फ्रान्सको युवा टोली बलियो

नेपाली नजरमा
बुधबार, ३० जेठ २०७५, १० : २६ नागरिक

काठमाडौं – पारस खड्का नेपाली क्रिकेटका पोस्टर ब्वाई हुन्। अन्तर्राष्ट्रिय मञ्चमा भर्खरै दुई दशक र केही वर्षको उमेर पुगेको नेपाली क्रिकेटमा पारस अहिलेसम्मकै सबभन्दा ठूला स्टार हुन्। उनकै कप्तानीमा नेपालले मेमा एकदिवसीय मान्यता पाएको थियो।

नेपाल नामिबियामा सम्पन्न आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन २ को उपविजेताको रूपमा जिम्बाब्वेमा सम्पन्न विश्वकप क्रिकेट छनोट प्रतियोगितामा छनोट भएको थियो। जहाँ नेपालले समूहका तीन खेलमा हार व्यहोरे पनि समूहको अन्तिम खेलमा हङकङलाई पराजित गरी चौथो स्थानमा बस्दै प्लेअफमा छनोट भएको थियो। पहिलो प्लेअफमा नेपालले पपुवा न्युगिनीलाइ पराजित गर्नुका साथै दोस्रो प्लेअफमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेसँगै नेपालले एकदिवसीय मान्यता पाएको थियो।

पारस अर्थात् नेपाली क्रिकेटका सबथोक। सबथोक अर्थात् राष्ट्रिय टोलीका कुशल रणनीतिकार कप्तान। टिमलाई आवश्यकता पर्दा सधैँ उच्च प्रदर्शन गर्ने स्टार अलराउन्डर। राष्ट्रिय टोलीका छनोटकर्ता। आवश्यक पर्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र नेपाली क्रिकेटबीचका पुल। क्रिकेट खेलाडी संघका महासचिव।

क्रिकेटमा कप्तानको भूमिका अन्य खेलको तुलनामा बढी र महत्वपूर्ण हुन्छ। कप्तानले लिने रणनीतिमा टोलीको प्रदर्शन र नतिजा निर्भर रहन्छ। त्यसैले कप्तान चयन गर्दा उसको व्यक्तिगत प्रदर्शनभन्दा नेतृत्व र सही समयमा सही निर्णय गर्न सक्ने क्षमताको बढी परख गरिन्छ। एउटा कप्तानमा उच्च प्रदर्शनको क्षमता भयो भने त्यो बोनसका रूपमा रहन्छ।

पारस नेपाली क्रिकेटले पाएका त्यस्तै बोनस हुन्, खेलाडी र कप्तान दुवै भूमिकामा उत्तिकै सक्षम। उदाहरणीय नेतृत्वको रूपमा आफूलाई स्थापित गरेका नेपाली क्रिकेटका पोस्टर ब्वाई पारस आइसिसीको लिस्ट ए खेलमा १ हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन्। उनले मेमा जिम्बाब्वेमा सम्पन्न आइसिसी विश्वकप छनोटअन्तर्गत स्कटल्यान्डविरुद्ध सम्पन्न खेलमा ९ रन बनाएपछि लिस्ट ‘ए’ मा १ हजार रन पूरा गर्ने पहिलो खेलाडीका रूपमा कीर्तिमान बनाएका थिए।

२०१४ मा न्युजिल्यान्डमा सम्पन्न विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको खेलबाट लिस्ट ‘ए’ मा ‘डेब्यु’ गरेका पारसको यो स्तरमा कुल रन ३० खेलमा १ हजार ५४ पुगेको छ।

विश्वभरका खेलप्रेमीको ध्यान बिहीबारबाट रूसको राजधानी मस्कोमा सुरु हुने फुटबलको महाकुम्भ विश्वकप फुटबलले खिचिरहेको छ। पारस पनि उक्त महाकुम्भबाट उत्साही छन्। सन् १९९८ बाट विश्वकप फुटबल हेर्न थालेका पारसले समर्थन गर्ने निश्चित टिम भने छैन।

‘विश्वकपमा मैले समर्थन गर्ने कुनै निश्चित खेलाडी र टोली छैन,’ इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका समर्थक पारसले भने, ‘युवा तथा उत्कृष्ट खेलाडी भएकाले यस पटक फ्रान्सको सम्भावना बलियो छ।’

समूह ‘सी’ को फ्रान्सले जुन १६ मा अस्ट्रेलियाविरुद्ध हुने खेलसँगै प्रतियोगितको सुरुआत गर्नेछ। त्यस्तै फ्रान्सले दोस्रो खेलमा जुन २१ मा पेरू र समूह चरणको अन्तिम खेलमा जुन २६ मा डेनमार्कको सामना गर्नेछ। ‘म विश्वकपका धेरै जसो खेल घरपरिवारसँगै बसेर हेर्छुु ’ पारसले भने, ‘केही महत्वपूर्ण खेल भने साथीभाइसँग बसेर हेर्नेछु।’

यसमा तपाईको मत