फ्योडोर स्मोलोभ (रूस)

फिचर खेलाडी
बिहिबार, ३१ जेठ २०७५, १० : ५६ नागरिक

नाम : फ्योडोर स्मोलोभ

जन्म : फेब्रुअरी ९, १९९०

पोजिसन : स्ट्राइकर

क्लब : डिनामो मस्को, क्रास्नोडर

फेडोर स्मोलोभ रूसी फुटबल टिमका मुख्य स्ट्राइकर हुन् । रूसको यु–१७ टोलीबाट फुटबल करियर सुरुआत गरेका स्मोलोभ उमेर समूहका सबै टिमबाट अनुभव बटुल्दै राष्ट्रिय टोलीमा स्थान बनाउने प्रभावशाली खेलाडी हुन् । यु–१९ र यु–२१ टोलीबाट पनि खेलिसकेका स्मोलोभले २००७ देखि २०१५ सम्म डिनामो मस्कोबाट व्यावसायिक फुटबल खेलेका थिए।

२०१२ देखि राष्ट्रिय टोलीमा स्थान बनाएका २८ वर्षे स्मोलोभले ३२ खेलबाट १२ गोल गरेका छन् । हाल क्रास्नोडरबाट खेल्दै गरेका स्मोलोभले ७३ खेलमा ५२ गोल गरेका छन् । रसियन प्रिमियर लिगमा बितेको सिजन २२ खेल खेलका उनले १४ गोल गरेका छन्।

स्मोलोभलाई रूसी प्रशिक्षक फाबियो कापेलोले अमेरिकाविरुद्धको खेलबाट २२ वर्षको उमेरमा राष्ट्रिय टोलीमा समावेश गराएका थिए । २–२ को बराबरी नतिजा निस्किएको उक्त खेलमा गोल गर्दै स्मोलोभले अन्तर्राष्ट्रिय ‘डेब्यु’लाई सुखद बनाएका थिए।

बिहीबार उद्घाटन खेलमा एसियाको विपक्षी साउदी अरेबियासँग खेल्दै विश्वकप सुरुआत गर्दा रूस जितको खोजीमा हुनेछ । जहाँ प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभले स्मोलोभलाई मुख्य हतियारका रूपमा प्रयोग गर्नेछन् । कम्तीमा नकआउट चरणको रूसी लक्ष्य पूरा गर्नका लागि स्मोलोभको काँधमा ठूलो जिम्मेवारी हुनेछ।

यसमा तपाईको मत