ज्ञानेन्द्र मल्ल ब्राजिलको टिम भावनाका प्रशंसक मल्ल

नेपाली नजरमा
शनिबार, १९ जेठ २०७५, १२ : १३ अजय फुयाल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल टिमका लागि बनाइएका खेलाडी हुन्, पक्का टिम प्लेयर । प्राविधिक रूपमा नेपाली क्रिकेटकै सबभन्दा उत्कृष्ट ब्याट्सम्यान मानिने ज्ञानेन्द्र टिमलाई आवश्यकता पर्दा जुनसुकै पोजिसनबाट पनि खेल्न तयार हुन्छन् । टिमको आवश्यकताअगाडि आफ्नो कम्फोर्ट जोनलाई वास्ता नगर्ने बानीका कारण उनी नेपाली क्रिकेटमा सम्मानित छन्।

खासमा ज्ञानेन्द्र मध्यक्रमका ब्याट्सम्यान हुन् । स्वाभाविक रूपमा पहिलो विकेट पतन भएपछि उनी क्रिजमा जान्छन् र स्तरीय सटहरूमार्फत टिमको जितआधार तयार गर्छन् । समर्थकलाई भरपूर मनोरञ्जन प्रदान गर्छन् । त्यो उनको सही पोजिसन हो । त्यही पोजिसनमा खेल्दा उनलाई सजिलो हुन्छ । तर उनी त्यसमै टाँसिन भने रुचाउँदैनन् । टिमलाई आवश्यकता पर्दा पछिल्लो समय उनले ओपनरका रूपमा नेपालको इनिङ सुरुआत गर्ने गरेका छन् । ओपनिङमा लय समाउन संघर्ष गर्नुपरिरहेको छ । लगातार रन बनाउन नसक्दा आलोचना पनि चर्किन थालिसकेको छ । तर ज्ञानेन्द्रलाई कुनै गुनासो छैन । भन्छन्, ‘एउटा क्रिकेटरको रूपमा मैले आफूलाई यो भूमिकामा पनि प्रमाणित गर्नुपर्छ।’

ज्ञानेन्द्र किन यसो भन्न सक्छन् त ? किनकि उनी एउटा पक्का टिम प्लेयर हुन् । सफलताको श्रेय टिमलाई दिन रुचाउँछन् भने असफलताको दोष आफैँ लिन अघि सर्छन् । एउटा खेलाडीले पक्कै पनि टिम बन्दैन । टिम खेलमा एउटा खेलाडीको मात्र भूमिका खोजिनु पनि हुन्न । तर कहिलेकाहीँ कुनै खेलाडीको असाधारण खुबीका कारण टिममा उसको अनुपस्थिति कल्पना गर्न सकिन्न । नेपाली क्रिकेटका लागि ज्ञानेन्द्र त्यस्तै असाधारण खुबीका खेलाडी हुन्।

काठमाडौंमा जन्मे हुर्केका ज्ञानेन्द्र आफू क्रिकेटर भए पनि उनलाई मन पर्ने अर्को खेल फुटबल हो । सायद काठमाडौंको फुटबल क्रेज र विश्वव्यापी लोकप्रियताका कारण फुटबलले उनलाई लोभ्याएको हुन सक्छ । फुटबलमा पनि ज्ञानेन्द्रलाई टिम तालमेल राम्रो भएको मन पर्छ । विश्वकप २०१८ आउन तीन साता पनि बाँकी नरहँदा नागरिकसँगको जम्काभेटमा उनले भन्न भ्याइहाले, ‘ब्राजिलका सबै खेलाडी र उनीहरूको टिम वर्क एकदम मन पर्छ । सधैँझैं यसपालि पनि ब्राजिलकै समर्थनमा विश्वकप हेर्ने हो।’

व्यावसायिक फुटबलमा इङ्लिस प्रिमियर लिग धेरै हेर्ने उनी भ्याएसम्म स्पेनिस ला लिगा पनि हेर्छन् । प्रिमियर लिगको समय नेपालीलाई हेर्न सजिलो हुने भएकाले इङ्लिस फुटबलसँगै उनको सम्बन्ध गाढा छ । भ्याएसम्म मध्यरातमा हुने स्पेनिस ला लिगाका खेल पनि हेर्छन् । तर भोलिपल्ट हाइलाइटचाहिँ सबैतिरको छुटाउँदैनन् । त्यसैले त ज्ञानेन्द्र इटालियन सिरी ‘ए’ सँगै जर्मन बुन्डेसलिगाको अपडेट पनि खरर्र सुनाउँछन्।

‘विश्वकपको माहोल छ । अहिलेलाई अन्तर्राष्ट्रिय फुटबलकै कुरा गर्न रमाइलो हुन्छ । मैले नेपालपछि सबभन्दा मन पराउने ब्राजिललाई हो । ब्राजिलले खेलेको देख्दा अरू सबैभन्दा फरक लाग्छ,’ चार वर्षअघि सेमिफाइनलमा जर्मनीसँग ७–१ को अन्तरमा पराजित भएको प्रसंगमा उनले भने, ‘यसपालि त्यस्तो नहोला । त्यो बेला पनि ७ गोल खाने टिम थिएन । तर फुटबलमा कहिलेकाहीँ त्यस्तो हुन्छ।’

जर्मनीले ब्राजिललाई उसकै मैदानमा तेजोबध गरेको त्यो क्षणको ज्ञानेन्द्रसँग फरक स्मरण छ । ‘म त्यो बेला कालीमाटीमा दिदी र भिनाजुसँग बसेर हेर्दै थिएँ । हामी डिसहोमबाट हेरिरहेका थियौं । त्यसमा केही सेकेन्ड ढिलो आउँदो रहेछ । खेल चलिरहेको थियो, बाहिरबाट गोल भन्ने ठूलो हल्ला आयो । त्यसको केही सेकेन्डपछि मात्र हाम्रो टिभीमा गोल भयो । फेरि बाहिर त्यस्ता हल्ला भइरहे । हामीचाहिँ हाइलाइटमा पनि मानिसहरूले किन हल्ला गरे होलान भनेर कुरा गर्याेँ। तर त्यहाँ त गोल भइ नै रहेका रहेछन् । टिभीमा केही सेकेन्ड ढिलो हुँदा हामी आफाैं जोकर भइरहेका थियौं,’ उनले सम्झिए, ‘यसपालि त्यो सबै पीडा बिर्साएर उपाधि जित्नुपर्छ।’

यसमा तपाईको मत