइनलमा निकै तेजिलो रूपमा प्रस्तुत भयो । जिनेदिन जिदान नायक बन्दा टोलीलाई विश्वकपमा पहिलो उपाधि उचाल्न पनि कठिन भएन । जिदानले कर्नरबाट आएका बललाई दुई पटक हेडमार्फत गोलमा परिणत गर्दा फ्रान्सले पहिलो हाफमै अनपेक्षित रूपमा २–० को अग्रता लिइसकेको थियो । दोस्रो हाफमा मार्सेल डेसाइलीले रातो कार्ड पाए पनि फ्रान्सले तेस्रो गोल गर्न सफल भयो । अन्तिम मिनेटमा इमानुयल पेटिटले काउन्टर अट्याकमा फ्रान्सका लागि तेस्रो गोल गरेका थिए।

पहिलो अफ्रिकी रेफ्रीका रूपमा विश्वकपको फाइनल खेलाएका सइद बेल्कोलाले अन्तिम सिटी फुक्दा सम्पूर्ण फ्रान्सेलीलाई विजयोत्सव मनाउन पर्याप्त कारण टिमले दिइसकेको थियो । आधुनिक फ्रान्सका विभिन्न जातका खेलाडी समेटिएको टिमको यो जितले देशलाई एकताको सूत्रमा बाँध्नसमेत सफल भयो।

इतिहासको पानाबाट

१९९८, फ्रान्स (१६औं विश्वकप)

टिम : ३२
कहिले : १९९८ जुन १० देखि १९९८ जुलाई १२ सम्म

फाइनल : १९९८ जुलाई १२
खेल : ६४

जम्मा गोल : १७१ (प्रतिखेल २.७ को औसतमा)
दर्शक : २७८५१०० (प्रतिखेल ४४१७ को औसतमा)

विजेताः फ्रान्स
उपविजेताः ब्राजिल

तेस्रोः क्रोएसिया
चौथोः नेदरल्यान्ड्स

एडिडास गोल्डेन बल : रोनाल्डो (ब्राजिल)
एडिडास गोल्डेन सु : डाभर सुकर (क्रोएसिया)

उत्कृष्ट गोलकिपर : फाबियन बार्थेज (फ्रान्स)
उत्कृष्ट युवा खेलाडी : माइकल ओवेन (इङ्ल्यान्ड)

फिफा फेयर प्ले : इङल्यान्ड, फ्रान्स

यसमा तपाईको मत