ह्यारी केन (इङ्ल्यान्ड)

फिचर खेलाडी
शुक्रबार, २५ जेठ २०७५, १० : ५१ एजेन्सी

नामः ह्यारी केन

जन्मः जुलाई २८, १९९३, वाल्थमस्टो लन्डन

क्लबः टोटेनह्याम, लेटोन ओरियन्ट (लोन), मिलवाल (लोन), नर्विच सिटी (लोन), लेस्टर सिटी (लोन),

ह्यारी केन अहिले करियरकै उत्कृष्ट लयमा छन् । इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामबाट व्यावसायिक फुटबल खेल्ने केनले २०१७–१८ को सिजनमा सबै खाले प्रतियोगिता गरी ४१ गोल गरिसकेका छन्।

तथापि केही समयअघि चोटबाट थलिएका कारण केन पुरानो लय भेट्टाउन संघर्ष गरिरहेका छन् । रूसमा हुने विश्वकपमा केनले इङ्ल्यान्डलाई नेतृत्व प्रदान गर्नेछन् । २०१७ अक्टोबरमा कप्तानीको जिम्मेवारी पाएका केनले रूसमा जेमी भार्डे, मार्कुस रसफोर्ड, रहिम स्टर्लिङ र ड्यानी वेलब्याकसँगै इङ्ल्यान्डको अग्रपंक्तिको पनि नेतृत्व गर्नेछन्।

वेल्थआमस्टोमा जन्मिएका केनले स्थानीय राइडवे रोभर्सबाट फुटबल करियर सुरुआत गरेका थिए । त्यसपछि आर्सनलको युथ एकेडेमीमा भर्ना भए । आर्सनलमा एक वर्ष बिताएपछि उनी टोटेनह्यामसँग आबद्ध भए । तर त्यहाँ पनि उनले सुरुमा सफलता हात पार्न सकेनन्।

टोटेनह्यामले केनलाई लोनमा लेटोन ओरियन्ट पठायो । त्यस्तै केनले लोनमा मिलवाल, नर्विच सिटी, लेस्टर सिटीबाट पनि खेले । २०१४ मा पुनः टोटेनह्याम फर्किएपछि केनले पछाडि फर्केर हेर्नु परेन । केनले प्रिमियर लिगमा लगातार दुई पटक गोल्डेन बुट जितेका थिए।

२०१५–१६ को सिजनमा २५ गोल गरेका केनले २०१६–१७ मा २९ गोल गरेका थिए । गत सिजन पनि केनले ३० गोल गरेका थिए । जुन लिभरपुलका मोहम्मद सालाहभन्दा २ गोलले कम हो । केनले इङ्ल्यान्डबाट पनि १३ खेलमा २४ गोल गरिसकेका छन्।

यसमा तपाईको मत