गोलकिपरले बचाए स्विडेनलाई

नेपाली नजरमा
बुधबार, २० असार २०७५, ०३ : ५८ नागरिक

युरोपका स्विडेन र स्विट्जरल्यान्ड दुवै समान हैसियतका टोली हुन्। दुवै टोली लामो समयपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउन चाहन्थे। दुवैले त्यहीअनुरूपको रणनीति अपनाएका थिए। ‘टिम फर्मेसन’ अनुसार स्विट्जरल्यान्ड बढी आक्रामक बन्नुपर्ने हो तर पहिलो हाफमा त्यस्तो देखिएन। उल्टै स्विडेन खेलमा हाबी बन्यो। स्विट्जरल्यान्डले बल पोसेसन राखेर पनि विपक्षी पोस्टमा गतिलो आक्रमण बुन्न सकेन। जारी विश्वकपमा बल पोसेसन जस्तो भए पनि राम्रो मुभ बनाउने टोलीले जितिरहेको छ। मंगलबार पनि त्यस्तै भयो। स्विडेनले स्विट्जरल्यान्डलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो।

एक गोलले पछाडि परेपछि मात्र स्विट्जरल्यान्डले आक्रामक खेल खेल्यो। तर स्विडेनका गोलकिपर रोविन ओल्सेनले उत्कृष्ट बचाउ गर्दा स्विट्जरल्यान्डको अक्रमणले सफलता पाउन सकेन। पछिल्लो समय ओल्सेनले गोल हुन सक्ने स्विट्जरल्यान्डको ४, ५ वटा राम्रा प्रहारलाई विफल बनाइदिए। जुन स्विडेनको जितको एक कारण बन्यो।

स्विट्जरल्यान्डले एकै किसिमको आक्रमण गरिरह्यो। आफ्नो स्टार खेलाडी जर्दान साकिरीमा स्विट्जरल्यान्ड बढी निर्भर भएको जस्तो देखियो। ग्रान्ट जाकाले पनि साकिरीसँग राम्रो तालमेल मिलाउन सकेनन्। पहिलो हाफमा स्विट्जरल्यान्ड अभागी बन्यो। स्विडेनका खेलाडीले आफ्नो पेनाल्टी बक्समा ‘ह्यान्ड’ गरेका थिए। तर रेफ्रीले भिएआर प्रविधिको सहायता नलिँदा स्विट्जरल्यान्डले अग्रता लिने राम्रो मौका गुमायो। यससँगै ६४ वर्षपछि विश्वकपको क्वार्टरफाइनल पुग्ने स्विट्जरल्यान्डको सपना पूरा भएन।

रूसमा जारी विश्वकप फुटबलमा अप्रत्याशित नतिजा आइरहँदा ठूला टोली आफैंमा अलमलिएका छन्। यसै क्रममा विश्वकै सर्वोत्कृष्ट टोलीको रूपमा आँकलन गरिएको बेल्जियमले अन्तिम १६ मा एसियाली टोली जापानसँग खेलिरहेको थियो।

समूहचरणमा रूसले साउदी अरेबियालाई तथा इङ्ल्यान्डले पानामालाई ५ गोलको अन्तरमा हराएका थिए। यी नै विश्वकपमा फराकिलो अन्तरमा नतिजा आएका खेल हुन्। सोमबार धेरैले बेल्जियमले पनि जापानलाई भारी अन्तरमा पराजित गर्ने अनुमान गरेका थिए। तर फुटबलमा सधैं सोचेजस्तो हुँदैन। फुटबलमा कहिल्यै पनि कुनै टोलीले चाहेको अवस्थामा गोल सम्भव हुँदैन। चाहे त्यो टोली स्टार खेलाडीले भरिएको नै किन नहोस्। यस्तै उदाहरण बन्यो, जापान र बेल्जियमबीचको खेल पनि।

बेल्जियमको आक्रमणलाई चेल्सीका इडेन हाजार्ड, म्यानचेस्टर युनाइटेडका रोमेलु लुकाकु र नेपोलीका द्रिइस मार्टिन्सजस्ता स्टार खेलाडीले सम्हालेका थिए। बेल्जियमले मध्यपंक्तिमा विश्वकै उत्कृष्ट मिडफिल्डर केभिन डी ब्रुयना तथा रक्षापंक्तिमा म्यानचेस्टर सिटीका भिन्सेन्ट कोम्पनी र गोलकिपरमा चेल्सीका थियाबाउट कोर्टियसजस्ता खेलाडीको साथ पाएको थियो। बेल्जियममा सबै खेलाडी स्टार भएकाले जापानलाई कुन रणनीति अपनाउने र विपक्षीलाई कसरी ‘मार्किङ’ गर्ने भन्नेमा अन्योल हुन्छ भन्ने सबैले अड्कल काटेका थिए। बेल्जियमका प्राय सबै खेलाडी युरोपका ठूला लिग खेल्थे भने ठीक विपरीत जापानसँग त्यस्ता अनुभवी खेलाडीको कमी थियो।

तर, जापानी प्रशिक्षक आकिरा निसिनोले सबैको अनुमानभन्दा पृथक् ढंगमा खेलाडीलाई मैदान उतारे। कठिन प्रतिद्वन्द्वी भए पनि उनले टोलीलाई स्वाभाविक खेल खेलाए। जापानले बेल्जियमलाई समान हैसियतका रूपमा लिएर खेलेको थियो। केही दिनअघि मात्र अन्तिम १६ मै २०१० को विजेता स्पेनविरुद्ध रूसले बसपार्क खेल्दै टाइब्रेकरमा नतिजा आफ्नो पक्षमा पारेको थियो। तर, जापानले त्यो रणनीति अपनाएन।

पहिलो हाफमा बेल्जियमको आक्रमणलाई विफल पार्दै जापानले पनि बारम्बार विपक्षी पोस्टमा आक्रमण गरेको थियो। तर, दोस्रो हाफ फिल्मको कथाजस्तै बन्यो। जेन्की हारागुची र ताकासी इनुईले गरेको गोलमा जापानले २–० को अग्रता लिँदा विश्व फुटबलमा सनसनी मच्चिएको थियो। तर, रेफ्रीले खेल सकिएको सिटी फुक्दा जापान ३–२ ले पछि परिसकेको थियो। त्यति बेला सबैले विश्वकपको इतिहास स्मरण गरे। यसअघि एसियाली टोली उत्तर कोरियाले पनि १९६६ विश्वकपको नकआउट चरणमा इसुबियोको पोर्चुगलसँग ३–० को अग्रता लिएर पनि नतिजा गुमाएको थियो।

स्पष्ट अग्रता लिएर पनि जापानले स्वाभाविक खेलमै ध्यान केन्द्रित गरिरह्यो। दर्शकलाई आकर्षक फुटबलको मज्जा दिइरह्यो। बेल्जियम पनि जापानले लिएको अग्रतामा कुनै भय नलिई डटिरह्यो। फलस्वरूप एउटा फिल्मको कथाजस्तै ७४औं मिनेटमा बराबरी ग-यो। दुवै टोलीले सकारात्मक फुटबल खेल्दै निर्धारित ९० मिनेटमै परिणाम निकाल्ने प्रयास गरिरहे। खेल जित्नका लागि कहिलेकाहीं भाग्यको पनि साथ चाहिन्छ। सोमबार भाग्यले बेल्जियमलाई साथ दियो। १० सेकेन्ड मात्र बाँकी रहँदा बेल्जियमले आफ्नै पोस्टमा आएको बल लगेर जापानको पोस्टमा गोल गर्न सफल भयो। यसरी जापान ३–२ ले पराजित हुँदै घर फर्कियो।

यसअघि १९६६ मा उत्तर कोरियाविरुद्ध पोर्चुगलले ३–० ले पछि परेको स्थिति उल्टाउँदै ५–३ को जित निकालेको थियो। १९७० मा पनि इङ्ल्यान्ड २–० को अग्रता लिएर पनि पश्चिम जर्मनीसँग ३–२ ले पराजित भएको इतिहास छ।

सकारात्मक रूपमा आफ्नो स्वाभाविक खेल खेल्ने हो भने कुनै पनि टोलीले विश्वका सर्वश्रेष्ठ भनिने टोलीहरूलाई चुनौती दिन सक्छ भनेर जापानले प्रमाणित गरिदिएको छ। साहसिक प्रदर्शन गरेको जापान विश्वकपमा सबै फुटबलप्रेमीको मन जित्दै घर फर्किएको छ।

यसमा तपाईको मत