जर्मनीमा जितको भोक देखिएन

नेपाली नजरमा
बिहिबार, १४ असार २०७५, २२ : ४१ नागरिक

एसियाली टोली कोरियाविरुद्ध बुधबार डिफेन्डिङ च्याम्पियन जर्मनीको प्रदर्शन कुनै पनि पक्षबाट जितको हकदार थिएन । १–० ले मात्रै विजयी हुँदा पनि नकआउटचरणमा पुग्ने ज्ञान भएको जर्मनीमा जितको भोक देखिएन । विपक्षी कोरियाले भने शक्ति लगाएर प्रदर्शन गर्यो।

जर्मनीका प्रशिक्षक जोचिम लोउले गरेको परिवर्तनमा खेलाडीको सन्तुष्टि मैदानभित्र देखिँदैनथ्यो । जर्मनीका खेलाडीमा जित्नुपर्छ भन्ने भावना देखिएन । कोरिया कमजोर टिम हुँदा पनि उनीहरूले गोल गर्न सकेनन् मात्र होइन प्रयासै गरेको देखिएन । जुझारु प्रदर्शन गरेको कोरियाले पेनाल्टी बक्सवरपर ६ देखि ८ जना बसेर रक्षात्मक खेल खेलेको अवस्थामा जर्मनीबाट हरेक बल बीचबाट पेनिट्रेड गर्दा सफलता हात नलागे पनि यसमा परिवर्तन गर्ने प्रयासै भएन र टोली समूहचरणबाटै बाहिरियो।

जर्मनीले कोरियालाई सामान्य अन्तरले पराजित गरे पनि गोलसंख्या बढाउँदा अर्काे चरण प्रवेश गर्ने सम्भावना देखेरै स्विडेनले आक्रामक खेल्यो र अपेक्षाअनुसारको जित हात पार्यो । दुई खेल जितेको मेक्सिकोले स्विडेनविरुद्धको खेललाई इजी रूपमा लिँदा पराजय भोग्नुपर्यो।

अर्जेन्टिनाको खेल विश्वकपमा धेरै प्रतीक्षाको विषय भयो । नाइजेरियाको जित उनीहरूका लागि मात्र थियो । तर अर्जेन्टिनाको जित पूरा संसारले खोज्यो । त्यसलाई अर्जेन्टिनी लिजेन्डले पनि मनन गरेर टिमलाई सुझाव दिए । साम्पोलीले मेरो नभई अर्जेन्टिना मेसीको हो भनेर भनेका छन् । त्यसले प्रशिक्षकप्रतिको दबाब बुझिन्छ।

आइसल्यान्डलाई जित्न नसक्नु र क्रोएसियासँगको हारपछि टिममा आवश्यक परिवर्तन भयो । मेसीले पनि नम्बर ११ मा खेल्नुपर्ने काम गर्यो । महत्वपूर्ण समयमा ठूलो टिमले देखाउनुपर्ने आत्मविश्वास अर्जेन्टिनाले देखायो । हिजो नाइजेरियालाई एडभान्टेज थियो । तर टेम्परामेनट भएन । टिममा गरेको चेन्ज अर्जेन्टिनी टिममा सुधार आयो।

मेसीले गोल गर्दा फुटबलमा जादु नै गरे । तिघ्राले नियन्त्रणमा लिएर त्यही खुट्टाले मिलाएर दायाँ खुट्टाले त्यस्तो गोल गर्दा पूरा टिमलाई प्रेरणा मिल्यो । अझै पनि अर्जेन्टिनामा बूढा खेलाडीको उपस्थिति घातक हुन्छ भन्ने मास्चेरानोको पेनाल्टीले प्रमाणित गर्यो । त्यसले अप्ठेरो पार्न सक्थ्यो, तर भाग्यवश भएन । अन्तिम समयमा अर्जेन्टिनी रक्षक माकोस रोहोले राम्रो गोल गरेर विश्वकपको रोमाञ्च कायम राखे।

क्रोएसिया यसअघि नै छनोट भइसकेको थियो । त्यो भएर उनीहरूले आइसल्यान्डविरुद्धको खेलमा इभान राकेटिच र मारियो मान्डजुकिचजस्ता केही महत्वपूर्ण खेलाडीलाई आराम दिए । आइसल्यान्डलाई जित अपरिहार्य थियो । त्यही प्रयासस्वरूप ७६ मिनेटमा एक गोल फर्काएर बराबरी पनि गरेको । तर पेरिसिचले अन्तिम मिनेटमा गोल गरेर क्रोएसियाको अविजित यात्रालाई निरन्तरता दिए । क्रोएसिया वास्तवमै यसपालि विश्वकपको एउटा सनसनीपूर्ण टिम हो । विश्वकै उत्कृष्ट मिडफिल्डरको साथ रहँदा उनीहरूले त्यसअनुसारको प्रदर्शन गरिरहेका छन्।

बिहीबार समूह ‘जी’ मा इङ्ल्यान्ड र बेल्जियम पहिल्यै अघिल्लो चरणलाई छानिइसकेका छन् । यो खेल प्रशिक्षकका लागि रणनीति बनाउन महत्वपूर्ण हुन्छ । दुवै टिमसँग २३ जनै राम्रा खेलाडी छन् । त्यो खेलमा कार्ड खाइसकेका खेलाडीलाई दुवै टिमले आराम दिनुपर्छ । साथमा अघिल्ला चरणका लागि कसलाई प्रतिद्वन्द्वी रोज्ने भन्नका लागि पनि यो खेल प्रशिक्षकलाई महत्वपूर्ण छ।

समूहविजेता भए अन्तिम १६ मा समूह ‘एच’ को उपविजेतासँग खेल्न पाइन्छ । तर त्यहाँबाट पनि को विजेता भएर आउने भन्ने टुंगो छैन । त्यसैले प्रशिक्षकले अन्तिम १६ र क्वार्टरफाइनलमध्ये कुन खेललाई प्रतिद्वन्द्वी रोज्लान् भन्नेले बढी महत्व राख्छ।

इङ्ल्यान्डको टिम राम्रो भए पनि धेरै युवा खेलाडी भएकाले परिपक्वताको कमी छ । त्यसैले बिस्तारै लय समाउँदै जाने योजनामा गारेथ साउथगेटले विजयी यात्रालाई निरन्तरता दिन चाहन सक्छन् । बेल्जियमसँग भने तुलनात्मक रूपमा परिपक्व र स्टार नाम बढी छन् । तालमेलका हिसाबमा पनि बेल्जियम एउटा पक्का टिम हो । त्यसैले उनीहरूले क्वार्टरफाइनलमा सजिलो विपक्षी खोज्न सक्छन् । जसका कारण धेरै समयपछि विजयी यात्रा पाएको इङ्ल्यान्डले त्यसलाई कायम राख्नका लागि बेल्जियमविरुद्ध मिहिनेत गर्न सक्छ । जबकि बेल्जियमले भने अर्कै रणनीतिका लागि मुख्य खेलाडीलाई आराम दिन सक्छ।

ठीक विपरित प्रतियोगिताबाट बाहिरिइसकेका पानामा र ट्युनिसियाका लागि भने समूहको अर्को खेल प्रतिष्ठाको लडाइँमा सीमित हुनेछ । पानामा विश्वकपमा पहिलो पटक सहभागी भएकाले उनीहरू यो खेलमा सुखद नतिजाका लागि प्रतिबद्ध भएर मैदान उत्रिनेछन् । सुरुका दुवै खेलमा गोलको भारी बोकेका कारण पनि उनीहरू कम्तीमा बराबरी नतिजा निकालेर विश्वकप सहभागिता स्मरणीय पार्न चाहन्छन्।

यसै गरी समूह ‘एच’ मा सबभन्दा बढी दबाबमा प्रतियोगिता सुरु हुनुपूर्वसम्म सबभन्दा बलियो दाबेदार मानिएको कोलम्बिया हुनेछ । पहिलो खेलको तेस्रो मिनेटमै एउटा रातो कार्ड र पेनाल्टी सामना गर्नुपर्दा जापानसँग पराजित भएको टोलीले दोस्रो खेलमा पोल्यान्डलाई हराएर पुनरागमन प्रयास गरेको थियो । तर जापान र सेनेगल सहज अवस्थामा भएकाले बिहीबार अन्तिम खेलमा कोलम्बियासामु सेनेगलमाथि जितको विकल्प हुने छैन । सेनेगललाई बराबरी पर्याप्त हुन्छ । त्यस्तै पोल्यान्डसँग खेल्ने जापानलाई पनि बराबरी पर्याप्त हुने भएकाले कोलम्बिया नै सबभन्दा खतरनाक ठाउँमा छ।

तर हामेस रोड्रिग्वेजको कोलम्बियामा भेट्रान स्ट्राइकर राडामेल फाल्काओले पनि आफू उच्च फर्ममा रहेको प्रमाण दिएका छन् । पोल्यान्डलाई ३–० को नतिजामा हराउँदा फाल्काओसँगै हुवाँ क्वार्डाडोले पनि गोल गरे । अझ महत्वपूर्ण पक्ष तीन गोल तीन फरक खेलाडीले गरेका छन् । टोलीका तर्फबाट दुई खेलमा गरी भएका चार गोल नै चार खेलाडीले गरेका छन् । जुन कोलम्बियाली टिममा थुप्रै खेलाडी गोल गर्न सक्षम छन् भन्ने प्रमाण हो।

पहिलो खेलमा दुर्भाग्यजनक रूपमा मात्र जापानसँग पराजित भएको प्रमाणित गर्न पनि कोलम्बियाका स्टारहरूले जितको प्रतिबद्धताका साथ आक्रामक फुटबल खेल्नेछन् । बराबरी पर्याप्त हुने र ‘फिजिकल एप्रोच’का साथै ‘एथलेटिक्स फुटबल’ खेल्न सक्ने भएकाले सेनेगलको रणनीति रक्षात्मक हुनेछ।

जापान र पोल्यान्डबीच अवस्था फरक भए पनि कथा उस्तै हुन सक्छ । यहाँ पोल्यान्डको अघिल्लो चरण पुग्ने सम्भावना सकिइसकेको छ । तर कुनै पनि युरोपेली टिम एसियाली प्रतिद्वन्द्वीसँग हार्न नचाहने एकखालको मानसिकता अन्तर्राष्ट्रिय फुटबलमा देखिन्छ।

त्यसमाथि पोल्यान्ड पछिल्ला दुई खेलमा नतिजा जस्तो भए पनि क्षमतावान् खेलाडीहरूको टिम हो । युरोपेली छनोट चरणमा सर्वाधिक १६ गोल गरेका बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोवस्की विश्वकै उत्कृष्ट स्ट्राइकरमध्ये एक हुन् । जस्तोसुकै अवस्थालाई पनि गोलको सुखद क्लाइमेक्स दिन सक्षम फिनिसर हुन् उनी । त्यसैले जापानका लागि उनको चुनौती कडा हुन सक्छ।

तर जापानले पनि पछिल्ला दुई खेलमा आफूलाई प्रमाणित गरेको छ । पहिलो खेलमा १–१ को बराबरी हुँदा पनि विजयी गोल गर्न सक्यो भने सेनेगलसँगको दोस्रो खेलमा दुई पटकसम्म पछि परे पनि खेल बराबरीमा ल्याएर अंक खोस्न सकेको थियो । जारी विश्वकपमा उच्च स्पिरिटका साथ खेलिरहेका कारण जापान दोस्रो चरण पुग्ने व्यावहारिक सम्भावना गुमाउन चाहँदैन।

यसमा तपाईको मत