जर्मनीको टिमवर्क प्रशंसक अनन्त

नेपाली नजरमा
मङ्गलबार, २२ जेठ २०७५, १२ : २१ नागरिक

काठमाडौं – रूसमा यही महिनाको अन्तिम दिनबाट एकमहिने फुटबल कुम्भ मेला सुरु हुँदै छ । फिफा विश्वकपको २१औं संस्करण रूसमा हुने भए पनि त्यसले सम्पूर्ण विश्वको ध्यान तान्न थालिसकेको छ।

फुटबल खेल्ने मात्र नभई फुटबल मन पराउने र अझ खेलसँग खासै चासो नराख्ने आम सर्वसाधारणलाई समेत विश्वकपले आकर्षित गरिरहेको छ । विश्व खेलकुदकै सबभन्दा ठूलोमध्ये एक मानिने खेलमेलाको पूरा विश्व व्यग्रताका साथ प्रतीक्षा गरिरहेको छ।

फुटबल विश्वमा सबभन्दा लोकप्रिय खेल हो । यत्तिमै मात्र फुटबलको परिचय सकिन्न । खेलको लोकप्रिय विधा भएकाले होला यो समाजको पनि अत्यन्तै प्रिय विषय हो । भाइचाराको माध्यम हो । शान्ति, एकता र संगठनको पाठ हो । जित्न सिकाउने कला हो । हार स्विकार्न सक्ने बनाउने शिक्षा हो । त्यसैले आममानिसका लागि पनि चासोको विषय बनेको विश्वकप अहिले नेपाली खेलाडीका लागि पनि व्यग्र प्रतीक्षाको विषय बनेको छ।

राष्ट्रिय टोलीका युवा रक्षक अनन्त तामाङ नेपाली फुटबलले लामो समयसम्म भर गर्न खोजेका स्टार हुन् । सानै उमेरमा राष्ट्रिय टोलीको ढोका खोल्न सफल सेन्ट्रल रक्षक अनन्तबाट राष्ट्रिय टोलीका पूर्वकप्तान राकेश श्रेष्ठको जस्तो परिपक्व प्रदर्शन देखिन्छ । चोटको दुर्भाग्य भोग्नु नपरे कम्तीमा आउँदो १० वर्ष उनले नेपाली राष्ट्रिय टोलीको सेवा गर्न सक्नेछन् । त्यस कारण अनन्तका लागि आसन्न विश्वकपको महŒव आम फुटबलप्रेमीको भन्दा विशेष छ।

जर्मनीको खेल्ने शैली निक्कै मन पराउने अनन्त रूस विश्वकपको व्यग्र प्रतीक्षामा छन् । भन्छन्, ‘म पनि देशलाई प्रतिनिधित्व गर्ने एउटा फुटबल खेलाडी हुँ । विश्वभरका मजस्ता खेलाडीको सबभन्दा ठूलो सपना भनेको विश्वकप खेल्ने र त्यसलाई जित्ने हुन्छ । हामीजस्तो देशका खेलाडीले भने त्यहाँबाट विश्वस्तरीय खेलाडीको स्किल देख्न र सिक्ने मौका पाउँछौं।’

अनन्तलाई जर्मनीको फुटबल मन पर्नुको कारण के हो त ?
‘म जर्मनीको कुनै खास खेलाडीको फ्यान होइन । उनीहरूको टिमवर्क मलाई लोभ्याउने पक्ष हो । उनीहरू पूरा टिम एक भएर अत्यन्तै आक्रामक फुटबल खेल्छन् । ब्राजिलमा भएको विश्वकपयता उनीहरूले जस्तो फुटबल खेलिरहेका छन्, त्यो हिसाबमा उनीहरूले जित्ने सम्भावना पनि उत्तिकै छ,’ अनन्तको उत्तर छ, ‘तर चार वर्षअघिको तुलनामा उनीहरूको टिममा धेरै परिवर्तन भएको छ । युवा खेलाडी आएका छन् । त्यसैले उनीहरूले विश्वकपमा उपाधि रक्षा गर्न टिम राम्ररी सेट हुन आवश्यक छ । जर्मनीपछि फ्रान्स उपाधिको मुख्य दाबेदार हो । त्यसपछि ब्राजिल र स्पेनको पनि सम्भावना उत्तिकै हुन्छ।’

लियोनल मेसीको अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले उपाधि जित्ने सम्भावना अनन्त अत्यन्तै न्यून देख्छन । फुटबलमा व्यक्तिगत रूपमा कोही खेलाडी असाधारण भएर सफलता हासिल गर्न नसकिने उनको बुझाइ छ । ‘फुटबल टिम खेल हो । मेसी र रोनाल्डो असाधारण खेलाडी हुन् । यसमा शंका छैन । तर अर्जेन्टिना र पोर्चुगल टिम गेमभन्दा पनि मेसी र रोनाल्डोमै बढी भर पर्छन् । जसका कारण नतिजा ल्याउन गाह्रो हुन्छ।’

यसमा तपाईको मत