गोलकिपरको प्रदर्शन दुर्भाग्य

नेपाली नजरमा
शनिबार, ०९ असार २०७५, ०१ : ३८ नागरिक

विश्वका उत्कृष्ट ३२ टिमबीचको प्रतिस्पर्धामा अपेक्षा गरेभन्दा फरक खालका नतिजा आउनु स्वाभाविक हो । तर लियोनेल मेसीको अर्जेन्टिनाले रूसमा भोगिरहेका नतिजा पक्कै पनि सामान्य फुटबल समर्थकलाई पचाउन सहज छैन।

विश्वकै सर्वोत्कृष्ट खेलाडी, जसले क्लब स्तरमा सबैखाले सफलता हासिल गरिसकेका छन् । स्पेनिस क्लब बार्सिलोना उनकै प्रेरणामा विश्वकै सफल क्लबका रूपमा स्थापित भएको छ । तर सबैखाले क्षमता हुनाका बावजुद अर्जेन्टिनाको राष्ट्रिय टोलीमा उनले त्यसलाई कन्भर्ट गर्न सकेनन्।

समूह चरणका दुवै खेलमा मेसीको प्रदर्शन उत्कृष्ट थियो । क्रोएसिया अहिले विश्वकै उत्कृष्ट खेलाडीहरूको समूह हो । रियाल मड्रिडका लुका मोडरिच, बार्सिलोनाका इभान राकेटिच, मारियो मान्डजुकिचजस्ता खेलाडी भएको टिमलाई विश्व फुटबलमा कमजोर मान्न सकिन्न । मोडरिच र राकेटिच उच्च फर्ममा खेलिरहेका थिए । मिडफिल्डबाट उनीहरूले क्लब र देशका लागि खेलेका सबै खेलमा उच्च प्रदर्शन गरिरहेको अवस्थामा अर्जेन्टिनाले नामकै भरमा खेल जित्न चाहेजस्तो देखियो।

पहिलो खेलमा जित निकाल्न नसकेपछि अर्जेन्टिना पक्कै पनि दबाबमा थियो । त्यसैले उनीहरू यो खेल जित्नै चाहन्थे । जितकै उद्देश्यमा उनीहरूले ४–३–३ को फर्मेसनमा खेले । जहाँ मिडफिल्डबाट फरवार्डहरूलाई आवश्यक साथ मिल्न सकेन । साथमा अर्जेन्टिनाका लागि बिहीबार सबभन्दा ठूलो समस्या गोलकिपरको भूमिका रहयो । मुख्य गोलकिपर सर्जियो रोमेरो घाइते भएर अनुपस्थित हुनु र ३७ वर्षे विली काबालेरोलाई खेलाउनु अर्जेन्टिनाका लागि दुर्भाग्यजनक साबित भयो । अर्जेन्टिनाजस्तो फुटबल संस्कार भएको देशबाट प्रशिक्षकले २००६ यता राष्ट्रिय टिमबाट नखेलेका भेट्रान गोलकिपरलाई विश्वकपमा पोस्टको जिम्मा दिनु सही थिएन।

अर्जेन्टिनी टिमको पहिलो रोजाइका ११ मध्ये सात खेलाडी ३० भन्दा माथिका थिए । अहिलेको प्रतिस्पर्धात्मक आधुनिक फुटबलमा यो उमेरले खेल्न गाह्रो हुन्छ । शुक्रबार पाँच पटकको च्याम्पियन ब्राजिलले पनि कोस्टा रिकासँग जित निकाल्न संघर्ष गर्नुप¥यो । कोस्टा रिकाविरुद्ध बल पोसेसनमा पूरा हाबी भए पनि ब्राजिलले निर्धारित समयमा गोल गर्न सकेन । फुटबलमा गोलकिपरको भूमिका महचत्वपूर्ण हुन्छ भन्ने कुरा कोस्टा रिकाका केलोर नाभासले पनि प्रमाणित गरे । कोस्टा रिकाको पोस्टमा नाभास हुँदा बाँकी खेलाडी गोल हुँदैन भन्ने विश्वासका साथ खुलेर खेल्न पाएका थिए।

पहिलो हाफमा ब्राजिलको प्रदर्शनमा सन्तुष्ट हुने ठाउँ थिएन । दोस्रो हाफमा ब्राजिलले धेरै दबाब सिर्जना ग¥यो । विपक्षीको पोस्टमा धावा बोल्ने ब्राजिलको परम्परागत शैली मध्यान्तरपछि देखियो । त्यसमा पनि नाभासले ब्राजिललाई पटक–पटक असफल बनाए । दोस्रो हाफमा कोस्टा रिकाले रणनीति चेन्ज गरेर रक्षात्मक खेल्नु घातक भयो । त्यसले ब्राजिललाई लय समाउन सजिलो भयो । लगातार आक्रमण गरिरहँदा नाभासले पनि रोक्नै सकेनन् । यस्तो दबाब हुँदा फुटबलमा गोल निस्किन्छ । नभन्दै ब्राजिलको पक्षमा पनि इन्जुरी समयमा गोल निस्कियो । नाभासले नायकको जस्तो प्रदर्शन गरे पनि टोलीलाई नतिजा दिलाउन सकेनन्।

प्रतियोगितामा शनिबार समूह ‘जी’ मा बेल्जियम र ट्युनिसियाले खेल्दै छन् । ट्युनिसियाले पहिलो खेलमा इङ्ल्यान्डसँग पराजय भोगिसकेको छ । त्यसैले तुलनात्मक रूपमा उनीहरू दबाबमा छन् । त्यसमाथि वर्तमान फुटबलमा सबभन्दा राम्रो टिमवर्क भएको र स्टार खेलाडीको साथ भएको टिम बेल्जियम हो । पानामामाथि सहज जित हासिल गरिसकेकाले बेल्जियमको मनोबल पनि उच्च छ । त्यसैले ट्युनिसियाका लागि शनिबारको खेल अत्यन्तै दबाबमूलक हुनेछ । त्यही खेलबाट बेल्जियमले नकआउट चरण पक्का गर्दा ट्युनिसियाको यात्रामा पूर्णविराम लगाउन सक्छ।

समूह एफअन्तर्गतको खेलमा साबिक विजेता जर्मनीले स्विडेनसँग खेल्दा अत्यन्तै दबाब सामना गर्नुपर्नेछ । पहिलो खेलमा मेक्सिकोसँग विपक्षीलाई सम्मान नदिएर रक्षापंक्ति अलर्ट नहुँदा जर्मनीले नसोचेको हार भोग्नुपरेको थियो । त्यसैले दबाबमा दोस्रो खेल खेल्दा नतिजा निकाल्न गाह्रो हुनेछ । स्विडेनको कुरा गर्दा उनीहरू नेदरल्यान्ड्स तथा प्लेअफमा इटालीलाई हराएर विश्वकपलाई छानिएका हुन् । युरोपियन टिमहरू एकआपसमा खेल्दा सधैं प्रतिस्पर्धा कडा हुने गर्छ । जहाँ पहिलो खेलमा दक्षिण कोरियालाई हराएको स्विडेनको मनोबल उच्च हुनेछ भने जर्मनी दबाबमा हुनेछ।

जर्मनीसामु उपाधिरक्षाको सम्भावना जीवित राख्न शनिबार जितको विकल्प हुने छैन । त्यसैले उनीहरू जितको एक मात्र लक्ष्य लिएर मैदान उत्रिनेछन् । स्विडेन पनि जर्मनीलाई स्तब्ध पार्दै यात्रा अगाडि बढाउन चाहन्छ । यसै गरी समूहको अर्को खेलमा मेक्सिकोले पनि विजययात्रालाई निरन्तरता दिने प्रयास गर्नेछ । दक्षिण कोरिया यसपालि स्वाभाविक लयमा छैन । त्यसको फाइदा जर्मनीलाई हराएर उच्च मनोबल बनाएको मेक्सिकोलाई पुग्नेछ।

 

यसमा तपाईको मत