गाउँमै रमाउने रमेश स्पेनका समर्थक

नेपाली नजरमा
आइतबार, २० जेठ २०७५, १५ : १३ नागरिक

काठमाडौं – पछिल्लो आठ वर्षदेखि नेपाली घरेलु फुटबलमा व्यस्त रहे पनि अघिल्लो वर्षसम्म रमेश दंगालको नाम चर्चामा थिएन । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शिविरका लागि बोलाइए पनि सशस्त्र प्रहरी बल (एपिएफ)का रक्षकले नेपालको जर्सी लगाउन भने अहिलेसम्म पाएका छैनन् । तर गत वर्ष चितवनमा भएको विकास रनिङ सिल्डमा एपिएफलाई उपाधि जिताउँदा उच्च प्रदर्शन गर्दै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएपछि भने रमेशमाथि फुटबल जगत्को आँखा परेको छ।

‘लामो समयदेखि आफू फर्ममा भएका बेला काठमाडौंमा लिग भएन । अझै पनि राम्रै खेलिरहेको छु । यो वर्षबाट लिग हुन्छ भन्ने सुनेको छु । राष्ट्रिय टोलीमा पर्ने आशा अझै बलियो नै छ,’ बौद्ध फुटबल क्लबबाट ‘ए’ डिभिजन लिग करियर सुरु गरेपछि सरस्वती क्लब र सिएमजी क्लब संकटा हुँदै एपिएफ पुगेका ३० वर्षे सेन्ट्रल रक्षक रमेशले भने।

रक्षापंक्तिका खेलाडी भएकाले उनको खास जिम्मेवारी विपक्षीका आक्रमण निस्तेज पार्नु नै हो । तर कर्नर र फ्रि–किकजस्ता डेडबलमा गोल गर्न वा गोलको अवसर जुटाउन सके उनलाई झनै बढी सन्तुष्टि मिल्छ । त्यसैले यस्तै फुटबलका लागि चर्चित रियाल मड्रिडका स्पेनिस रक्षक सर्जियो रामोस उनलाई सबभन्दा बढी मन पर्ने खेलाडी हुन् । रामोसकै कारण स्पेन उनको मन पर्ने अन्तर्राष्ट्रिय टिम हो । त्यसैले रूसमा जुन १४ बाट सुरु हुने विश्वकपमा रमेशको रोजाइ स्पेन नै हुनेछ।

‘रामोसको ट्याकल, विपक्षी आक्रमण रोक्ने शैली, नेतृत्वदायी क्षमता र डेडबलमा गएर गोल गर्नुका साथै गोलको अवसर मिलाउने तरिका साह्रै राम्रो लाग्छ । सेन्ट्रल रक्षक भए पनि उनी टिमलाई आवश्यकता पर्दा पूरा मैदानभरि उत्तिकै जिम्मेवार देखिएर खेल्छन्,’ रमेशले भने, ‘रामोस मात्र नभई पूरा स्पेनको खेल्ने शैली निक्कै राम्रो छ । उनीहरू छोटो र सटीक पास खेल्छन् । त्यहाँबाट धेरै कुरा सिक्न सकिन्छ।’

काठमाडौंको सुदूरपूर्वमा पर्ने नाङ्लेभारेका स्थायी बासिन्दा रमेशले यसपालि घरमै बसेर स्पेनको समर्थनमा विश्वकप हेर्ने योजना बनाएका छन् । ‘टिमको ट्रेनिङ पर्याे भने जोरपाटीमा बस्छु । नत्र गाउँमै गएर हेर्नुको मजा बेग्लै हुन्छ,’ उनले थपे, ‘तर फुटबलमा आफूले समर्थन गरेको टिमले राम्रो नतिजा ल्यायो भने चाहिँ साँच्चिकै मजा हुन्छ । नत्र त्यति रमाइलो नहुन सक्छ । तर मैले समर्थन गर्ने स्पेनले जित्ने सम्भावना बलियो छ । तर फुटबलमा यसै भन्न सकिन्न । विश्वकपलाई छानिएका अरू सबै टिम पनि उत्तिकै बलिया छन्।’

यसमा तपाईको मत