डाभर सुकर (क्रोएसिया)

फिचर खेलाडी
शनिबार, १९ जेठ २०७५, १४ : ०२ नागरिक

डाभर सुकरले क्रोएसियाली राष्ट्रिय टोलीबाट स्ट्राइकरको भूमिकामा १० वर्ष फुटबल खेले । क्रोएसियाली फुटबलका सबभन्दा सफल स्ट्राइकर सुकरले राष्ट्रिय टोलीबाट ६९ खेल खेल्दै ४५ गोल गरेका छन्।

सेभिया, रियाल मड्रिड, आर्सनल र वेस्ट ह्यामजस्ता क्लबबाट व्यावसायिक फुटबल खेलेका सुकर १९९० को इटाली विश्वकपमा क्रोएसियाली २२ सदस्यीय टोलीमा पर्न सफल भएका थिए । तर इटालीमा एउटै खेल खेल्ने मौका नपाएका उनले त्यही वर्ष डिसेम्बरमा रोमानियाविरुद्धको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।

२००२ को विश्वकपबाट सुकरको अन्तर्राष्ट्रिय करियरमा पूर्णविराम लागेको थियो । यसबीचमा १९९८ मा फ्रान्समा सम्पन्न विश्वकप क्रोएसिया र सुकरका लागि सुखद रह्यो । टोलीले अहिलेसम्मकै सबभन्दा उत्कृष्ट नतिजा हासिल गर्याे । क्रोएसिया तेस्रो हुँदा सुकरले पनि ६ गोल गरेर सर्वाधिक गोलकर्ताका रूपमा गोल्डेन बुट जिते । उत्कृष्ट खेलाडीको दौडमा भने उनी ब्राजिलका रोनाल्डोपछि दोस्रो भए । हाल क्रोएसिया फुटबल संघको अध्यक्ष रहेका सुकरले युगोस्लाभिया र क्रोएसियाबाट अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए।

यसमा तपाईको मत