ग्रानिट जाका (स्विट्जरल्यान्ड)

फिचर खेलाडी
मङ्गलबार, १९ असार २०७५, ०३ : ०५ नागरिक

नामः ग्रानिट जाका (स्विट्जरल्यान्ड)
जन्मः २७ सेम्टेम्बर १९९२
पोजिसनः मिडफिल्डर
क्लबः बसेल, बोरुसिया मोन्चेनग्लाडवाच, आर्सनल

स्विट्जरल्यान्डबाट ६५ खेल खेलेका ग्रानिट जाकाले राष्ट्रिय टोलीका लागि १० गोल गरेका छन्। उमेर समूहका सिँढी चढ्दै राष्ट्रिय टोलीमा अटाएका २५ वर्षे जाका युरो २०१२ को छनोट खेलमा इङ्ल्यान्डविरुद्ध डेब्यु गरेका थिए। उक्त खेल २–२ को बराबरीमा सकिएको थियो। छैटौं पटकको अन्तर्राष्ट्रिय खेलमा उनले २०११ मा लक्जेम्बर्गविरुद्ध जित हात पार्दा उनको गोल निर्णायक भएको थियो।

२०१६ पछि आर्सनलमा आबद्ध भएका जाकाले ७० खेलबाट मात्र ३ गोल गरेका छन्। यसअघि २०१२ देखि २०१६ सम्म बोरुसिया मोन्चेनग्लाडबाचबाट खेलेका जाकाले १ सय ८ खेलबाट ६ गोल गरेका थिए। बसेल क्लबबाट ४२ खेल खेल्दा १ गोल गरेका जाका स्विट्जरल्यान्डका विश्वासिला खेलाडी हुन्।

सन् २००९ मा नाइजेरियामा सम्पन्न फिफा यु–१७ को उपाधि हात पार्दाका जाका स्विट्जरल्यान्डका सदस्य थिए। बसेलका उत्पादन जाकाले राष्ट्रिय टोलीका लागि दुई उपाधि दिलाएका छन्।

सन् २०१४ को विश्वकपमा चार खेलमा १ गोल गरेका जाकाले रूसमा जारी विश्वकपमा पनि गोल गर्न सफल भएका छन्। जारी संस्करणका तीन खेलमध्ये जाकाले सर्बियाविरुद्धको खेलमा २–१ को जित हात पार्दा बराबरी गोल फर्काएका थिए।

यस संस्करणमा स्विट्जरल्यान्डले सहभागिता जनाउँदा जाकाले छनोट चरणका सबै दश खेलमा देशको प्रतिनिधित्व गरेका थिए।

यसमा तपाईको मत